बुटवल वडा नंं ११ देवीनगरस्थित एन्फा एकेडेमीको प्राङगढमा नियमित योगअभ्यास र लोकगीतको धुन बज्न थालेको तीन महिना बढी भयो।
बिहानैको सुर्योदयसँगै शुरु हुने योगअभ्यास र गीतको धुनमा एकनासले उफ्रिरहेका सबैको उद्देश्य एउटै छ, जतिसक्यो छिटो यो स्थानबाट बाहिर जान पाइयोस्।
रुपन्देहीमा कोरोना संक्रमण फैलिएसँगै एन्फा एकेडेमीको भवनलाई बुटवल उपमहानगरपालिकाले आइसोलेसनको रुपमा विकास गरेको हो। यही आइसोलेसनबाटै नियमित योगअभ्यास र आयुर्वेदिक औषधिको नियमित सेवनपछि धेरै संक्रमित निको भएर घर फर्किएका छन्।
जहाँ लुम्बिनी आयुर्वेद अस्पताल बुटवलका योग प्रशिक्षक तथा वैद्य विष्णुहरी आचार्यले योग, आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिबाट रोगप्रतिरोधक क्षमता बढाउने विभिन्न औषधिको प्रयोग, आहारबिहार र जीवनशैली व्यबस्थापन सम्बन्धी कला सिकाउँदै आएका छन्।
आइसोलेसनमा बसिरहँदा तनाव लिने, निराश हुने, मनलाई अशान्त बनाउँदा कोरोनाले झन् च्याप्ने भएकाले यसबाट मुक्त हुनका लागि नियमित योगा, ध्यान र आयुर्वेदिक औषधिको प्रयोग शुरु गरिएको आचार्य बताउँछन्।
आइसोलेसनको सुरक्षा घेराभित्र संक्रमितहरु नाचिरहँदा घेरा बाहिर योग प्रशिक्षक, सुरक्षाकर्मी र आइसोलेसन व्यवस्थापनमा खटिएका सबैले साथ दिइरहेका हुन्छन्।
संक्रमितलाई मनोपरामर्श र हौसला दिन बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा समेत नियमित रुपमा आइसोलेसनमा पुगिरहेका हुन्छन्।
नेपालमा उपलब्ध जडिबुटीमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधीय गुण भएका कारण संक्रमितलाई योग, ध्यानसँगै आयुर्वेदिक औषधिहरुको सेवन गराइरहेको वैद्य आचार्य बताउँछन्।
बुटवल देवीनगरमा २०३५ सालमा लुम्बिनी आयुर्वेद अस्पतालको स्थापना भएको हो। साविक लुम्बिनी अञ्चल कार्यक्षेत्र हुनेगरी स्थापना गरिएको अस्पताल बुटवलमा छ भन्ने समेत लामो समयसम्म धेरैलाई थाहा थिएन।
अन्य अस्पतालहरुको विस्तार र एलोपेथी औषधिको प्रयोगले आयुर्वेद औषधिको प्रयोग हराउँदै गएकोमा कोरोना संक्रमणपछि प्रयोग बढेको आचार्य बताउँछन्।
प्रदेश ५ कोरोना संकट व्यवस्थापन केन्द्रले रुपन्देहीका आइसोलेसन तथा क्वारेन्टिनमा रहेकालाई योग, ध्यान तथा मनोसामाजिक परामर्शका लागि आचार्यलाई जिम्मेवारी तोकिदिएको छ।
झण्डै ५ महिनाको अवधिमा आचार्य बुटवलसँगै तिलोत्तमा, कोटहीमाई, समरीमाई, मर्चवारी, मायादेवी, गैंडहवा, सुद्दोधन लगायतका पालिकाहरुमा रहेका आइसोलेसन र क्वारेन्टिनमा योग र आयूर्वेदको महत्व बुझाउन व्यस्त छन्।
‘नेपालका भीरपाखा र वनजंगलमा उम्रिएका जडिबुटी दिर्घ तथा नसर्ने रोगसँगै सरुवा रोग नियन्त्रणमा पनि अत्यन्त उपयोगी छन्, अहिले त्यसको महत्व बुझाउने अवसर पाएको छु’ आचार्य भन्छन्।
