लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोभिड–१९ को द्रुत परीक्षण सेवा सुरू गरिएको छ।
सात वर्ष पहिलेदेखि नै पिसिआर मेसिनबाट क्षयरोगीहरूको खकार परीक्षण गर्दै आएको लुम्बिनी प्रादेशिक अस्पतालले सोही मेसिनमार्फत् कोभिड–१९ को परीक्षण सुरू गरिएको अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले जानकारी दिए।
नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत प्राप्त भएको जिन एक्सपर्ट मेसिनलाई अपडेट गरी कोरोना परीक्षण सेवा सुरू गरिएको अध्यक्ष भट्टराईले बताए।
क्षयरोगीहरूको परीक्षण हुँदै आएको जिन एक्सपर्ट मेसिनको कार्टेजसँगै बायोसेफ्टी क्याबिनेट थप गरी कोभिड- १९ को परीक्षण सुरू गरिएको अध्यक्ष भट्टराईले बताए।
शुक्रबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको स्वाब परीक्षण गरी उक्त मेसिनबाट कोरोना परीक्षणको सुरूआत गरिएको हो।
बुटवलमा कोरोनाका संक्रमितहरूको संख्या बढिरहे पनि परीक्षण भने सुस्त रहेको गुनासो आइरहेको बेला यो मेसिनबाट परीक्षण सुरू गरेपछि राहत मिल्ने विश्वास गरिएको छ।
अस्पतालका अध्यक्ष भट्टराईले इमर्जेन्सी उपचारको लागि अस्पतालमा आउने बिरामीहरूलाई लक्षित गरी यो सेवा सुरू गरिएको जानकारी दिए।
अब इमर्जेन्सीमा आएका र तत्काल उपचार गर्नुपर्ने अवस्थाका बिरामीहरूको उपचारको लागि यो मेसिनबाट परीक्षण सुरू गरिएपछि सहज हुने उनले बताए।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले कोरोनाको शंकास्पद बिरामीको स्वाब यो मेसिनबाट परीक्षण गर्दा ३० देखि ४५ मिनेटमा नै रिपोर्ट उपलब्ध हुने बताए।
खनालका अनुसार यो मेसिनबाट एक घण्टामा चार जनाको स्वाब परीक्षण गर्न सकिने छ।