एकैघरका चारजनाको ज्यान जाने गरि शुक्रबार साँझ गुल्मिमा गएको पहिरोको मुख्य कारण प्रावधिक अध्यनविना खनिएको सडक रहेको पाइएको छ।
पहिरोमा परेर रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ५ आटिपाटा निवासी ३० बर्षकी बिना बोटेमाझी, उनका ९ र ७ बर्षका दुई छोरा र १० महिनाकी छोरीको मृत्यु भएको थियो।
बम्घादेखी उल्लिखोला जाने खनिएको कच्ची सडकको छेउबाट खसेको ढुङ्गाले घर च्यापिएर उनीहरुको मृत्यु भएको स्थानीयले बताएका छन्।
सडक खन्दा छेउमा थुपारिएको माटो र ढुङ्गा अविरल वर्षापछि घरमा खसेको हो।
ठूलो ढुङ्गासहित माटो झरेर च्यापिएका चारै जनाको शवलाई राती नै निकालेर जनजागरण आधारभूत विद्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी जनकराज पन्तले बताए।
मृतक बिनाका श्रीमान राजु बोटे माझी रोजगारीको लागि भारतमा रहेको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए।