सर्पको डसाइबाट दस वर्ष पहिले नै जेठो छोराको मृत्यु भएको थियो।
जेठो छोराको मृत्युको पीडा बिर्सिन नपाउँदै पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा-१७, देवगाउँ फूलभरियाकी रमावती सहनीको जीवनमा अर्को बज्रपात परेको छ।
जेठ १२ गते घरमै फलेको आँप टिप्न खोज्दा रूखबाट लडेका १६ वर्षीय कान्छो छोरा छोटु सहनी उठ्नै नसक्नेगरि थलिए।
आँपको रुखबाट लडेका छोटुको टाउकोमा गम्भीर चोट लागेको डाक्टरहरूले बताएका छन्।
रूखबाट लडेपछि त्यही दिन नै अस्पताल पुर्याए पनि मस्तिष्कमा चोट लागेका कारण छोटु बोल्न र उठबस गर्न सक्दैनन्।
बायाँतर्फको मस्तिष्कमा चोट लागेका कारण अप्रेसन गरिएको थियो। उनको दायाँ हर पनि चल्दैन।
एक महिनासम्म आइसियू र केही दिन भेन्टिलेटरमा राखेर उपचार गरियो। तर, छोटुमा सुधार आउन सकेन। अहिले पोष्ट अपरेटिभ वार्डमा उपचार भइरहेको छ।
लामो समय भेन्टिलेटरमा राखिएका छोटुलाई डाक्टरले अहिले घाँटीमा प्वाल पारी स्वासप्रश्वास लिन खकार निकाल्न सजिलो बनाइदिएका छन्।
तीन महिनासम्म पाइपबाटै झोलिलो पदार्थमात्र खान दिएका छोटुको शरीर सुकेर हाड र छाला भएको छ।
आमा रमावती तिनै सुक्दै गरेका हातखुट्टा मुसार्दै छोरालाई निको होस् भनी भगवान पुकारिरहेकी हुन्छिन्। उनलाई छोरा पहिलेको जस्तै तन्दुरुस्त होलाभन्ने आश मरेको छैन।
दैनिक सयौं बिरामी आउने र जाने गर्ने रूपन्देहीको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा को आउँछ र को जान्छ भन्ने अरूलाई खासै चासो रहँदैन।
तर, अस्पतालको सर्जिकल विभागको अपरेटिभ वार्डको १० नम्बर बेडमा पल्टिइरहेका छोटु र बेडको छेउमा रून्चे अनुहार लगाएर बसेकी रमावतीप्रति चासो नदिने भने त्यहाँ पुग्ने कमै मात्र हुन्छन्।
रमावतीसँगै उनकी छोरी अन्जनी पनि भाइको हेरचाह गरिरहेकी छन्।
बुवा ‘अमेरिका’लाई भने मजदुरी गर्ने र छोराको औषधी मुलो ल्याउनमै दिनरात बित्ने गर्छ। उनलाई छेउमा बसेर आमा रमावतीले जस्तो छोरालाई सुम्सुमाउने फुर्सद कमै हुन्छ।
‘छोराको उपचारका लागि पैसाको जोहो गर्न गाउँघर ओहोरदोहोर गर्दा नै ठिक्क हुन्छ,’ अमेरिकाले भने।
अमेरिका र रमावती दुवै ज्याला मजदुरी गर्न जान्थे। दुई वर्षअघि रमावतीको पाठेघरको अप्रेसन गरिएको थियो। त्यसपछि उनी अलि समय काममा जान पाइनन्। एक वर्ष पनि नबित्दै छोरीलाई पत्थरीको अपरेसन गर्नुपर्यो।
दुवैको उपचारमा त्यतिखेरै धेरै पैसा खर्च गर्नुपरेको थियो। काम गरेर जसोतसो जिन्दगी काटौंला भन्ने सोचिरहेका थिए। रमावती विस्तारै काममा जान थालेकी थिइन्।
तर, छोरा अस्पतालको बेडमा ढलेपछि उनी काममा जाने कुरै भएन।
तीन महिनासम्म छोराको उपचार गर्दा भएको जायजेथा सबै सकिएपछि अब भने अस्पतालबाट घरमै लगेर राख्ने योजनामा उनीहरू पुगिसकेका छन्।
छोराको उपचारको लागि अमेरिकाले भएको डेढ कट्ठा जमिन पनि बेचिसकेका छन्। जमिन बेचेको तीन लाख रूपैयाँ र ५० हजार ऋण खोजेर साढे तीन लाख जति उनीहरूले अस्पतालमा बुझाइसकेका छन्।
अस्पतालका अनुसार छोटुको उपचारमा अहिलेसम्म साढे सात लाख रूपैयाँ खर्च लागेको छ। उनीहरूले अझै चार लाख रूपैया बुझाउन बाँकी छ।
अस्पतालमा आउजाउ गर्दा कुरूवा बस्दा लागेको खर्चको त अमेरिकाले हिसाब-किताब नै गरेका छैनन्। यी सबै गाउँघरका छरछिमेकीसँग ५/१० हजार ऋण खोजेरै चलाउँदै आएका छन्।
ऋण उनले रकम जुटाउन सक्ने माध्यम केही छैन। अब सम्पत्तिको नाममा साढे दुई धुर जमिनमा बनेको कच्ची घर मात्र बाँकी रहेको अमेरिकाले बताए।
‘तीन महिनासम्म उपचार गर्दा भएको जमिन पनि बिक्री भयो, छरछिमेकीसँग ऋण खोजेको पैसा कसरी तिर्ने हो, न त सम्पत्ति रह्यो न त छोरालाई सन्चो भयो,’ अमेरिकाले सुस्केरा हाल्दै भने।
जति दिन लम्बियो अस्पतालमा बुझाउनुपर्ने पैसा त्यति नै थपिँदै गएको छ। त्यसैले, पनि उनी छोरालाई घर लिएर जान चाहन्छन्।
अस्पतालका सहायक वित्तीय नियन्त्रक सुरज पौडेलले आफूहरुले केही छुट दिने तयारी गरेको बताए।
‘हामीले छुट दिने तयारी गरेका छै त्यही भएर केही समय उपचार गरी ठीक भएपछि मात्रै घर लैजान उहाँहरूलाई सुझाव दिएको छु,’ उनले भने।
अमेरिकालाई अर्को पनि पिर छ। आफैंलाई हर्नियाको समस्या देखिएको छ। आफ्नो उपचार गर्नेबारे त उनले सोचेका छैनन्।