शनिबार सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने भए पनि बिहान १० नबज्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भने भिन्दै चहलपहल थियो।
लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव भरतमणि सुवेदी, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरी, प्रदेश आपूर्ति केन्द्रका प्रमुख दिनेश चापागाईं, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष सूर्यबहादुर भट्टराई, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल, सामाजिक विकास मन्त्रालय र अस्पतालका कर्मचारीहरू अस्पतालको प्रवेशद्वारमा हातमा लामबद्ध थिए।
गत माघ १४ गतेदेखि देशका सबै प्रदेशमा सरकारले एकैपटक कोरोना विरूद्धको खोप अभियान सञ्चालन गरेको छ।
भारतबाट अनुदानमा आएको कोरोनाविरूद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शव वाहनका चालक लगायतलाई उपलब्ध गराउने सरकारले निर्णय गरिसकेको थियो।
सोही अभियानको लागि सरकारले लुम्बिनी प्रदेशमा माघ १२ गते नै आवश्यक खोप पठाइसकेको थियो।
तर लुम्बिनी प्रदेशका केही जिल्लामा कोरोनाविरूद्धको खोप वितरणमा ढिलाइ भएपछि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी अनुगमनमा हिँडेका थिए।
अनुगमनका लागि शनिबार बिहान मन्त्री त्रिपाठी लुम्बिनी प्रादेशिक अस्पताल आउने कार्यक्रम तय भएपछि प्रदेशका स्वास्थ्य अधिकारी तथा उच्च पदस्थ कर्मचारीहरू उनको स्वागतमा अस्पतालमा लामबद्ध भएर बसेका थिए।
साढे १० बजे अस्पताल आएका मन्त्री त्रिपाठी प्रदेशका पहाडी जिल्लाहरूमा खोप वितरणमा ढिलाइ भएकोप्रति आक्रोश व्यक्त गरे।
अरू प्रदेशको तुलनामा भौगोलिक सुगमता रहे पनि लुम्बिनी प्रदेशका पहाडी जिल्लामा समयमा खोप नपुर्याएकोमा मन्त्री त्रिपाठीले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश आपूर्ति केन्द्र र सामाजिक विकास मन्त्रालयका कर्मचारीमाथि आक्रोशित भए।
मन्त्री त्रिपाठीले खोप अभियान सरकारको अग्नि परिक्षा भएकोले सरकारको अग्नि परिक्षालाई सहयोग गर्ने र असहयोग गर्ने कर्मचारीहरूको सरकारले मूल्यांकन गर्ने बताए।
उनले खोप अभियानलाई सघाउ नपुर्याउने कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने चेतावनी समेत दिए।
‘यो खोप सरकारले ठूलो मेहेनतले ल्याएको हो, यसरी यति मेहेनत गरेर ल्याएको खोप आगो ताप्न हो, मन शान्ति गर्नको लागि ल्याएको हो र ?’ जनतासम्म पुर्याउनको लागि पठाइएको खोप समयमा नपुग्नु ठूलो लापरबाही, लापरबाही गर्नेहरूको त्यही अनुसार जिम्मेवारी हेरफेर हुन्छ,’ मन्त्री त्रिपाठीले भने।
मन्त्री त्रिपाठीले सरकारको अभियानलाई सहयोग नगर्नु भनेको जनघात गर्नु र जनतामाथिको बेइमानी भएको बताए।
‘तपाईंहरूले सरकारलाई असहयोग गर्ने हो भने मसँग हजारौं सहयोगी हात छन्, उनीहरूलाई प्रयोग गर्न सक्छु, तर जो मठाधीश भएर बस्नुभएको छ त्यो मठाधीशले मठ चल्दैन, तपाईंहरू त्यस्तो भ्रम पालेर नबस्नुस्,’ उनको आक्रोश थियो।
मन्त्री त्रिपाठीले आफ्नै गृहजिल्ला समेत रहेको लुम्बिनी प्रदेशमा खोप अभियानमा देखिएको लापरबाही र ढिलाइले आफू दुखित भएको बताए।
‘मलाई मेरो आफ्नै प्रदेशको अवस्था देखेर सबैभन्दा दु:ख लाग्यो, म यही प्रदेशको, स्वास्थ्य सचिव पनि यही प्रदेशको तर प्रदेशको अवस्था भने यस्तो!’
