समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि त्यसको नियन्त्रणको लागि गएको साउन २९ गते राति १२ बजेदेखि बुटवलमा जारी लकडाउन थप एक साता बढाइएको छ।
बुटवलमा कोरोनाको जोखिम बढेपछि कडाइका साथ जारी गरिएको लकडाउन थप एक साता बढाइएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए।
बुटवलमा आइतबार सम्पन्न जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम केन्द्र (सिसिएमसी)को बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्ष सहित समयावधि बढाउने निर्णय गरिएको सुवेदीले बताए।
अहिले थप गरिएको लकडाउन बुटवल मात्र नभई रुपन्देहीका सबै पालिकामा कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको छ।
प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थसहित सुरक्षा निकायका प्रमुखसहितको बैठकले उक्त निर्णय गरेको सुवेदीले बताए।
यसअघि रुपन्देहीका सबै पालिकाहरुले आ–आफ्नै तरिकाले लकडाउन घोषणा गर्दै आएका थिए। सबै पालिकाहरुले लकडाउन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि भदौ १ गतेदेखि लकडाउन घोषणा गरेको थियो। जुन आइतबार राति १२ बजे सकिँदै थियो।
प्रमुख जिल्ला अधिकारी महादेव पन्थले कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्लाका सबै पालिकामा आइतबारदेखि १४ गतेसम्मलाई लकडाउन थप गरिएको बताए।
लकडाउनको समयावधि बढाउने मात्र नभई लकडाउनलाई अझै कडाई गर्ने समेत निर्णय गरिएको पन्थले जानकारी दिए। लकडाउनको अवधिमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक कुनै पनि सवारीसाधन संचालन गर्न, पसल खोल्न तथा हिँडडुल गर्न निषेध गरिएको छ।
पछिल्ला केही दिनयता बुटवलका विभिन्न स्थानमा गरिएको परीक्षणमा बुटवलमा मात्र शनिबारसम्म १ सय ५३ जना तथा रुपन्देही जिल्लाभरी ६ सय ३१ जनामा संक्रमण पुष्टि भएपछि रुपन्देहीमा लकडाउनको म्याद बढाउन दवाव थियो।
संघीय सरकारको कोभिड नियन्त्रण तथा रोकथाम केन्द्र सिसिएमसिको बैठकमा समेत वीरगञ्ज, बुटवल र नेपालगञ्जलाई कोरोनाको जोखिम रहेको निष्कर्ष सहित सजगता अपनाउनु पर्ने भन्दै छलफल समेत भएको बुझिएको छ।