१२ वर्षअघि बुटवलको दीपनगर र सुख्खानगरका धाराहरूमा हिलो पानी आयो।
उपभोक्ताहरू निकै रूष्ट भए। खानेपानी संस्थानअघि नाराबाजीमात्र गरेनन्, कर्मचारीलाई नालीको पानी खुवाइदिए।
अहिले पनि समस्या उस्तै छ।
बाह्र वर्षमा खोला फर्किन्छ भन्छन्। तर बुटवलमा पानीको समस्या भने उस्तै छ।
बुटवलमा तिनाउ खोला र विभिन्न २० वटा भूमिगत पानीका स्रोतबाट खानेपानी संस्थान र विभिन्न उपभोक्ता समितिमार्फत साढे दुई करोड लिटर पानी वितरण हुन्छ। माग भने ३ करोड ४० लाख लिटरको छ। अहिले दैनिक एक करोड लिटर खानेपानी अभाव छ।
तीव्र सहरीकरणसँगै जनसंख्या बढ्दै जाँदा बुटवलमा वर्षेनी १५ लाख लिटरभन्दा बढी खानेपानीको माग थपिदै जाने अधिकारीहरू बताउँछन्। सुख्खायाममा त मागको आधामात्रै खानेपानी आपूर्ति भइरहेको छ।
खानेपानी अभाव टार्न कहिले भूमिगत त कहिले खोलाको मुहानबाट ल्याउने गरी आयोजना बनाउने काम नभएको होइन तर १५ वर्षयता सुरू भएका आयोजना टुंगोमा भने पुगेनन्।
केही आयोजना अलपत्र परे, केही फिर्ता भए।
खानेपानीको सबैभन्दा अभाव रहेको बुटवलको साविक ९ र १० का लागि नगरपालिकाले एसियाली बिकास बैंक (एडिबी)को ऋण अनुदानमा आयोजना सुरू गरेको थियो। मझौला तथा एकीकृत शहरी वातावरणीय आयोजनाअन्तर्गत २२ करोड ३७ लाख ७० हजार रुपैयाँ ऋण सहयोगमा सन् २०१० अक्टोबर २६ मा सम्झौता गरिएको थियो। तर काम हुन नसकेको भन्दै एडिबीले सधैंको लागि सम्झौता रद्ध गरेको छ।
तीन पटकसम्म म्याद थप गर्दासमेत काम सुरू हुन नसकेपछि उसले २०१८ डिसेम्बरमा सम्झौता रद्द गरेको हो।
उक्त आयोजना अगाडि बढेको भए ती वडाका ६ हजारभन्दा बढी उपभोक्ताले सोही आयोजनाको खानेपानी उपभोग गर्न पाउँथे।
बुटवलका अरूभन्दा ती वडामा अहिले पनि खानेपानीको बढी समस्या छ।
बुटवलको खानेपानीको समस्या समाधानका लागि २०५२ सालअघि नै ४ करोड लागतको सिस्ने खानेपानी आयोजना सुरू गरिएको थियो। उक्त आयोजना असफल देखिएपछि त्यसलाई झुम्सा खानेपानी आयोजनाको रूपमा अगाडि बढाइयो। २०५२ सालदेखि सुरू गरिएको झुम्सा खानेपानी आयोजना पनि अहिलेसम्म अलपत्र अवस्थामा छ ।
बुटवल रामफेदीदेखि साढे १३ किलोमिटर टाढा रहेको पाल्पाको तिनाउ गाउँपालिकाको झुम्साबाट ल्याइने उक्त खानेपानी आयोजना सुरूमै पाइप खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि अलपत्र रह्यो।
पाँच वर्षमा सम्पन्न गर्ने भन्दै सुरू गरिएको उक्त आयोजना सम्पन्न भएको भए बुटवलमा दैनिक ५० लाख लिटर खानेपानीको अभाव पूर्ति हुन्थ्यो। करोडौं रुपैयाँ खर्च भइसके पनि खानेपानी संस्थानले खरिद गरेका पाइपमा अहिले खिया लागेका छन्।
२०७२ सालमै खानेपानी संस्थानले झुम्सा खानेपानी योजनाको काम ७० प्रतिशत सकिएको बताएको थियो।
त्यतिबेला पाइपलाइन विस्तार, इन्टेक (खोलाबाट पानी संकलन गर्ने पोखरी) निर्माणका काम भइरहेका थिए। २०७३ साउनमा तिनाउमा आएको बाढीले इन्टेक बगाइदियो। बाढीले ५० लाखभन्दा बढी लगानी गरेर बनाइएको इन्टेकसँगै झुम्साको खानेपानी छिट्टै पिउन पाउने पर्खाइमा रहेका बुटवलवासीको सपना पनि बगाइदियो।
इन्टेक बगाएपछि अनुगमन गरेको प्राविधिक टोलीले त्यसको डिजाइन र प्रयोग गरिएका कमसल सामग्रीका कारण बाढीले बगाएको निष्कर्ष निकालेको थियो।
टोलीका एक सदस्यका अनुसार आयोजनाको मुख्य बाँधमा निर्माण गरिएको इन्टेकमा सामान्य घरमा प्रयोग गरिने १२ एमएम र १६ एमएमका फलामे डण्डी प्रयोग गरिएका थिए भने इन्टेकको संरचनामा ८ इन्च ग्याप राखेर डण्डीको जाली बनाइएको थियो।
