कृषिमा सपना
स-साना योजनाले पनि जिन्दगीमा उत्साहको जोहो गर्छन्। उत्साहले खुसीको।
यसपालि भदौ-असोजका लागि हाम्रो पनि त्यस्तै एउटा योजना थियो— मनाङको भ्राताङ जाने।
मनाङ सदरमुकाम चामेभन्दा ७ किलोमिटर टाढा २९ सय मिटरको उचाइमा छ, भ्राताङ। त्यहीँबाट भिडिओमा लाइभ बोल्दै हाम्रो नयाँ शृंखला 'कृषिमा सपना' सुरू गर्ने योजना थियो। त्यही पर्खिएर धेरै अघिदेखि मन पुलकित थियो।
संसारभरि धैरैका सपना, धेरैका योजना यसपालि कोरोनाले भताभुंग बनाइदियो। हामीलाई मात्र किन छाड्थ्यो!
भ्राताङ जान पाइएन। तर, 'कृषिमा सपना' तुहाउने कुरा भएन। न कुनै बाँधले पानीको बहाव सधैंलाई रोक्न सकेको छ, न कुनै महामारीले मान्छे र उनीहरूका सपना रोक्न सक्छ।
केही दिनअघि हामी पुग्यौं 'एग्रो मनाङ' को स्वयम्भूस्थित कार्यालय। सानो, चिटिक्क परेको कोठामा कम्पनीका प्रबन्ध निर्देशक युवराज गुरुङले हिमालझैं खुलेको मुस्कानले हाम्रो स्वागत गरे।
सिनित्त टेबलमा उनको ल्यापटप मात्र थियो। पछाडि र्याकमा केही फाइल थिए। कोठाको एउटा कुनामा मझौला आकारका दुई कार्टुन बक्सा थिए। तिनमा रातो अक्षरले लेखिएको थियो— हिमालयन फ्रेस।
त्यही 'हिमालयन फ्रेस' को ब्रान्डमा कैद छ, वार्षिक एक अर्ब रूपैयाँ कारोबार गर्ने युवराजको सपना!
मैले कुराको मेलो अघि बढाएँ, 'युवराजजी, कहाँबाट सुरू गरौं?'
'एनिथिङ अबाउट एप्पल एक्साइट्स मी,' उनले भने, 'जहाँबाट सुरू गरे नि हुन्छ।'
युवराज मनाङका ठिटो होइनन्। काठमाडौंमै जन्मिएका, ठमेल-स्वयम्भू चहार्दै लक्काजवान भएका 'अर्बन किड' हुन्। उनको परिवारको व्यापार र व्यवसाय पनि उनीजस्तै काठमाडौंमै हुर्किएको हो। यो नयाँ व्यवसायको बीउ भने उनले मनाङमा रोपे।
मैले सोधेँ, 'तपाईंलाई मनाङ गएर स्याउ खेती गर्ने आइडिया चाहिँ कहाँबाट आयो?
उनले भने, 'मेरो परिवारको जरा त मनाङमै छ नि।'
युवराजका बा पल्देन छोपाङ गुरुङ मनाङबाट निर्वाचित सांसद हुन्। उनका हजुरबा पेमा छिरिङ गुरुङ पञ्चायतकालमै मनाङबाट तीनपटक सांसद भएका थिए।
मनाङको माटोमा एउटा विशेषता छ— त्यसले आफ्ना मानिसलाई तानिरहन्छ। त्यो माटोको सुगन्धबाट, त्यसको मायाबाट मनाङेहरू विरलै छुटकारा पाउँछन्। काठमाडौंमै बसेर पनि उनीहरू मनाङका लागि केही न केही गरिरहन्छन्, आफ्नो समुदायसँग जोडिइरहन्छन्।
सबैले जुटेर देशकै प्रसिद्ध 'मनाङ-मर्स्याङ्दी फुटबल क्लब' बनाएका छन्। देशकै धनीमध्येको क्लब, जसले फुटबल खेल्ने दिन मनाङेहरू रंगशाला पुग्छन्, आफ्नो क्लबको पक्षमा 'हुटिङ' गर्छन्।
जिते रोमाञ्चित हुन्छन्, हारे उनीहरूलाई 'मनाङ' दुख्छ।
युवराजका बालाई पनि मनाङमै केही गर्न पाए हुने, आफ्नो समुदाय र आफ्नो माटोमै केही गर्न पाए हुने भन्ने सधैं लाग्थ्यो। उनले छोराहरूलाई सधैं भन्थे— मनाङमै केही गर्नुपर्यो।
युवराजले बालाई भने, 'मनाङ गएर त्यत्तिकै बस्ने कुरा भएन। केही गर्ने भए दीर्घकालसम्म हुने, आफ्नो समय र श्रम खर्च गर्न सुहाउने व्यवसाय गर्नुपर्यो।'
बाले सुझाए, 'व्यावसायिक स्याउ खेती गर्न सकिन्छ कि?'
