कोरोना महामारीकै बीचमा रुपन्देहीका स्थानीय तह लालपुर्जाविहीनलाई लालपुर्जा वितरण गर्ने होडबाजीमा छन्।
गत आइतबार रुपन्देहीको सैनामैना नगरपालिकाले गाउँब्लकको जग्गामा बसोबास गरेकालाई लालपुर्जा वितरण गरेको थियो। सैनामैनाले पुस्तौदेखि बसोबास गर्दै आए पनि भूमिको स्वामित्व नभएका १ सय ८८ जनालाई लालपुर्जा वितरण गरेको थियो।
सैनामैनाका साविक पर्रोहा र सालझण्डी गाविस अन्तर्गत रहेका गाउँ ब्लकका झारबैरा, रन्यौरा, उछडीहवा, लेडुवा, पानवारी, दक्षिण दोगराका बासिन्दा गाउँब्लकको समस्यामा थिए।
सैनामैनाका नगरप्रमुख चित्र बहादुर कार्कीका अनुसार वर्षौदेखि खनजोत र भोगचलन गर्दै आएका करिब ५ सय जग्गाधनीलाई गतवर्ष पनि लालपुर्जा वितरण गरिएको थियो। अझै पनि साविक दुधराक्ष गाविसका वडाहरूमा अझै पनि वितरण गर्न बाँकी छन्।
सैनामैनासँगै बुटवल उपमहानगरपालिकाले पनि मंगलबारदेखि लालपुर्जा वितरण गर्न सुरू गरेको छ। मंगलबार बुटवल वडा नं. १५ का ४८ घरधुरीलाई लालपुर्जा वितरण गरिएको थियो।
बुधबार पनि बुटवल उपमहानगरपालिकाले वडा नं. १६ सेमलारका ७३ घरधुरीलाई लालपुर्जा वितरण गरेको छ।
बुटवल नगरप्रमुख शिवराज सुवेदीका अनुसार २०२६ सालभन्दा पहिलेदेखि नै बसोबास गर्दै आएका र २०२७ सालको नापीमा गाउँब्लकभित्र रहेकालाई लालपुर्जा वितरण गरिएको हो।
उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले निर्वाचनको बेला आफूहरूले जनता माझ गरेको घोषणा अनुसार काम गरेको बताइन्।
यस्तै, तिलोत्तमा नगरपालिकाले पनि बुधबार गाउँब्लकमा बसोबास गर्दै आएका ३९ घर परिवारलाई लालपुर्जा वितरण गरेको छ।
नापी भए पनि कित्ताकाट नभएका कारण जग्गाधनी पुर्जा पाउन नसकेका तिलोत्तमा वडा नं. १७ ठठरिहवा टोलका ३९ जनालाई बुधबार जग्गाधनी पुर्जा वितरण गरिएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए।
घिमिरेले तिलोत्तमाको वडा नं. १५ र १७ मा २०२५ सालमा नै नापी भए पनि त्यतिबेला कित्ताकाट नभएका कारण उनीहरूले जग्गाधनी पुर्जा पाउन नसकेको दाबी गरे।
यसअघि नापजाँचका क्रममा एउटै कित्तामा सिंगो गाउँ परेपछि कार्यालयले त्यस्तो जग्गालाई गाउँब्लक नामाकरण गरेर उपभोग गर्न दिएको थियो।
नगरप्रमुख घिमिरेले अहिले त्यही ब्लकबाट कित्ताकाट गरी उपभोगकै आधारमा क्षेत्रफल छुट्याएर पुर्जा उपलब्ध गराईएको बताए ।
जिल्ला मालपोत र नापी कार्यालयसँग समन्वय गरी ‘गाउँब्लक’ छुट्टिएका वडाका जनप्रतिनिधि र स्थानीयकै रोहवरमा कित्ताकाट गरी गाउंब्लकका जग्गाधनीलाई पुर्जा वितरण गरेको उपप्रमुख जगेश्वरी चौधरीले जानकारी दिइन्।
जग्गा रजिष्ट्रेसनको अधिकार स्थानीय तहमा आइसकेकाले स्थानीय तहहरूले आवश्यक तयारीसहित लालपुर्जा वितरणमा सक्रियता देखाएका हुन्।
तिलोत्तमाले यसअघि वडा नम्बर १५ को सखुवानी र १७ को बरौलिया टोलका बासिन्दालाई पनि लालपुर्जा प्रदान गरेको थियो।
५० वर्षदेखि बसोबास गर्दै आए पनि भूमिका स्वामित्व पाउन नसक्दा बेचबिखन तथा बैंकिङ कारोबार गर्न नपाएका परिवारहरू लालपुर्जा पाएपछि भने खुसी देखिन्थे।
तिलोत्तमा वडा नम्बर १७ का ज्येष्ठ नागरिक अयोध्या चमारले जग्गा उपभोग गरेको ५० वर्षपछि लालपुर्जा पाएको बताए।
पहिले नापी गर्दा गाउँबस्तीको घर जग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँब्लक जग्गाभित्र पर्ने गर्छन्। घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरूलाई स्थानीय तहहरूले नापी विभाग रुपन्देहीको सहकार्यमा जग्गाधनी प्रमाणपत्र वितरण गरेको बताएका छन्।