साउन १७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा आफैं कोरोना परीक्षण गर्न गएका दुई जना रिपोर्ट पोजिटिभ आएपछि सम्पर्कविहीन भए।
अस्पतालमा स्वाब संकलन गर्दा बुटवल अमरपथ ठेगाना लेखाएका उनीहरूको रिपोर्ट पोजिटिभ आएपछि खोजी गर्दै जाँदा एक सातापछि भारतको नौतनवामा रहेको भन्नेसम्मको जानकारी अस्पतालले पायो। उनीहरूलाई फेला पार्न सकेन।
उनीहरू बुटवल हाटबजारमा व्यापार गर्दै आएको भन्ने थाहा पाएपछि समुदायमा कोरोना संक्रमण फैलिइसकेको आशंकामा लुम्बिनी प्रादेशिक अस्पतालले परीक्षण सुरू गर्यो।
बुटवल उपमहानगरपालिकासँगको समन्वयमा साउन २२ गते विभिन्न क्षेत्रका २ सय ३८ जनाको स्वाब परीक्षण भयो।
त्यसअघि अस्पतालमा आएका शंकास्पद बिरामीको मात्र कोरोना परीक्षण गर्दै आएको अस्पतालले नमूनाको रूपमा गरेको परीक्षणमा राजनीतिक दलका कार्यकर्ता, अस्पतालकै स्वास्थ्यकर्मी तथा उनीहरूका परिवारमा कोरोना संक्रमण देखिएको पुष्टि भयो। उक्त परीक्षणको नतिजाले बुटवलमा समुदायमा कोरोना फैलिएको संकेत गरिसकेको थियो।
साउन २२ गतेसम्म बुटवलमा जम्मा २७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा त्यसयता दैनिक पाँच-सात जना हुँदै कुनै दिन ३२ जनासम्म पुगेर शुक्रबारसम्म १ सय ४४ जनालाई कोरोना संक्रमण देखिएको छ।
त्यसअघि नेपालभन्दा बाहिरबाट आएर क्वारेन्टिन वा आइसोलेसनमा बसेकामा संक्रमण देखिएकोमा त्यसयता भने घरभित्र बसेका, कार्यालयका कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, राजनीतिक कार्यकर्तामा संक्रमण पुष्टि भएको छ।
सबैभन्दा बढी संक्रमित उपमहानगरको वडा नम्बर ११ कालिकानगर र देवीनगरमा छन्। त्यहाँ शुक्रबारसम्म ५५ जनामा संक्रमण देखिएको छ। तीमध्ये अधिकांश एउटै घटनासँग जोडिएका छन्।
कालिकानगरकी एक महिलाको मृत्यु भएपछि उनको अन्तिम संस्कारमा सहभागी र घरपरिवारमा समवेदना दिन जाने व्यक्तिहरूमा समेत कोरोना संक्रमण देखिएको छ।
त्यो संक्रमण क्यान्सरको उपचार गर्दागर्दै भरतपुरमा मृत्यु भएकी ती महिलाबाट फैलिएको हो वा उनको अन्तिम संस्कार आएका कसैबाट अरूमा सरेको हो भन्ने एकिन भइसकेको छैन।
ती महिलाको परिवारले आफूहरूमा समेत कहाँबाट कोरोना संक्रमण देखिएको हो भन्ने यकिन नभएको तर समुदायमा संक्रमण फैलिनुमा आफूहरूलाई कारण बनाइएको भन्दै आपत्ति जनाएको छ।
मृतक महिलाका देवरले बुटवलमा आफूहरू संक्रमित हुनुभन्दा पहिले पनि संक्रमित भेटिएको र त्यसपछि आफूहरूको सम्पर्कमा नआएका व्यक्ति पनि संक्रमित भएको बताए।
'हाम्रो पारिवारिक घटनालाई मात्रै अगाडि ल्याएर हामीबाट नै सबैलाई फैलिएको हो भन्नेजस्तो हुँदा पीडामाथि पीडा थपिएको छ,' उनले भने।
गत चैत ११ गते देशव्यापी लकडाउन हुँदा झन्डै चार महिनासम्म बुटवल सुरक्षित नै थियो। नजिकैको भारतीय सीमा बेलहिया हुँदै भारतबाट आएका हजारौं नेपाली र मेचीदेखि महाकालीसम्मका पैदल यात्रीलाई आश्रय दिएको बुटवलले संक्रमणबाट आफूलाई जोगाएको थियो।
साउन ७ गते लकडाउन खुलेपछि भने बुटवलमा कोरोना संक्रमणको शिलशिला सुरू भयो।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी सुरूमा बुटवलका उद्योगी व्यवसायीले लुकीछिपी बाहिरबाट ल्याएका मजदूरहरूमा संक्रमण देखिएको बताउँछन्।
सुवेदीका अनुसार पहिलो चरणको लकडाउन खुलेसँगै एकजना व्यवसायीले बाराबाट ल्याएका ७ जना मजदूरको स्वाब परीक्षण गर्दा सबैमा कोरोना पोजिटिभ देखिएको थियो। त्यस्तै, वीरगन्ज पुगेका एक जना व्यवसायीमा पनि संक्रमण पुष्टि भएको थियो।
उनीहरूको तत्काल परीक्षण गरी आइसोलेसन पठाइएका कारण त्यतिबेला संक्रमण फैलिन नपाए पनि अहिले भने संक्रमणको मुख्य स्रोत पत्ता लाग्न नसकेको सुवेदी बताउँछन्।
व्यापारी, उद्योगी व्यवसायी तथा आम मानिससमेत इमान्दार नहुँदासम्म कोरोना संक्रमण नियन्त्रण गर्न नसकिने सुवेदीको भनाइ छ।
‘अहिले कहाँबाट संक्रमण फैलियो भनेर खोजी गर्ने सँगै कसरी संक्रमण नियन्त्रण गर्ने भन्नेतर्फ सबैले ध्यान दिनु जरूरी छ,’ सुवेदीले भने।
लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, बुटवल उपमहानगरपालिकाका कर्मचारी, मन्त्रालयका अधिकारी तथा सर्वसाधारण गरी शुक्रबार साँझसम्म बुटवलमा १ सय ४४ जनामा संक्रमण पुष्टि भइसकेको छ।
यसमा कतिपय संक्रमितको तथ्यांकसमेत समेटिएको छैन। वडा नम्बर ११ की गर्भवती महिला तथा वडा नम्बर १३ का दुई जना बालबालिकामा समेत कोरोना संक्रमण पुष्टि भइसके पनि उपमहानगरपालिकाको तथ्यांकमा उनीहरूको संख्या समेटिएको छैन।
संक्रमण कहाँबाट कसरी फैलियो भन्ने यकिन नभए पनि बुटवलमा कोरोना समुदायमा फैलिइसक्यो भन्नेमा सरोकारवाला निकाय एकमत छन्।
जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीले बुटवलमा मात्रै नभई रुपन्देहीका अधिकांश पालिकामा संक्रमण समुदायमै पुगेकोले अवस्था जटिल बनेको बताए।
‘अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, कार्यालयका कर्मचारीमा संक्रमण भेटिएको छ जुन चिन्ताको विषय हो,’ गिरीले सेतोपाटीसँग भने।
उनका अनुसार अहिले समुदायस्तरमा गरिएका परीक्षणमा दैनिक १२ देखि २० जनासम्म संक्रमित भेटिने गरेका छन्। क्वारेन्टिनमा रहेका व्यक्तिहरूमा संक्रमण भेटिए नियन्त्रण गर्न सहज हुने भए पनि समुदायमा फैलिएको संक्रमणलाई नियन्त्रण गर्न आममानिस नै सचेत बन्नुपर्ने डाक्टर गिरीको भनाइ छ।
पछिल्ला १५ दिनमा लगातार कोरोना संक्रमित थपिएपछि बुटवलमा बनाइएका आइसोलेसन बेड भरिइसकेका छन्। लुम्बिनी प्रादेशिक अस्पतालले निर्माण गरेको रामनगरस्थित धागो कारखानामा रहेको आइसोलेसनमा ३७ जना संक्रमित छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसारमा आइसोलेसनको सघन उपचार कक्ष (आइसियू) का १६ वटै बेड भरिएका छन्। जहाँ पूर्वराज्यमन्त्री सँगै चिकित्सक समेतको उपचार भइरहेको उनले जानकारी दिए।
त्यस्तै, बुटवल उपमहानगरपालिकाले देवीनगरस्थित एन्फा एकेडेमीमा तयार गरेको आइसोलेसनमा ३७ जना संक्रमित छन्। संक्रमित थपिँदै जाने र तर आइसोलेसनका बेड खाली नहुँदा नयाँ संक्रमित अहिले होम आइसोलेसनमै बस्दै आएका छन्।
बुटवल उपमहानगर प्रमुख सुवेदीका अनुसार शुक्रबारसम्म बुटवलका विभिन्न वडामा ५८ जना संक्रमित होम आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहेका संक्रमितलाई आयुर्वेदिक औषधिसहित शीघ्र स्वास्थ्यलाभको पत्र बोकेर सुवेदी घरघरमै पुगेका छन्।
संक्रमण लुकाउँदा जोखिम बढ्दो
कोरोना संक्रमणको जालो टुटाउने सबभन्दा राम्रो माध्यम कन्ट्याक्ट ट्रेसिङ हो। कुनै व्यक्तिमा संक्रमण पुष्टि भएपछि उसको सम्पर्कमा आएका अरूहरूले सावधानी अपनाउने हो भने कोरोनाको संक्रमण डढेलोजसरी फैलिन पाउँदैन। तर बुटवलमा भेटिएका धेरै संक्रमितले आफूलाई संक्रमण भएकाले सचेत रहन सम्पर्कमा आएकाहरूलाई भन्दैनन्।
कोरोना संक्रमितको पहिचान सार्वजनिक गर्न नपाउने विश्व स्वास्थ्य संगठनको प्रावधान अनुरूप नेपालमा पनि संक्रमितको पहिचान गोप्य नै राखिने गरेको छ।
बुटवलमा संक्रमण पुष्टि भएका लुम्बिनी प्रादेशिक अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनाल, प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरी तथा बुटवल उपमहानगरपालिकाका केही कर्मचारीले आफूलाई संक्रमण देखिएको आफैंले पुष्टि गरेका छन् र सम्पर्कमा आएकालाई परीक्षण गराउन र सावधान अपनाउन भनेका छन्।
यसरी अरूलाई सचेत गराउनेको संख्या भने एकदमै न्यून छ।
आफ्नो सम्पर्कमा आएको मान्छेलाई कोरोना पुष्टि भएको थाहा नहुँदा लक्षण देखिएकाहरू त परीक्षण गर्न जान्छन्। लक्षण नेदेखिने संक्रमित भने संक्रमण बढ्नुको कारण बन्छन्। कन्ट्याक्ट ट्रेसिङ हुँदासम्म उनीहरूबाट भाइरस अरूमा सरिसक्ने सम्भावना ज्यादा हुन्छ।
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा कतिपय परिवारका सबै सदस्यलाई संक्रमण हुँदासमेत टोल छिमेकका अरू परिवारले थाहा नपाउने अवस्था रहेको बताउँछन्।
'यस्तो अवस्थामा लक्षण नदेखिएका संक्रमितका कारण बुटवलमा जोखिम बढेको छ,' उनले भने।