त्यसपछि युवराजले मनाङमा स्याउ खेतीको सम्भावना खोज्न सुरू गरे।
स्याउमा सपना देख्न कहाँ सजिलो छ र! खान जति सजिलो छ स्याउ, खेती गर्न त्यत्तिकै कठिन। परम्परागत स्याउको बिरूवामा फल लाग्नै छ वर्ष लाग्छ। बोटले राम्ररी फल दिन दस वर्ष। बेच्न काठमाडौंसम्म ल्याउने चुनौती। चीन र भारतबाट ठूलो परिमाणमा आउने स्याउसँग प्रतिस्पर्धा गर्न अर्को चुनौती। त्यसमाथि स्याउ बेच्न पनि 'सिन्डिकेट' को लफडा।
युवराजको दिमागी क्यालकुलेटरले लागत, प्रतिफल, श्रम र हैरानीको हिसाब-किताब गर्यो। अनि उनको मनले भन्यो, 'यो गरिखाने बाटो होइन।'
बालाई युवराजले आफ्नो निष्कर्ष सुनाए। बा खिन्न भए। बाको खिन्न अनुहार युवराजले पढे। स्याउबारे खोजी छाड्न मनले मानेन। बरू उनले त्यसको दायरा फराकिलो बनाए। नेपाल बाहिर पुर्याए।
छेउको ल्यापटप देखाउँदै उनले भने, 'आजकाल त इन्टरनेटमा संसारभरिको कुरा खोज्न मिल्छ।'
उनको मनमा प्रश्न थियो, 'के विदेशमा पनि नेपालमा जस्तै स्याउको बिरूवा रोपेपछि फल खान कम्तीमा छ वर्ष कुर्छन्?'
उनले चाँडै पत्ता लगाए, होइन रहेछ। स्याउ खेतीमा नयाँनयाँ प्रविधि र प्रयोग विकास भएको रहेछ। युरोपमा यस्तै नयाँ प्रविधि विकास भएको थियो, 'ड्वार्फ टेक्नोलोजी'। ड्वार्फ, अर्थात् स्याउको बोटलाई 'पुड्के' बनाउने। बिरूवालाई ठूला रूखको सट्टा स-साना बोटमा सीमित गरेपछि त्यसले चामत्कारिक फाइदा दिँदो रहेछ।
स्याउ वर्ष दिनमै फल्ने। दुई वर्षदेखि टिप्न मिल्ने। बोट सानो भएपछि त्यसको स्याहार गर्न, स्याउ टिप्न सजिलो। साना बोटले एकअर्कालाई घाम पनि नछेक्ने।
'घाम परेको स्याउको दाना रातो, रसिलो हुन्छ। अरूभन्दा मिठो हुन्छ,' युवराजले सम्झाए, 'सबभन्दा मुख्य कुरा, थोरै जमिनमा धेरै रूख रोप्न सकिने, धेरै स्याउ फलाउन सकिने।'
अब भने युवराजको व्यवसायी दिमागले मनाङमा ठूलो र व्यावसायिक स्याउ खेती गर्ने सम्भावना देख्यो। उनी स्याउ खेतीबारे बुझ्न 'फिल्ड' मै हिँडे। सुरूमा भारतको नैनीताल गए। त्यसपछि युरोपमा स्याउ फलाउने अग्रणी देशहरू बेल्जियम, नेदरल्यान्ड्स, जर्मनी र इटाली पुगे।
त्यहाँको स्याउ खेती हेरेर उनको मनमा व्यवसायको भोक झनै जाग्यो।
हिमाली भेगमा ठूलो स्याउ खेती गर्न एउटा चुनौती जग्गा नै हो। हिमालमा खेतीयोग्य जमिन पाउन गाह्रो छ। त्यसमाथि एकै ठाउँ सयौं रोपनी!
