गुल्मीको मुसिकोट ४ बडागाउँ दजागाउँकी सावित्रा गाहालाई चार वर्ष अघिको घटना सम्झिँदा अहिले पनि कहाली लाग्छ।
२०७३ वैशाख १८ गते गाहाको मात्र होइन साविक बडागाउँका तीन वटा वडाका ११ दर्जन बढी घर गोठ जलेर नष्ट भएका थिए।
नजिकैको बनमा एक सातादेखि लागेको डढेलोको लप्का गाउँ छिरेपछि स्थानीय मेहरसिंह रासकोटीको मृत्यु भएको थियो। आगलागीमा परी स्थानीयका ८६ बाख्रा, ३० भैंसी, १५ गाईगोरु, ५ बंगुर र ३ सय ६६ कुखुरा जलेका थिए।
आगलागीपछि स्थानीय प्रशासन र पालिकाले संकलन गरेको तथ्यांकअनुसार ५७ घर, ७० गोठ र ३७ शौचालयसमेत जलेर खरानी भएका थिए। उक्त डढेलोले घरगोठ र बनमात्र होइन खानेपानीका पाइपसमेत नष्ट बनाएको थियो।
आगलागीबाट सिंगो गाउँ नै सखाप भएको झन्डै चार वर्ष बित्न लाग्दा भने घरगोठ र खानेपानीका धारा पुनर्निर्माण गरिएको छ।
पुनर्निर्माणपछि अहिले दजागाउँको अनुहार फेरिएको छ। आगोले सखाप पारेका गाउँलेका घरगोठ पुनर्निर्माणका लागि सरकारी क्षेत्र सँगै देशविदेशका दाताले सहयोग गरेपछि अहिले त्यहाँको मुहार फेरिएको छ। एकैनासको टिन र ढुंगाको छानोका कारण दजाकोट आकर्षक देखिएको छ।
पहिले झुरूप्प खरले छाएका घरमा एकै किसिमका टिनको छानो र ढुंगाको गाह्रो लागेका छन्। एक गाग्री खानेपानी लिन डोको बोकेर घन्टौं पँधेरा धाउने महिला घरसँगै जोडिएका धारामा पानी भर्न पाएका छन्।
मुसिकोट वडा नम्बर ४ का वडाध्यक्ष ओमबहादुर केसी आगलागीबाट गाउँलेको करोडौंको सम्पत्ति क्षति भए पनि त्यसपछि भने दजाकोटले मुहार फेरेको बताउँछन्।
‘तत्कालै गरिएको तथ्यांक संकलनपछि १४-१५ करोडभन्दा बढीको सम्पत्ति जलेर नष्ट भएको देखिए पनि अहिले भने गाउंँको मुहार फेरिएको छ,’ उनले भने, ‘आगलागी नभएको भए यत्ति छिट्टै यो गाउँमा परिवर्तन हुँदैन थियो होला।’
अहिले भने घरघरमा खानेपानीका धारा जोडिँदा खानेपानी लिन घन्टौं पँधेरा धाउनु पर्ने बाध्यता त हटेको छ नै घर आँगन र व्यक्तिगत सरसफाइमा पनि गाउँलेले ध्यान दिन थालेको वडाध्यक्ष केसीले बताए।
अधिकांश मगर समुदायको बसोबास रहेको बडागाउँमा पहिलेदेखि नै खानेपानीको समस्या थियो। मंसिरसम्म नजिकै रहेको धारामा पानी आउने गरे पनि पुसदेखि जेठ असारसम्म भने खानेपानीको चरम संकट हुन्थ्यो। महिलाहरू गाग्री बोकेर घन्टौं हिँडेर खोल्सा र पँधेरा पुग्ने गर्थे।
आगलागीपछि भने २ करोड बढीको लागतमा भगलाम गहिरा दजाकोट लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनामार्फत् १ सय २६ घरपरिवारलाई घरघरमा खानेपानीको धारा पुर्याइएको केसीले बताए।
स्थानीय ७३ वर्षीय राजमायां पुन आगोलागीले गाउँ नै सखाप बनाए पनि घरगोठ बनेपछि र घरघरमै खानेपानी धारा पुगेपछि सजिलो भएको बताउँछन्।
आगलागीपछि जिल्लाभित्र र स्वदेशबाट मात्र होइन विदेशमा रहेका नेपालीले समेत पीडित परिवारलाई सहयोग उपलब्ध गराएका थिए। सोही सहयोग र स्थानीयको लगानीबाट अहिले घर गोठ पुनर्निर्माणको काम सम्पन्न भएको छ।
वडाध्यक्ष केसीले जुटेको सहयोगलाई आगलागीमा नष्ट भएका घरगोठ तथा सम्पत्ति र आयश्रोतलाई हेरेर ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा विभाजन गरी घर निर्माण कार्य अगाडि बढाइएको बताए।
