झट्ट हेर्दा खेतमा खेतालाहरू काम गरिरहे जस्तो देखिन्छ। तर ती मान्छे होइनन्, सारसको बथान हो।
खैरो र सेतो प्वाँख सपक्क समेटिएर बनेको चिल्लो शरीर, लामो घाँटी र अग्लो खुट्टा, सारस हेर्दै आकर्षक देखिन्छ। त्यसमाथि रातो र कालो टाउकोमा लामो ठुँड।
सारसको पहिचान यही हो।
जोडी र बथानमा बस्न रूचाउने सारस हेर्न केही वर्ष पहिलेसम्म लुम्बिनी विकास कोषभित्रको संरक्षित क्षेत्रमा घन्टौं पर्खिनुपर्थ्यो। अहिले विकास कोषभित्र मात्र होइन, वरिपरिका खेत र सिमसार क्षेत्रमा सारस चरिरहेका र खेलिरहेका देख्न सकिन्छ।
दुर्लभ पंक्षीमध्येको सारसका लागि लुम्बिनी आसपास स्थायी बसोबास क्षेत्र हो। यहाँबाहेक रुपन्देहीकै सियारी, मायादेवी, गैंडहवा, मर्चवार लगायत खेतका हरिया फाँटमा अहिले सारसका बथानै चरिरहेका भेटिन्छन्।
धान, तोरी, गहुँ खेतीमा लाग्ने फट्यांग्रा, झुसिलकीरा, पतेरासँगै गड्यौंला, भ्यागुता, शंखेकीरा र सिमसारमा उम्रिएका कमला वनस्पति, सारसले मन पराउने आहारा हुन्।
सिमसार क्षेत्रसँगै खेतीयोग्य जमिन भएकाले लुम्बिनी आसपास क्षेत्रमा सारस चरणका लागि पर्याप्त छ। कीरा खाइदिने भएपछि खेती पनि राम्रो हुने किसानहरू बताउँछन्। त्यस्तै सर्प पनि खाने भएकाले सारस बस्ने वरिपरि सर्प आउने र टोक्ने डर हुँदैन। त्यसैले सारसलाई किसानले साथीका रूपमा लिन थालेका छन्।
किसानहरूले सारसको महत्व बुझ्न थालेपछि यिनको संरक्षणमा लाग्न थालेका छन्। पहिले खेतबारीमा आउँदा लखेट्ने बालबालिकाले पनि अहिले सारस खेतमा चरिरहेको हेरेर रमाइलो मान्छन्।
सियारीका लक्षुराम थारू पहिले खेतमा सारस आउँदा लखेटे पनि अचेल केही नगर्ने बताउँछन्।
'धानमा लागेको कीरा खाइदिन्छ, सर्प पनि भाग्छन्। हामीलाई टोक्ने डर हुँदैन। हाम्रा लागि राम्रो हुन्छ भने किन धपाउने?' उनले भने।
चराविदहरूका अनुसार सारस समूहमै बस्ने र चरणमा जाने भए पनि यिनीहरू आहारका लागि झगडा गर्दैनन्। आफ्नो नजिक कुनै खतरा संकेत देखियो भने कराएर अरूलाई पनि जानकारी दिन्छ। समूहका सबै जम्मा भएपछि उड्छन्। खतराबाट जोगिन सारसले सिमसार, पोखरी वा तालका बीच घाँसपात जम्मा गरी गुँड बनाएर अन्डा पार्छ र ओथारो बस्छ। गुँडनजिक कुकुर, स्याल, मुसा गएको देखे जोडी मिलेर लखेट्छन्।
सारसलाई शान्ति र प्रेमको प्रतीक पनि मानिन्छ। सारसलाई गौतमबुद्धको जीवनसँग समेत जोडिएको पाइन्छ। किम्बदन्तीअनुसार गौतमबुद्धका दाइ देवदत्तले प्रहार गरेको वाण लागेर घाइते भएको सारसलाई उपचार गरेर सिद्धार्थ गौतमले जीवनदान दिएका थिए।
घाइते पंक्षीको प्राण बचाएकै कारण बुद्धको जीवनसँग जोडिएका नवलपरासी, रुपन्देही र कपिलवस्तुका सिमसार क्षेत्रमा सारसको मुख्य बासस्थान भएको विश्वास पनि गरिन्छ।
सारसको बासस्थान, उनीहरूको रहनसहन र प्रेमालाप अध्ययन तथा अवलोकन गर्न विभिन्न देशका चराविद तथा पर्यटक लुम्बिनी र कपिलवस्तु क्षेत्रमा आउँछन्।
उड्न सक्ने चरामध्ये सबभन्दा अग्लो सारस अहिले अन्डा पार्न र ओथारो बस्न व्यस्त छन्। विशेषगरी सारसले वर्षायाममा अन्डा पार्ने र एक महिनासम्म ओथारो बसी बच्चा कोरल्छन्। चल्ला कोरलेपछि पाँच-छ महिना माउसँगै बस्छन् भने त्यसपछि समूहमा गई जोडी बनाएर बस्छन्।