यो समस्या समाधान गर्न मनाङ एग्रोले मनाङ-मर्स्याङ्दी क्लबसँग सहयोग माग्यो।
माथिल्लो मनाङका सात गाउँ मिलेर उक्त क्लबलाई भ्राताङमा भएको सात सय रोपनीभन्दा बढी सामुदायिक जग्गा उपभोग गर्न दिएका थिए, क्लबका लागि आय बढाउन। मनाङ एग्रोले त्यही जग्गा सन् २०१४ मा २७ वर्षका लागि लिजमा लियो। बिरूवा इटालीबाट ल्यायो। अनि पहिलोपटक सुरू भयो नेपालको उच्च हिमालमा युरोपबाट ल्याएको बिरूवाको स्याउ खेती।
समुद्री सतहभन्दा २९०० मिटर उचाइमा रहेको भ्राताङमा स्याउका बिरूवा हुर्कन चाहिने तापक्रम र फल लाग्न चाहिने चिसो दुवै पुग्छ।
निश्चित तापक्रम पुगेन भने स्याउको बिरूवा हुर्किँदैन। गर्मी याममा भ्राताङमा दिउँसो २० डिग्रीसम्म तापक्रम पुग्छ।
त्यस्तै, निश्चित चिसो पुगेन भने युरोपको ठन्डी क्षेत्रबाट ल्याइएका बिरूवामा फल लाग्दैन। राम्रो फल लाग्न स्याउको बोटलाई करिब हजारदेखि पन्ध्र सय घन्टासम्म ६ डिग्रीमुनिको चिसो चाहिन्छ। हिउँदभरि नै भ्राताङमा तापक्रम शून्य डिग्रीभन्दा तल रहन्छ। त्यसले बोटलाई आवश्यक 'चिलिङ प्रोसेस' पूरा गरिदिन्छ।
चैत-वैशाखमा न्यानो हुन थालेपछि बोटमा फूल खेल्न थाल्छ र फल लाग्छ। मध्य असोजदेखि स्याउ पाक्न सुरू हुन्छ।
भ्राताङभन्दा तलका ठाउँमा स्याउ केहीअघि नै पाक्छ। दाना पनि थोरै ठूलो हुन्छ। तर भ्राताङमा फलेको स्याउ कसिलो हुन्छ, धेरै समय टिक्छ। युरोपको हावापानीमा उम्रेको स्याउको बिरूवा भ्राताङको चिसोमा रमाएर हुर्कने गरेको छ। फल पनि उस्तै दिन्छ।
स्याउ खेतीमा नयाँ प्रविधि विकास र नयाँनयाँ प्रयोग गर्नेमा नेदरल्यान्ड्स संसारमै अगाडि छ।
'हामीले कन्सल्ट्यान्ट नेदरल्यान्ड्सबाट ल्यायौं। बिरूवा भने ल्याउन सजिलो र सस्तो पर्ने हुँदा इटालीबाट,' युवराजले प्रस्ट्याए।
बिरूवा हुर्काएजसरी व्यवसाय हुर्काउन सजिलो छैन। व्यवसाय बजारमा हुर्कन्छ। खेतभन्दा धेरै गुणा जटिल हुन्छ बजार। व्यवसायको चुनौती भनेको मनाङका डाँडा चढेजस्तै हो। एउटा डाँडो छिचोल्यो, अर्को आउँछ। अर्को छिचोल्यो, अर्को!
