तपाईंको मास्क खोई ? हेर्दा र सुन्दा सामान्य लाग्ने यो वाक्यको महत्व बुझाउन अहिले रुपन्देहीका युवाहरूले अभियान नै सञ्चालन गरेका छन्।
नेपालमा विगत ५ महिनादेखि फैलिइरहेको कोरोना संक्रमणबाट जोगिने सबभन्दा भरपर्दो र महत्वपूर्ण उपाय मास्कको प्रयोग नै हो।
सर्वसाधारणले घर वरिपरि, टोल छिमेक र पसलमा सामान खरिद गर्न जाँदा समेत मास्कको प्रयोगलाई बेवास्ता गर्दै आएका छन्।
कतिपय स्थानीय तहहरूले मास्कको घरबाहिर हिँड्दा र घरभित्रै पनि समूहमा बस्दा मास्कको प्रयोगलाई अनिवार्य गराउन मास्क नलगाउनेलाई जरिवाना समेत लिन थालेका छन्। तर पनि गाउँघरतिर मास्क लगाउनेहरू कमैमात्र हुन्छन्।
घर नजिकैको पसल त हो नि भन्दै तरकारी, दूध तथा दैनिक उपभोग्य वस्तु किनमेल गर्न मास्क नलगाई जाँदा कोरोना संक्रमणको झनै जोखिम हुने गर्छ।
यस्तै, जोखिम नहोस् भनी सर्वसाधारणलाई सचेत र सावधान बनाउन तिलोत्तमा र सिद्धार्थनगरका सामाजिक संघसंस्था तथा क्लबहरूले तपाईंको मास्क खोई भन्दै सार्वजनिक स्थानमा ब्यानर टांग्दै हिँडेका छन्।
तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको जागृति युवा क्लबले सडक किनार, विभिन्न सार्वजनिक चोक, प्रतीक्षालय, नगरपालिका, वडा कार्यालय लगायतका स्थानमा ब्यानर टाँगेर सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ।
क्लबले सडकमा मास्क नलगाई हिँडेका मानिसहरूलाई रोकेर मास्क समेत वितरण गर्दै आएको छ।
क्लबका अध्यक्ष विदुर केसीले मास्कको प्रयोगलाई मात्र बढाउन सकियो भने पनि कोरोना संक्रमण नियन्त्रण गर्न सहज हुने भएकोले यस्तो अभियान सञ्चालन गरिएको बताए।
कतिपय व्यक्तिहरू अटेर गरेर त कतिपयलाई अभावले समेत मास्कको प्रयोग गर्न नसकेको पाइएकाले वितरण गरिएको बताए।
कुनै पनि व्यक्ति तथा सरकारको एक्लो प्रयासले मात्र कोरोना नियन्त्रण गर्न नसकिने भएको र विपद् र महामारीको बेला सरकारलाई सघाउनु हरेक सचेत नागरिकको कर्तव्य भएकोले आफूहरूले नागरिक हुनुको कर्तव्य पालना गरेको बताए।
त्यस्तै, भैरहवामा रहेको लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले पनि टोलटोलमा पुगेर मास्क खोई भन्दै ब्यानर लगाउने गरेको छ।
क्लबका अध्यक्ष शिवनाथ गुप्ताले सबै क्षेत्रमा स्थानीय प्रशासनले लकडाउन घोषणा गरे पनि साँझ बिहान पसल र सडकमा निस्किँदा मास्कको प्रयोग गरेको नपाइएकाले सचेत बनाउन यस्तो अभियान सुरू गरिएको बताए।
उक्त क्लबले भैरहवाको अन्चलपुर, बर्मेलीटोल, लुम्बिनी रोड, मिलनचोक, मेउडिहवा मेडिकल कलेज, आँखा अस्पताल, देवकोटा चोक, जनकपथ, एयरपोर्ट, बसपार्क, बेलहिया जस्ता मानिसहरूको जमघट हुने ३० वटा स्थानमा ब्यानर टाँस्ने गरेको छ।
क्लबका सदस्य कमल रायमाझीले मानिसहरूको हेलचेक्र्याईंकै कारण दिनहुँ कोरोना संक्रमितको दर बढिरहेकाले मास्क नलगाई हिँडडुल नगर्न, स्यानिटाइजरको प्रयोग वा बेलाबेलामा हात धुन, व्यक्तिगत दूरी कायम गर्न आग्रह गर्दै सचेतनाका कार्यक्रम सञ्चालन गरिएको बताए।