चराविद हेमसागर बरालका अनुसार सन् २०१६ को अनुमानित सर्भेमा नेपालमा साढे चार सयदेखि सात सय हाराहारी सारस भएको तथ्यांक थियो। यहाँ भएकामध्ये ८० देखि ९० प्रतिशत सारस लुम्बिनी क्षेत्र (नवलपरासी, रुपन्देही र कपिलवस्तु) मा मात्रै छन्।
यी जिल्लाका दक्षिणी क्षेत्रमा पर्याप्त सिमसार छ। सिमसार क्षेत्रमै गुँड बनाउने, अन्डा पार्ने, बच्चा कोरल्ने र त्यहीँ पाइने कीराफट्यांग्रा र वनस्पतिका जरा खान मन पराउने भएकाले यो क्षेत्र सारसका लागि उपयुक्त रहेको बराल बताउँछन्।
बरालका अनुसार सारसले आफ्नो जीवनकालमा एउटा मात्र साथी बनाउँछ। यसरी बनाएको जोडी कहिल्यै परिवर्तन गर्दैन। यतिसम्म कि कारणवश जोडीमध्ये एकको मृत्यु भयो भने अर्को साथी नबनाई प्राण त्याग्ने उनी बताउँछन्।
'सारस एक साथीमै जीवन बिताउने चरा हो,' उनले भने।
विश्वमै दुर्लभ मानिएका सारसको चोरी-सिकारी, प्राकृतिक रूपमा भइरहेको वासस्थान विनास, खेतबारीमा प्रयोग गरिने विषादी, विद्युतीय नांगा तार, संरक्षित क्षेत्रमा मानिसको धेरै आवतजावत तथा औद्योगिक प्रदूषणका कारण सारसको जीवन संकटमा परिरहेको छ। पछिल्ला वर्षमा सिमसार क्षेत्र मासिँदै जाँदा त्यसको प्रत्यक्ष असर कृषि उत्पादन, जीविकोपार्जनसँगै सारस जस्ता दुर्लभ चरामा पनि परेको छ।
ढल तथा प्लास्टिक र शिशाजन्य नकुहिने फोहोर सिमसारमा विसर्जन गर्दा र लुम्बिनी विकास कोषभित्रको संरक्षित जंगलमा बर्सेनि डढेलो लगाइँदा पनि सारसको बासस्थान संकटमा परेको छ। सारस संरक्षणका लागि लुम्बिनी तथा आसपासमा रहेका प्राकृतिक बासस्थान संरक्षण गर्नु नै पहिलो उपाय भएको बराल बताउँछन्।
'सारसलाई कृत्रिम रूपमा आरक्ष बनाएर संरक्षण गर्न सकिँदैन। सिमसारको संरक्षण, बालीनालीमा विषादी र रसायन प्रयोग रोक्ने तथा विद्युतीय तार व्यवस्थापन गर्नु जरुरी छ,' उनले भने।
सारस संरक्षणका लागि लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र स्थानीय युवा अचेल सक्रियताका साथ लागेका छन्। नगरपालिकाले सारसलाई नगरपंक्षी घोषणा गरिसकेको छ। तर घोषणा गरेर मात्र सारस संरक्षण हुन नसक्ने बरालको तर्क छ।
'नगरपालिकाले नगरपंक्षी घोषणा गर्नु सकारात्मक भए पनि स्थानीय समुदायसँग मिलेर काम नगर्दासम्म सारस संरक्षण हुन सक्दैन,' बराल भन्छन्, 'खेतका आली र कान्लामा पारेका सारसका अन्डा र चल्ला हुर्काउन सघाउने किसानलाई प्रोत्साहन व्यवस्था गर्न सके किसान आफैं सारस संरक्षणमा अग्रसर हुन्छन्।'
ग्रिन युथ क्लबका अध्यक्ष अर्जुन कुर्मी भने सारस विद्युतीय तारमा करेन्ट लागेर दुर्घटनामा पर्ने गरेका बताउँछन्। हरेक वर्ष १०-१२ वटा सारस करेन्ट लागेर मर्ने उनले बताए। यही साउनमा मात्रै लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ मा चार वटा सारस करेन्ट लागेर मरेको फेला परेका थिए।
त्यस्तै खेतीपातीमा प्रयोग गर्ने विषादी, रासायनिक मल तथा उद्योग कलकारखानाबाट निस्किने रसायन खाएर पनि मर्ने गरेको कुर्मीले बताए।
स्थानीय प्रल्हाद यादव भने सारस संरक्षणमा भनिएजति उपलब्धि नदेखिएको बताउँछन्। आधा दर्जन बढी संस्था सारस संरक्षणमा लागिरहे भए पनि त्यो अनुरुप काम नभएको उनले दावी गरे।
