भैरहवाका सूर्यकुमार सारू मगर दैनिक ५० किलोमिटर साइकल गुडाउँछन्।
बिहान ५ बजे सुरू भएको उनको साइकल यात्रा ५० किलोमिटर पूरा गरेपछि ९ बजिसक्छ। सारुले साइकल चलाउन सुरू गरेको दुई वर्ष भयो।
सुरूका दिनमा १०/१५ किलोमिटरमात्र साइकल चलाउने उनले गत चैत महिनादेखि भने ४० किलोमिटर भन्दा बढी दूरी चलाउन थालेका छन्।
उनलाई देब्रे घुँडा दुख्ने समस्या थियो। साइकल चलाउन थालेपछि उनको घुँडाको दुखाइ पनि कम हुँदै गयो।
अहिले उनी कार्यालय जाँदा र भैरहवा बजारभित्र साइकलमै पुग्ने गर्छन्। साइकल चलाउन थालेपछि उनले आफूसँग भएको गाडी पनि विक्री गरिसकेका छन्।
लामो समयदेखि यातायात सेवामा आवद्ध सारू सिद्धार्थ बस व्यवसायी प्रालिका अध्यक्ष हुन्।
अहिले भने उनले ठूला बस छोडेर सहरी क्षेत्रमा साइकलको प्रयोगलाई बढाउने अभियानमा सक्रिय छन्।
मानिसलाई स्वस्थ बनाउने मात्र होइन दुर्घटनाको जोखिमलाई पनि कम गर्ने उनको अभियानको लक्ष्य छ।
सारूले भैरहवाका व्यवसायी, उद्योगी व्यापारी तथा अन्य सामाजिक क्षेत्रका व्यक्तिहरूको सहभागितामा साइकल सिटी भैरहवा गठन गरिसकेका छन्।
साइकल सिटीका अध्यक्ष समेत रहेका सारूले अब हरेक स्थानमा निर्माण हुने सडकमा साइकल लेन अनिवार्य गर्नुपर्ने भन्दै आवाज उठाउन थालेका छन्।
सारू नेतृत्वको साइकल सिटी भैरहवामा १ सय जना सदस्य पुगिसकेका छन्। तीमध्ये अधिकांश सदस्य दैनिक २० देखि ४० किलोमिटर साइकलमा यात्रा गर्छन्।
सोही समूहको दबावकै कारण भैरहवास्थित रणअम्बिका शाह आँखा अस्पतालदेखि पश्चिम तर्फको ३ सय मिटरको सडकमा साइकल लेन छुट्याइएको छ।
सहरी क्षेत्रमा घर निर्माण बढ्दै र सवारीसाधन थपिँदै जाँदा सडक साँघुरा हुन थालेका छन्।
साँघुरा सडकमा क्षमताभन्दा बढी संख्यामा गाडी गुडाउँदा ट्राफिक जाम बढ्दै गएको छ।
दुर्घटनाका घटना पनि बढ्दै गएका छन्। उनीहरूको अभियानले यसैलाई कम गर्न खोजेको हो।
‘हाम्रो अभियान कम्तिमा १५/२० किलोमिटरको यात्रा साइकलमा गरौं भन्ने हो, यसो गर्न सकियो भने सहरमा गाडीबाट निस्किने धुलोधुवाँको प्रदूषण घट्ने मात्र होइन ट्राफिक जाम र दुर्घटना पनि घट्दै जान्छन्,’ उनले भने।
नजिकैको पसलमा केही सामान किन्नु परे पनि गाडी लिएर जाँदा पार्किङको समस्या छ। सडकमै जोडेर बनाइएका व्यापारिक भवनमा पार्किङ गर्ने स्थान नभएपछि सडकमा पार्किङ गर्नुपर्छ।
सारूले अब उद्योगी व्यापारी, सामाजिक संघसंस्था मात्र होइन सरकारी कार्यालयहरूमा पनि गाडी र मोटरसाइकल पार्किङको लागि जस्तै साइकल स्ट्याण्डको पनि व्यवस्था गर्नुपर्ने बताउँछन्।
सारूजस्तै प्रेम पाण्डे पनि साइकलका सौखिन हुन्।