उनले समयमा खोप नपठाएर सरकारको अभियानलाई असहयोग गरेको भन्दै गल्ती महशुस गर्न र गल्ती महशुस नगरे आफैंले गल्ती महशुस गराउने चेतावनी दिए।
‘माघ १४ गते नै खोप अभियान शुभारम्भ हुँदैछ भनेर सार्वजनिक गरिसकेपछि तपाईंहरूलाई अलग्गै अभिनन्दन पत्र पठाउनुपर्ने हो ? तपाईंहरूले गल्ती महशुस गर्नुस्। यदि गर्नुभएन भने म गराउँछु, यसमा कुनै 'एस्क्युज' हुँदैन,’ उनले भने।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई सुरक्षित गर्न सके बल्ल स्वास्थ्य प्रणाली सुरक्षित होला भनेर कोरोनो नियन्त्रणमा अग्रपंक्तिमा खटिएका व्यक्तिलाई प्राथमिकता दिए पनि खोप वितरणमा लापरबाही गरेको भन्दै कर्मचारीमाथि खनिएका थिए।
मन्त्री त्रिपाठीले पहिलो चरणमा अस्पतालका स्वास्थ्यकर्मीलाई पठाइएको खोप वितरणमा नै ढिलाइ गर्ने कर्मचारीले दोस्रो चरणमा कसरी व्यवस्थापन गर्न सक्लान् भन्दै चिन्ता व्यक्त गरेका थिए।
‘जिल्ला अस्पतालहरूमा पठाउनुपर्ने पहिलो चरणको खोप समयमा पठाउन नसक्नेले देशका १६ हजार बढी खोप केन्द्रमा कसरी पठाउनुहुन्छ, त्यो चुनौती सम्झिएर पो मलाई पीर पर्यो’, उनको भनाइ थियो।
मन्त्री त्रिपाठीले अनुदानमा आएको खोपको प्रभावकारिता राम्रो रहेको उल्लेख गर्दै कम प्रभावकारी र परीक्षण नभएको खोप नेपाल ल्याउन नदिने समेत बताए। ‘तीन वटा परीक्षण पूरा नगरेको र कम्तिमा दुइटा देशमा नलगाइएको खोप नेपालमा ल्याइने छैन, म हुँदासम्म नेपालमा खोपको परीक्षण गर्न पनि दिने छैन।’
उनले नेपालको आधारभूत जनसंख्यालाई नि:शुल्क रूपमा खोप उपलब्ध गराउने सरकारको तयारी रहेको जानकारी दिँदै नेपाली जनतालाई खोपको प्रयोग गर्न पनि नदिने बताए।
‘नेपालमा खोपको ट्रायल गर्न पाइएन भनेर कति रिसाएका होलान्, कति अफर पनि आए होलान् तर म हुँदासम्म नेपालमा ट्रायल गर्न दिने छैन।’
प्रत्येक जिल्ला स्वास्थ्य कार्यालयले प्रमुख जिल्ला अधिकारी खोप समन्वय समितिको संयोजक रहने गरी जिल्ला अस्पताल र १५ शैयाका अस्पतालबाट खोप वितरण गरेको छ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, वृद्धाश्रममा आश्रितहरू, त्यहाँ काम गर्ने कर्मचारी, कैदीबन्दी लगायत गरी ४ लाख ३० हजार जनालाई पहिलो चरणमा खोप उपलब्ध गराउने सरकारको लक्ष्य छ।
लुम्बिनी प्रदेशमा पनि ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप उपलब्ध भएको थियो।
सरकारले १४ गतेदेखि १८ गतेसम्म पहिलो चरणको खोप लगाएर सक्ने बताएको भए पनि शनिबारसम्म लुम्बिनी प्रदेशका पहाड र तराई जिल्लामा गरी २ हजार ६३ सय जनालाई मात्रै खोप लगाइएको छ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले तराईका जिल्लामा १४ गते र पहाडी जिल्लामा १५ गतेदेखि मात्रै खोप अभियान सुरू गरिएकोले खोप लगाउन ढिलाइ भएको बताएका थिए।
मन्त्री त्रिपाठीले लुम्बिनी प्रदेशका रुकुम र रोल्पा जिल्लाका अस्पताल प्रमुखहरूलाई फोन गरेर खोप पुगे/नपुगेको र खोप वितरणको समस्या र ढिलाइ हुनुको कारणबारे टेलिफोनबाट स्पष्टीकरण लिएका थिए।
उनले दुर्गम जिल्लाहरूमा जिल्ला प्रशासन र पालिकाहरूको समन्वयमा वितरण गर्न पनि निर्देशन दिए।
शुक्रबार भरतपुर, नवलपुर र परासीका अस्पतालमा खोप अभियानको निरीक्षण गरेका मन्त्री त्रिपाठी शनिबार बुटवल आएका थिए।
बुटवलपछि उनले भैरहवामा पनि खोप अभियानको निरीक्षण गरेका छन्।