'आइयूसिएनले सन् २००५ मा गरेको गणनामा लुम्बिनी क्षेत्रमा २ सय जोडी सारस थिए। अहिले पनि त्यति नै छन्। यति धेरै संस्थाले अभियान सञ्चालन गर्दा पनि खोइ त संख्या बढेको,' उनले भने।
संरक्षणको अभियान सञ्चालनको १५ वर्ष अवधिमा सारस संख्या कम्तिमा दोब्बर हुनुपर्ने उनी बताउँछन्।
'कि त आधिकारिक रुपमा गणना गरिएको छैन। कि अन्डा र चल्ला चोरी रोकिएको छैन। होइन भने १५ वर्षसम्म एउटै संख्या कसरी हुन्छ,' उनले भने।
लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दीप गुप्ताले पछिल्लो समय सारस संरक्षणका लागि युवाहरू लागिरहेको बताए। अहिले गाईभैंसी चराउन र घाँसदाउरा गर्न जानेहरूले अन्डा चोर्ने क्रम घटेको पनि उनले बताए।
'सारसलाई गौतमबुद्धको पंक्षी भनिएकाल्खा नखाए पनि गुँड चलाउने, अन्डा खेलाउने काम गाउँघरतिर अझै यदाकदा सुन्न पाइन्छ,' सन्दीपले भने। गाउँघरका कुकुरले लखेटेर घाइते पनि बनाइदिन्छन्।
लुम्बिनीमा सारस संरक्षणका लागि विश्व वन्यजन्तु कोष, लुम्बिनी विकास कोष, ग्रिन युथ क्लब, लुम्बिनी क्रेन सेन्चुरी, अन्तर्राष्ट्रिय सारस आरक्षण, लुम्बिनी विकास मञ्च लगायतका संस्थाले अभियान चलाएका छन्।
त्यस्तै लुम्बिनी क्षेत्रमा रहेका सामुदायिक तथा निजी विद्यालय तथा मदरसाहरू गरी ३० वटा 'इको' क्लब गठन गरेर बालबालिकालाई सारस संरक्षण अभियानमा सहभागी गराउँदै आएको ग्रिन युथ क्लबका अध्यक्ष अर्जुन कुर्मीले बताए।
'पहिले गुँड भत्काइदिने, अन्डा र बच्चा चोर्नेहरू अहिले संरक्षणमा लागेका छन्,' कुर्मी भन्छन्, 'अचेल खेतमा चरिरहेका सारस हेरेर आनन्द लिन्छन्।'
चराविद बरालका अनुसार लुम्बिनी क्षेत्र सारस मात्रै नभई सबभन्दा धेरै चरा पाइने क्षेत्र हो। यहाँ अन्य चराको पनि बाक्लो बास रहेको उनी बताउँछन्।
कपिलवस्तुको जगदिशपुर, लुम्बिनी र नवलपरासीको सिमसार क्षेत्रमा मात्रै ४ सय २१ प्रजातिका चरा बस्ने र विभिन्न ५ प्रजातिका गिद्ध, लघु महाचिल, गोमायु महाचिल, रणमत्त महाचिल लगायत विश्वमै संकटमा परेका १८ प्रजातिका चरा लुम्बिनी क्षेत्रमै पाइने बरालले बताए।
त्यस्तै कोइली, भद्राई, कालो चिबे, मधुमक्षी, विभिन्न प्रजातिका बकुल्ला, भुँडीफोर, घोंगीफोर, लोभिपापी, हरिहाँस, बिजुलगैरे, सानो जलेवा, सावरी, कुर्मा, लालसर, बगाले सिं कुखुरा, लामोऔले, मरुल, जलअप्सरा, हुटिट्याउँ, टमटमे, आँसीठुडे, रातोमुनीया, छिर्केमुनीया, सुनचरी, माटोकोरे, कोकले, साइबेरीयन रुबि, रानीचरीलगायत लुम्बिनी क्षेत्रमा पाइन्छन्।
लुम्बिनी क्षेत्रमा कर्याङ–कुरुङ, लक्ष्मण, कालो टाउके सारस पाइन्छन्।
४० देखि ५० फिट उचाइमा उड्न सक्ने सारसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले सन् २००० मा दुर्लभ पंक्षीको सूचीमा राखेको थियो। प्राकृतिक रूपमा रहँदा ३० वर्षभन्दा धेरै बाँच्न सक्ने सारस वयस्क अवस्थामा पुग्दा ५ फिट अग्लो र १० किलोसम्म तौलको हुने गर्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सारस मार्ने वा अन्डा नष्ट गर्ने वा व्यापार गर्नेलाई १५ देखि ३० हजारसम्म जरिवाना वा तीनदेखि नौ महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।