भारतको मध्यप्रदेश जवलपुरमा हुर्किएका पाण्डे दैनिक १० किलोमिटर साइकल चलाएर कलेज पुग्थे। दिनभरि पढेपछि उनी साइकल चलाएर घर फर्किन्थे। दैनिक २०/२२ किलोमिटर साइकल यात्रा गर्नु उनको लागि सामान्य थियो।
तर बुटवल आएपछि भने उनको दैनिकी फेरियो। सानो उमेरदेखि नै साइकलबाट सुरू हुने उनको दैनिकी मोटरसाइकल र गाडीबाट सुरू हुन थाल्यो।
साइकल चलाउँदा दिनभरि स्फूर्ति आउने उनको शरीरमा मोटरसाइकल र गाडी चढ्न थालेपछि आलस्यता आउन थाल्यो।
‘साइकल चलाउँदा यात्रासँगै शरीरको लागि व्यायाम पनि पुग्ने गथ्र्यो’,उनले भने।
मोटरसाइकल र गाडी चढ्न थालेपछि उनी मोटाउँदै जान थाले। लकडाउन सुरू भएपछि भने उनी फेरि १०/१२ वर्ष पुरानै अवस्थामा फर्किन थालेका छन्।
प्रेम अहिले दैनिक ४० किलोमिटर साइकल गुडाउँछन्। बुटवलबाट बिहान ५ बजे नै साइकल चलाएर मणिग्राम, देवदह, चरङगे, मूर्गिया तथा भैरहवा समेत पुग्ने गर्छन्।
दैनिक ३ घण्टा बढी साइकल चलाउने पाण्डेले लकडाउनकै अवधिमा ७ किलो तौल घटाएका छन्।
‘साइकल चलाउन थालेपछि सात किलो तौल घटेको छ भने शारिरीक स्फुर्ति पनि बढेको महशुस भएको छ,’ उनले भने।
‘१०/१२ वर्ष पछि अहिले साइकल चलाउन बानी पर्दै गएको छ अब यसलाई निरन्तरता दिने हो,’ उनले भने।
बुटवलका अशोक गुरुङले ३/४ वर्ष भयो साइकल चलाउन थालेको। यसअघि कहिलेकाँही साईकल चलाउन अल्छी गर्ने गुरूङले लकडाउनपछि भने यसलाई नियमित बनाएका छन्। चैत महिनादेखि यता दैनिक ४० किलोमिटर साइकल चलाउँछन्।
रूपन्देही जिल्ला साइकल संघका सल्लाहकार समेत गुरूङले साइकल चलाउनु स्वास्थ्यको हिसाबले मात्र नभई शान्ति, सद्भाव र आन्तरिक पर्यटन प्रवद्र्धनको लागि उपयुक्त माध्यम बन्ने बताउँछन्।
पछिल्लो समय बुटवलमा बढ्दै गएको साइकल यात्राको सुरूआत भने पुकार थापाले गरेका हुन्।
११ वर्ष पहिले अध्ययनको लागि बेलायत पुगेका थापा त्यहांका नागरिकबाट प्रभावित भएर साइकल चलाउन सुरू गरेको बताउँछन्।
सन् २०१२ मा बेलायतबाट नेपाल फर्किएका थापाले बुटवल आउने बित्तिकै साइकल किनेका थिए। सुरूमा गियर भएको सामान्य साइकल किनेका थापा अहिले महँगो मूल्यको माउण्टेन साइकल चढ्छन् ।
अहिले थापाकै अगुवाइमा बुटवल साइकल क्लब गठन गरी नियमित साइक्लिङ गर्ने युवाहरूको संख्या थपिँदै गएको छ। उनको समूहमा उद्योगी, व्यापारी, पत्रकार, कलाकार, खेलाडी समेत सहभागी छन्।
लकडाउनसँगै शारीरिक तन्दुरूस्तीका लागि व्यायाम गर्न उनीहरूले साइकल यात्रा गर्न थालेका हुन्। गियर र ब्राण्डेड साइकल चढेर हिँड्नेको संख्या लकडाउनसँगै बढेको छ।