नेपालका हरेक क्षेत्रमा प्रशस्त मात्रामा पाईने चिनीलहरो (गुडुची)मा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधीय गुण प्रयाप्त हुने र यसको नियमित प्रयोग गर्न सके कोरोना संक्रमण मात्र होइन अरु धेरै रोग लाग्नबाट जोगिने उनी दावी गर्छन्।
‘चिनीलहरोमा पाइने औषधीय गुणसँगै अरु जडिबुटीका बारेमा भारतको आयुस मन्त्रालय र चीनको टे«डिसनल मेडिसिनले निर्देशिका नै जारी गरेको छ, नेपाल सरकारले पनि नेपालमा उपलब्ध जडिबुटी सम्बन्धी निर्देशिका बनाएर त्यसको उपयोगलाई बढाउनुपर्छ’ उनी भन्छन्।
नेपालीको भान्सामा पाइने अधिकांश जडिबुटी र मसलाजन्य वस्तुमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधीय गुण प्रशस्त रहेको उनको भनाइ छ।
‘बेसार, अदुवा, ज्वानो, टिमुर, मरौठी, पुदिना जस्ता मसलाजन्य बस्तुमा औषधीय गुण पाइन्छ, पुर्खाले परम्पराकालदेखि नै प्रयोग गर्दै आएकाले हामी पनि प्रयोग गर्दै आएका छौं’ उनले भने।
आचार्यका अनुसार मानिस प्रकृतिको नियमभित्र नबस्दा शरीरमा विकारको वृद्धि हुन्छ। नियमित रुपमा योग, ध्यान र प्रणायामले शरीरमा विकारयुक्त पदार्थको वृद्धि हुन पाउँदैन। योग र ध्यानसँगै आयुर्वेदिक औषधि र जडिबुटीको प्रयोगले लागेको रोग छिटो निको हुन सघाउने उनी बताउँछन्।
कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन निर्देशिका अनुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना संक्रमितको उपचारको लागि अश्वगन्धा पाउडर, मुलेठी पाउडर, गुडुची चिया, त्रिकटु चूर्ण तथा च्यवनप्रास लगायतका औषधि क्वारेन्टिन र आइसोलेसनमा वितरण गरिएको छ।
आइसोलेसन र क्वारेन्टिनमा बस्नेहरुलाई विहानै योग र व्यायाम गर्नुपर्छ भन्ने शिक्षाले उनीहरुको दैनिकीमा सकारात्मक प्रभाव पारेको र शरीर स्वस्थ राख्न मद्दत मिलेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी बताउँछन्।
‘अहिलेको महामारीमा जोसुकैले पनि योग अभ्यास गर्दा राम्रो हुन्छ, आइसोलेसन र क्वारेन्टिनमा गरिएको योग अभ्यास प्रभावकारी भएकोे छ, मस्तिष्कको स्वास्थ्यका लागि योग एक प्राकृतिक औषधि मानिन्छ, योगले शारीरिक तथा मानसिक स्वास्थ्यलाई बलियो बनाउँछ’ सुवेदी भन्छन्।
बुटवल उपमहानगरपालिका उपप्रमुख गोमादेवी आचार्यले योग, ध्यान र आयुर्वेदिक औषधिको प्रयोग अहिले अरु क्षेत्रका क्वारेन्टिन र आइसोलेसनमा पनि बढेको बताइन्।
‘मानिसको शरीर स्वस्थ राख्न सबैभन्दा पहिले उसको मस्तिष्क स्वस्थ हुनुपर्छ र मस्तिष्कको स्वास्थ्यका लागि योग प्राकृतिक औषधि मानिएको छ’ उनी भन्छिन्।