बुटवलमा कोरोना संक्रमित विरामीहरुको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलद्वारा संचालित कोरोना विशेष आइसोलेसन अस्पतालमा भेन्टिलेटरमा रहेकी एक संक्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बुटवलकी ७० वर्षिया संक्रमित वृद्धाको सोमबार प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको जानकारी दिए।
ती वृद्धा धागो कारखानास्थित आइसोलेसनको सघन उपचार कक्षमा भेन्टिलेटर सहायतामा उपचाररत छन् यसअघि कोरोना भाइरसबाट संक्रमित भई निको भएका लुम्बिनी प्रादेशिक अस्पतालमै कार्यरत डा. साजन श्रेष्ठले आफ्नो रगत दान गरी प्लाज्मा थेरापी विधिबाट उपचारमा सघाउ पुर्याएको डा. थापाले जानकारी दिए।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले प्लाज्मा थेरापी विधि सफल भए अरु विरामीहरुमा पनि उपचार शुरु गरिने जानकारी दिए।
डा. खनालले कोरोनाको छुट्टै औषधि पत्ता नलागेको अवस्थामा मृत्युलाई रोक्न सकिन्छ कि भन्ने उद्देश्यले प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको बताए। यो विधि सफल हुने, नहुने यसै भन्न नसकिए पनि आफूहरुको प्रयास भने जारी रहने बताए।
बुटवलको आइसोलेसन अस्पतालको सघन उपचार कक्षमा १७ जना संक्रमितहरुको उपचार भइरहेको छ। तिमध्ये गम्भीर दुई जना भेन्टिलेटर सहायतामा छन्।
कतिपय कोरोना संक्रमित विरामीलाई मिर्गाैलाको समेत समस्या देखिएकोले तत्काल डायलासिस मेसिन आवश्यक रहेको र त्यसको लागि व्यवस्थापनको पहल भइरहेको डा. खनालले बताए।