कपिलवस्तुमा मंगलबार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कपिलवस्तुमा कोरोना पोजेटिभ पुष्टि हुनेको संख्या ७ सय ९६ पुगेको छ।
कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार मंगलबार कोरोना पोजेटिभ पुष्टि हुने सबै शिवराज नगरपालिकाका रहेका छन्। शिवराज नगरपालिकाका २८ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको उनले बताए।
लामो समय कपिलवस्तुमा कोरोना परिक्षण गर्न रोकिएको थियो। यसअघि कोरोना शंकास्पद व्यक्तिको मात्र आरडिटी र पिसिआर परीक्षण गरिएको थियो।
प्रदेश ५ सरकारले समुदायमा कोरोना फैलिएको छ, छैन भनी नमुना परीक्षण गर्ने भनेपछि कपिलवस्तुमा पनि परिक्षण गरिएको हो।
कोरोना फोकल पर्सन थापाका अनुसार आइतबार विभिन्न क्वारेन्टिनमा रहेका र नमुना परिक्षणको लागि समुदायबाट गरि ८६ जनाको स्वाव संकलन गरिएको थियो। तिमध्ये ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएका मध्ये १२ जना भारतबाट, ४ जना दुबई, २ जना साउदी अरेबिया र ३ जना कतारबाट आई क्वारेन्टिनमा बसेका हुन्। बाँकी१३ जना भने समुदायबाट संकलन गरिएको स्वाव रहेको थापाले बताए।
उनीहरुको स्वाव परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको थियो। प्रदेश ५ मा कोरोना संक्रमितहरु निको भएर घर फर्किइरहँदा कपिलवस्तुमा संक्रमित भेटिनुले कोरोना संक्रमण समुदायमा फैलिएको आशंका छ।
कोरोना फोकल पर्सन थापाले समुदायमा कोरोना संक्रमण कुन अवस्थामा छ भनी पत्ता लगाउन समुदायस्तरमा परीक्षण शुरु गरिएको बताए।
कपिलवस्तुमा कोरोनाको सम्भावित जोखिम देखिएका महाराजगंज नगरपालिका र यशोधरा गाउँपालिकाका १/१ सय जनाको नमूना परीक्षण गरिने छ।
त्यस्तै कृष्णनगर नगरपालिकाभित्र भन्सार तथा सीमामा खटिने सशस्त्र र जनपथ प्रहरी २० जना, शिवराज नगरपालिकाको चन्द्रौटा बजारका ३० वटा पसल संचालक, कपिलवस्तु नगरपालिकाका मेडिकल र डाइग्नोष्टिक सेन्टरका २० जनाको पनि नमूना परीक्षण गरिने छ।
त्यसैगरी तौलिहवामा रहेका कम्तीमा ५ बैंकबाट १० जना र सुद्धोधन गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा फ्रन्टलाइनमा काम गर्ने २० जना कर्मचारी गरी कपिलवस्तुमा ३ सय जनाको नमूना परीक्षण गर्ने योजना रहेको थापाले बताए।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले समुदाय स्तरमा फैलिएको वा नफैलिएको पत्ता लगाउन ६ वटा जिल्लाबाट १२ सय नमूना संकलन गर्ने जनाएको छ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले समुदाय स्तरमा नमूना संकलन र परीक्षणको लागि स्वास्थ्यकर्मीहरुको टोली परिचालन भएको जानकारी दिए।
उनले समुदायस्तरमा कसरी नमूना संकलन गर्ने भनी ‘गाइडलाइन्स’ बनाएर जिल्लाहरुमा पठाइसकिएको बताए। चौधरीका अनुसार प्रदेशका तराईका पाँच वटा र पहाडी एउटा गरी ६ जिल्लाबाट १ हजार २ सय जनाको नमूना परीक्षण गरिने छ।
जसअनुसार पहाडको अर्घाखाँची र तराईका नवलपरासी, रुपन्देही, बर्दिया, कपिलवस्तु र दाङ जिल्लाबाट ‘रेन्डम स्याम्पलिङ’ रुपमा नमूना छनोट गरिनेछ।
यसरी नमूना संकलन गर्दा सर्वसाधारणको धेरै जमघट हुने स्थानहरु अत्यावश्यक वस्तुको विक्री गर्ने पसल, बैंकहरु, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीबाट नमूना संकलन गरिने मन्त्रालयले योजना बनाएको छ।