रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएका दुई जना सम्पर्कविहीन भएका छन्।
भारतबाट आएका उनीहरूले शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गराएका थिए।
शुक्रबार संकलन गरिएको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भए पनि उनीहरू भने अस्पतालको सम्पर्कबाहिर गएको बताइएको छ।
स्वाब परीक्षण गर्दा बुटवल उपमहानगरपालिका वडा नं ६ ठेगाना टिपाएका उनीहरूको अस्पतालमा दिएको मोबाइल नम्बरमा समेत सम्पर्क नभएको अस्पताल स्रोतले जनाएको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर राजेन्द्र गिरीले रिपोर्ट कोरोना पोजेटिभ आएपछि अस्पतालबाट गएको पहिलो फोन उठाए पनि रिपोर्ट पोजेटिभ आएको भन्ने बित्तिकै मोबाइल नलाग्ने गराएको बताए।
टेलिफोन उठाउने बित्तिकै बुटवलको गल्लामण्डीमा रहेको बताएका उनीहरू त्यसलगत्तै मोबाइल नलाग्ने गराएर सम्पर्कविहीन भएको गिरीले जानकारी दिए।
भारतीय सीमा क्षेत्रबाट दिनदिनै मानिसहरू आइरहँदा कोरोनाको जोखिम बढिरहेको बेला पोजेटिभ भेटिएका व्यक्तिहरू नै सम्पर्कविहीन भएपछि सर्वसाधारण त्रसित बनेका छन्।