सुर्खेतको सिम्ता गाउँपालिका-८ निवासी एक युवतीमा आत्महत्यापछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा मृतक युवतीमा संक्रमण पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रमुख नवराज कँडेलले जानकारी दिए।
गाउँपालिका प्रमुख कविन्द्र कुमार केसीका अनुसार युवती गत असार १ गते रूखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
युवतीको शव अहिले मेलकुना अस्पतालमा रहेको र सेनाको टोलीले दाहसंस्कार गर्ने तयारी गरेको उनले बताए।
गत जेठ १२ गते युवती भारतबाट आएकी थिइन्। त्यसपछि गाउँपालिकाको क्वारेन्टिन बसाइँपछि उनी २६ गते घर गएकी थिइन्।
क्वारेन्टिनबाट घर पठाउन अघि गरिएको आरडिटी परीक्षण गर्दा नतिजा नेगेटिभ आएको अध्यक्ष केसीले जनाए। घर पुगेको केही दिनमा युवती परिवारको सम्पर्कबाट हराएकी थिइन्। त्यसपछि खोजी गर्ने क्रममा १ गते उनी रूखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।