युवराजले यी सबै चुनौती सामना गर्ने आँटे। सबै डाँडा छिचोल्ने अठोट गरे। हरेक चुनौतीले उनलाई नयाँ कुरा सिकायो। आफ्नो व्यावसायिक यात्रामा एग्रो मनाङले बलियो साथ पायो, प्रभु बैंकको।
साधारणतया कुनै पनि व्यवसायमा ३० प्रतिशत लगानी व्यवसायीको हुन्छ, ७० प्रतिशत बैंकको। त्यसैले लगानी फिर्ता हुने हो वा होइन भनेर बैंकहरू सचेत हुन्छन्। नयाँ क्षेत्रमा लगानी गर्न दुईपटक सोच्छन्। कतिपय हच्किन्छन्।
प्रभु बैंकका सिइओ अशोक शेरचन भने सिर्जनशील कृषि उद्यममा लगानी गर्ने अवसर खोजिरहन्छन्। नेपाली उत्पादन बढ्ने र आयात घटाउने क्षमता भएका कृषि उद्योगहरूले आफूलाई उत्साहित बनाउने बताउँछन् शेरचन। विदेशबाट आएर कृषिमा उद्यम र व्यवसाय गर्न चाहने कतिपय युवा उनको बैंकको ढोका ढकढक्याउन पुगेका छन्। सम्भाव्यता हेरेर उनको बैंकले सहानुभूतिपूर्वक लगानी गरेको छ।
ठूलो 'स्केल' मा स्याउ खेतीमा लगानी गर्न शेरचन पनि तम्सिए।
'प्रभु बैंकसँग हाम्रो पुरानो व्यावसायिक सम्बन्ध छ,' युवराजले भने, 'त्यसमाथि मनाङमा स्याउ खेती गर्ने भनेपछि उहाँहरू उत्साही हुनुभयो, लगानी गर्न तयार हुनुभयो।'
एग्रो मनाङले अहिले ३० करोड लगानीमा भ्राताङमा स्याउ खेती गरेको छ। आफ्नो र अरूले फलाएका स्याउ भण्डार गरेर राख्न मनाङ र काठमाडौंमा 'स्टोरेज' बनाएको छ। स्याउ खेती गर्न चाहनेलाई बिरूवा र तालिम उपलब्ध गराउन स्कुल खोलेको छ।
युवराजका लागि अहिलेको सबभन्दा ठूलो सपना भनेको आउने दस वर्षमा वार्षिक एक अर्ब रूपैयाँ बराबरका 'हिमालयन फ्रेस' स्याउ बेच्ने हो। हिमालयन फ्रेस एग्रो मनाङको ब्रान्ड हो।
गत वर्ष मात्रै उनले ६ सय टन स्याउ बेचे।
'सय-डेढ सय टन त भ्राताङमा हाम्रो फार्मबाटै बिके,' उनले भने। अहिले भ्राताङसम्मै गाडी जान्छ। गाडी लिएर घुम्न जाने, ट्रेकिङ जाने नेपाली-विदेशी वा मनाङमा काम गर्ने कर्मचारीले घर फर्किँदा स्याउ किन्ने उनले बताए। असोज-कात्तिक-मंसिर पर्यटकीय सिजन हो, स्याउ पनि यही सिजनमा फल्छ।
बाँकी स्याउ उनले काठमाडौं ल्याएर बेचेका छन्। यसपालि पनि एग्रो मनाङको स्याउ बेच्ने सिजन सुरू हुन लाग्यो। सेप्टेम्बर अन्तिम वा अक्टोबर पहिला सातामा उनको स्याउ काठमाडौं आइपुग्नेछ।
उत्पादन बढाएर आउने पाँच वर्षभित्र वार्षिक ३०-३५ करोड र दस वर्षपछि एक अर्बको स्याउ बेच्ने युवराजको योजना छ। यही योजनाअनुरुप मनाङ एग्रोले अहिलेसम्म ६८ हजार स्याउका बिरूवा रोपिसकेको छ।
बजारमा माग यति धेरै छ, एग्रो मनाङको स्याउ केही महिनामै सकिन्छ। सरकारी तथ्यांकअनुसार नै नेपालमा अहिले वार्षिक ४ अर्बको स्याउ बिक्री हुन्छ। व्यापारीले भन्सारमा स्याउको थोरै मूल्य देखाउँछन्। वार्षिक १०-१२ अर्ब बराबरको स्याउ आयात हुने युवराजको भनाइ छ।
'त्यसैले दस वर्षपछि कम्तीमा प्रत्येक वर्ष दस प्रतिशत आयात प्रतिस्थापन गर्ने लक्ष्य मैले लिएको हुँ,' उनले भने।
एग्रो मनाङको उत्पादनले मात्र नेपालमा चीन र भारतबाट आयात हुने स्याउ रोकिन्न। अरू धेरै कृषक र व्यवसायीले पनि स्याउ खेती गर्नुपर्छ। त्योभन्दा प्रमुख कुरा, नेपाली उपभोक्तामा नेपाली स्याउको स्वाद बस्नुपर्छ। उनीहरूले नेपाली स्याउ चिन्नुपर्छ। नेपाली स्याउ 'ब्रान्ड' का रूपमा स्थापित हुनुपर्छ।