बुटवलको खानेपानी समस्याको दीर्घकालीन समाधानका रूपमा लिइएको उक्त आयोजनाको व्यवस्थित र आधुनिक बाँध निर्माणको काम फेरि थालिएको छ। अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले गत महिना मुहानस्थलमै पुगेर शिलान्यास गरे।
पाल्पाको तिनाउ गाउँपालिकाको फिरफिरे घाटमा बाँध बाँधेर ल्याइने यो आयोजना अबको २ वर्षभित्र अर्थात् २०७९ जेठसम्म निर्माण पूरा हुने लक्ष्य लिइएको छ।
बाँधसँगै मुख्य ट्रान्समिसन पाइप लाइनको पनि निर्माण सम्झौता भएर काम सुरू भएको छ। ५ सय र २ सय ५० एमएमडीआईका पाइपलाई १३ किलोमिटर ५ सय मिटरमा विस्तार गर्ने काम सुरू भएको छ। यो काम पनि २०७९ वैशाखभित्रै सक्ने लक्ष्य लिइएको छ।
६ अर्ब ३५ करोड ३५ लाखको लागतको आयोजनाको लागि बाँध लगायतका संरचना निर्माणमा ७३ करोड ६४ लाख खर्च हुने छ। पानी प्रशोधन प्रणाली, भण्डारण ट्यांकी, वितरण प्रणालीलगायत संरचना बनाउन ५ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
खानेपानी संस्थानका अधिकारी, राजनीतिक दलका विभिन्न तहका नेताहरू, नागरिक अगुवासहित फिरफिरे घाटमा पुगेर अर्थमन्त्री पौडेलले सम्बन्धित निकायका अधिकारीलाई पानीजस्तो संवेदनशील वस्तुका लागि अब कुनै पनि कुरामा अलमल नगरी तोकिएको समयमै काम सक्न निर्देशन दिएका छन्।
अर्थमन्त्री पौडेल झुम्सा खानेपानी आयोजनालाई बुटवलको मेलम्चीको रूपमा व्याख्या गर्छन्। झुम्सा खानेपानी आयोजना पूरा भएपछि बुटवललाई ५० वर्षसम्म खानेपानीको समस्या नहुने उनको दाबी छ।
इन्टेक निर्माणपछि त्यहाँ जम्मा हुने पानीलाई २ वटा ठूला पाइपमार्फत बुटवलसम्म ल्याउने योजना छ।
पानी ल्याउन १० इन्चको एउटा पाइप यसअघि नै झुम्सादेखि बुटवलको रामफेदीसम्म बिछ्याइएको छ भने अब २० इन्चका पाइप थपिने छन्। झुम्सादेखि फिरफिरे बाँधस्थलसम्म भने यसअघि नै २० इन्चका पाइप बिछ्याइएको छ। त्यहाँ पनि थप २० इन्चका पाइप बिछ्याइने छ।
यसपटक बाढीले नबगाओस् भनेर पहिलेको स्थानबाट करिब ५ सय मिटर पर बाँध बनाउन लागिएको र गुणस्तरमा समेत कुनै कमी हुन नदिने खानेपानी आयोजना बुटवलका कार्यालय प्रमुख मोहनदत्त भट्टले बताए।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले खानेपानी संस्थानसँगको सहकार्यमा उपमहानगरपालिकाले खानेपानीको गुरूयोजना नै बनाइरहेको बताए ।
'बुटवलको अबको पाँच दशकसम्मको जनघनत्वलाई मध्यनजर राखेर खानेपानीको गुरूयोजना बनाउन लागिएको छ,' उनले भने।
गुरूयोजनालाई बुटवल खानेपानी आयोजनामार्फत् कार्यान्वयन गर्ने गरी तीनै तहका सरकारको बीचमा सहकार्य भइरहेको उनको भनाइ छ।
यो सँगै बुटवलको वडानम्बर ७ र ८ मा पनि खानेपानीको दीर्घकालीन आयोजना सुरू गरिएको छ। साविक वडा नं. ९ र १० रहेका यी दुई वडामा सबैभन्दा बढी खानेपानीको समस्या छ। त्यसको लागि धागो कारखाना अगाडिको धर्मकाँटानजिकै गाडिएको बोरिङदेखि दीपनगरसम्म पाइपलाइनमार्फत् खानेपानी वितरणको सुरू गरिएको सुवेदीले बताए ।
यी दुइटा वडाको समस्यालाई पहिले समाधान गर्ने लक्ष्यअनुरूप अहिले नयाँ काम थालिएको सुवेदीले दाबी गरे।
नेपाल खानेपानी संस्थान र बुटवल उपमहानगरको सहकार्यमा दुई करोड २१ लाख ५२ हजार ३७ रुपैयाँ लागतमा सुरू गरिएको यो आयोजना आउने वैशाख दोस्रो सातासम्म सक्ने लक्ष्य रहेको खानेपानी संस्थान बुटवलका प्रमुख भट्टले बताए।
अहिले दुई लाखभन्दा बढी रहेको यहाँको जनसंख्या बसाइसराइ र तीव्र सहरीकरणका कारण दिनप्रतिदिन थपिँदै छ। वर्षेनी ६ सयदेखि ७ सयसम्म नयाँ धारा वितरण हुने उपमहानगरपालिकाको तथ्यांक छ। यसले पनि यहाँको जनसंख्या वृद्धि कसरी भइरहेको छ भन्ने पुष्टि गर्ने बुटवलका शहरी विकास महाशाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठको भनाइ छ।