सहरी साइकल यात्री बढेपछि बजारमा साधारण साइकल भन्दा महँगो मूल्यका सौखिन खालका साइकलको विक्री बढेको छ।
साइकल व्यवसायी महासंघका अध्यक्ष दया भण्डारीले साइकलको प्रयोग सबै प्रकारले सुरक्षित भए पनि साइकल यात्रीलाई हेयको दृष्टिले हेर्ने गरिएका कारण गाउँघरतिर अझै बढ्न नसकेको बताए।
सहरमा शोखका लागि दुई चार जनाले साइकल प्रयोग गर्दैमा साइकलको प्रयोग बढ्यो भनेर भन्न नसकिने उनी बताउँछन्।
रूपन्देहीमा साना ठूला गरी २ सय बढी साइकल पसल सञ्चालनमा छन्।
ती पसलमा बच्चा चढ्ने ४ हजार देखि साढे दुई लाख सम्मका साइकल विक्री हुन्छन्। तर पछिल्लो समय १५ हजारदेखि ५० हजार सम्मका गियर सहितका साइकलको विक्री बढी भएको भण्डारी बताउँछन्।
‘बिहान एक दुई घण्टा शारीरिक व्यायामको लागि साइकल किन्नेहरू बढे पनि साइकलबाटै जीविकोपार्जन गर्ने, कृषक, मजदूर, विद्यार्थी तथा व्यापारीहरूले भने साइकल चढ्न छोडेका छन्,’ भण्डारीले भने।
सहरका युवाहरूमा शोखको रूपमा फस्टाइरहेको साइकलको प्रयोग तराईका बासिन्दाको लागि भने वर्षौं पहिलेदेखि नै जीवनसँगै जोडिएको थियो।
लामो यात्राका लागि बस तथा अरू सवारी साधन भए पनि गाउँघर र जिल्लाभित्र आउजाउ गर्न साधन र साइकल थियो।
व्यापारीहरू साइकलमै सामान राखी बजारबाट गाउँ पुग्थे। गाउँघरका सर्वसाधारण पनि किनमेलका लागि सहर जाँदा साइकलकै प्रयोग गर्थे। तर अहिले सहरी क्षेत्रमा व्यायाम र स्वास्थ्यको लागि साइकल चलाउने बढ्न थाले पनि गाउँघरतिर साइकलको प्रयोग बढ्न सकेको छैन।
साइकलको प्रयोग मानिसको स्वास्थ्य, यात्रा र वातावरण संरक्षण सबै दृष्टिले सुरक्षित मानिन्छ।
इन्धनबाट चल्ने सवारी साधनले वातावरण प्रदूषण गरिरहेको अवस्थामा साइकलको प्रयोगलाई बढाउन सडकहरूमा साइकल लेनको व्यवस्था गर्न आवाज उठ्न थालेको छ।
उनीहरूले सहरभित्र साइकलको प्रयोगलाई प्रोत्साहन गर्न र साइकलका लागि उपयुक्त पूर्वाधार निर्माणका लागि स्थानीय सरकारलाई दबाव दिइरहेका छन्। त्यसका लागि बेलाबेलामा सचेतनामूलक र दबावमूलक साइकल र्याली आयोजना गरिरहेका छन्।
भैरहवा र बुटवलका साइक्लिङ क्लब तथा संस्थाहरूले समयमा कोरा साइकल यात्रा सम्पन्न गरेका छन्। बुद्ध र हिन्दू धर्ममा कुनै पवित्र तीर्थस्थललाई घडीको सुईंको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ।
सोही अनुसार गत शनिबार रूपन्देहीमा आयोजना गरिएको कोरा साइकल यात्रा बुटवल हाटबजारबाट सुरू गरी गोलपार्क, महेन्द्र पार्क, चाँदबारी, शिवनगर, चरङे, भलुही, शितलनगर, पाकरी वृक्ष, भवानीपुर, मणिग्राम, मंगलापुर, कुन्जपार्क हुंदै पुनः हाटबजारसम्मको ५० किलोमिटर यात्रा करीब ५ घण्टामा सकिएको थियो।