मनाङ, मुस्ताङ वा अरू कुनै हिमाली जिल्लाको भनेर काठमाडौंको बजारमा बेचिने अधिकांश नेपाली स्याउ नभएको युवराजले बताए।
हिमाली जिल्लाका भन्नेबित्तिकै हाम्रो दिमागमा साना, आकार नमिलेका, खत भएका र प्लास्टिकमा पोको पारेका स्याउको तस्बिर आउँछ। यसरी प्लास्टिकमा पोको पारेको छोक्रे स्याउ नै नेपाली स्याउको पहिचान बनेको छ।
'अघिकांश ती स्याउ भारतको हिमाञ्चल प्रदेशबाट आएका हुन्,' उनले भने।
अहिले दक्षिण एसियामै स्याउ निर्यात गर्ने 'राजा' देश भनेकै चीन हो। ठूला दाना भएको महंगो 'फुजी' स्याउ सम्झिनेबित्तिकै हामी सबैको दिमागमा 'चिनियाँ स्याउ' भन्ने आउँछ।
युवराजले मलाई सम्झाए, 'फुजी चिनियाँ स्याउ होइन। भ्राताङमा हामी पनि सबभन्दा धेरै फुजी स्याउ नै फलाउँछौं।'
खासमा फुजी जापानी स्याउ रहेछ। आफूले विकास गरेपछि त्यो स्याउको नाम जापानीले विश्व प्रसिद्ध 'माउन्ट फुजी' बाट राखेका रहेछन्। विस्तारै यो स्याउ संसारभर फैलियो। चीनले अहिले यही स्याउ सबभन्दा धेरै फलाउँछ र बेच्छ।
एग्रो मनाङले अहिले तीन खालका स्याउ फलाउँछ— फुजी, गोल्डेन डेलिसियस र गाला।
गाला सेप्टेम्बर अन्तिम सातातिर पाक्छ भने गोल्डेन डेलिसियस अक्टोबर दोस्रो सातातिर र फुजी अक्टोबर अन्तिमतिर।
एग्रो मनाङले इटालीबाट 'ड्वार्फ टेक्नोलोजी' का बिरूवा ल्याएर रोपेपछि देशैभरिका अरू स्याउ किसानले पनि यिनै बिरूवा रोप्न थालेका छन्। एग्रो मनाङले जस्तै कतिपय अरू कम्पनीले पनि स्याउका बिरूवा ल्याएर बेच्न थालेका छन्। जति धेरैले नेपालमा स्याउ खेती गर्यो, त्यति राम्रो हुने युवराजको धारणा छ। नेपाली स्याउका प्रकार भने सीमित राख्नुपर्छ भन्छन् उनी।
'संसारमा स्याउ दस हजार प्रकारका छन्। तर हामीले यिनै तिनटा बिरूवा बेचिरहेका छौं,' उनले भने, 'नेपालमा खेती गर्ने सबैले यिनै खाले स्याउ लगाउनुपर्छ। त्यसले यी स्याउलाई बजारमा नेपाली स्याउका रूपमा स्थापित गर्छ। मानिसलाई चिन्न सजिलो हुन्छ, जिब्रोमा स्वाद बस्छ। नेपाली स्याउको ब्रान्ड स्थापित हुन्छ।'
त्यसपछि मात्र नेपाली स्याउलाई विदेशी स्याउसँग प्रतिस्पर्धा गर्न सजिलो हुन्छ। जति धेरै नेपालीले स्याउ खेती गरे, त्यति नै नेपाली स्याउ बजारमा स्थापित हुने युवराजको तर्क छ, 'त्यसैले हामीले स्याउका बिरूवा बेच्ने, रोप्न तालिम दिने, मनाङमा फलेका स्याउ किनिदिने गरेका हौं।'
एग्रो मनाङले किसानसँगको सहकार्यमा मनाङमा दोस्रो स्याउ फार्म पनि सुरू गरेको छ।
'३२० रोपनी जग्गाको स्याउ फार्ममा हाम्रो कम्पनीको पनि थोरै सेयर छ। उक्त कम्पनी व्यवस्थापनमा हामीले सघाएका छौं,' उनले भने।
युवराजको जत्रो सपना छ, त्यो मनाङको स्याउ फार्मले मात्र धान्दैन। मनाङबाहिर कम्तीमा एउटा जिल्लामा स्याउ खेती विस्तार गर्ने युवराजको योजना छ। त्यसका लागि जग्गा हेर्न उनी धेरैपटक मुस्ताङ, रसुवा लगायत जिल्ला पुगेका छन्।
इटालीबाट ल्याएका पुड्का स्याउका बोटले उनको सपना चुल्याउँदै लगेको छ। एक अर्बको स्याउ जो बेच्नुछ।
सपना त्यतिमा सीमित छैन। स्याउबाट जुस प्रशोधन गर्ने र वाइन बनाउने कम्पनी पनि दर्ता भइसकेको छ।
कृषि कर्मबाट हिमालपारिको जिल्लाभन्दा माथिको आकाश छुने सपना छ उनको।