आर्थिक अवस्था अत्यन्तै कमजोर भएकालाई ‘क’, मध्यमलाई ‘ख’ र उच्च आर्थिकस्तर भएकालाई ‘ग’ श्रेणीमा विभाजन गरी घर निर्माण गरिएको हो।
‘मेरो श्रीमान विद्यालयको शिक्षक भएकोले ख श्रेणीमा पर्यौं। २ लाख ७० हजार रुपैयाँ पाएका थियौं,’ सावित्राले भनिन्।
क श्रेणीमा परेकालाई ३ लाख ३५ हजार र ग श्रेणीमा परेकालाई भने २ लाख २० हजार रुपैयाँ दिइएको मुसिकोट नगर कार्यपालिकाका सदस्य हरि छन्तेलले जानकारी दिए। वितरण गरिएको सहयोगबाट जिल्ला प्राविधिक कार्यालयले बनाएको भूकम्प प्रतिरोधी घरको नक्साको आधारमा पीडितले घर निर्माण गरेको उनले बताए।
घर-गोठ पुनर्निर्माण गरी खानेपानीका धारा घरघरमै जोडिए पनि त्यो घटनाबाट भने बाहिर आउन नसकेको सावित्राले बताइन्।
वैशाख १८ गते अरूसँगै सावित्राका श्रीमान् नरबहादुर गाहा पनि एक सातादेखि डाँडाथोक सामुदायिक वनमा लागेको आगो निभाउन वनतर्फ गएका थिए।
डढेलो निभाउन गएका श्रीमानलाई खाना लिएर गएकी सावित्रा बनमा पुगेकी थिइनन्, गाउँ छिरेको डढेलोले उनको घर सल्किइसकेको थियो।
चिच्चाउँदै घर आएकी सावित्राले गोठमा बाँधेका बाख्राको दाम्ला काटिदिएर छोडिदिइन्, खोरमा थुनेका कुखुराको ढोका खोलिदिइन्, गोठमै रहेको भैंसीको दाम्लो फुकाउन भ्याएकी थिइनन् आगोको लप्काले भैंसीलाई भेटिहाल्यो, भैंसी जलेर भकारोमै खरानी भयो।
भैंसी बाँध्ने सावित्राको भकारो त्यसयता खाली छ।
‘आफ्नै परिवारजस्तै मानेर पालेको भैंसी भकारोमै जलेर फाल्नु परेपछि भैंसी पाल्न नै मन मानेको छैन,’ उनले सेतोपाटीसँग भनिन्, ‘बाख्रा र कुखुरा भने पालेकी छु।’
आगलागीबाट स्थानीय कालीकुमारी गाहाका सबैभन्दा धेरै पशुचौपाया डढेर मरेका थिए। दुइटा भैंसीसहित एक हल गोरु र १५ वटा बाख्रा डढेर मरेको गाहाले बताइन्।
आफ्नै आँखाअगाडि हरमा लगाएको कपडाबाहेक घरगोठ र पशुचौपायासहित सबै सम्पत्ति खरानी भएको सम्झिँदा उनलाई अहिले पनि सपना जस्तै लाग्छ रे।
‘घरसहित सबै सम्पत्ति जलेको आफ्नै आँखाले हेरेर बस्नुपर्दा कस्तो भयो होला, जस्तो भए पनि बिर्सिएर बाच्नै पर्ने रहेछ,’ गाहाले भनिन्। गाहाले अहिले चारकोठाको टिनले छाएर घर बनाएकी छन्।
डाँडाथोक वनमा लागेको डढेलो भञ्ज्याङ, माझगाउँ र दजाकोट तीन तिरबाट बस्तीमा पसेको थियो। उक्त डढेलोले एक व्यक्तिसँगै दर्जनौं घर-गोठ र पशु चौपायामात्र खरानी भएनन् खानेपानीको पाइपसमेत नष्ट भएपछि लामो समय गाउँमा खानेपानीको चरम संकट भयो।
सिंगो गाउँ नै ध्वस्त भएपछि आगलागी पीडित महिनौंसम्म पालमै बस्न बाध्य भए। वैशाख महिनाभरि छिमेकी गाउँलेले दिएको परालको गुन्द्री र दाताले दिएको प्लाष्टिकको पाल टाँगेर बारीमा बसेको सावित्राले बताइन्।
चार वर्षपछि घरगोठ पुनर्निर्माण गरिए पनि उनीहरूलाई अब गाउँमा अग्नि स्मारक र अकलादेवी मन्दिर निर्माण गर्ने चाहना छ।
स्थानीय मगर जातीहरूले पुज्दै आएको अकलादेवी मन्दिर आगलागीपछि जीर्ण र खण्डहरजस्तै बनेको छ।
‘बस्ती नयाँ बनेपछि आगलागीमा मृृत्यु भएकाको सम्झनामा अग्नि स्मारक र स्थानीयले आस्था राख्दै र पुज्दै आएको मन्दिरलाई पनि पुनर्निर्माण गर्न पाए हुन्थ्यो भन्ने चाहना राख्नुभएको छ,’ नगर कार्यपालिका सदस्य छन्तेलले भने।