बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका नौ जना कोरोनामुक्त भएका छन्। बुटवल–११ स्थित एन्फा एकेडेमीमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार डिस्चार्ज गरिएको हो।
कोरोना नतिजा नेगेटिभ आएपछि डिस्चार्ज हुने नौ जनालाई बुटवलका प्रमुख शिवराज सुवेदीले पुष्पगुच्छा प्रदान गर्दै विदाई गरेका छन्।
विभिन्न चरणमा गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएपछि विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम उनीहरुलाई डिस्चार्ज गरिएको प्रमुख सुवेदीले बताए।
घर फर्किएपछि एकहप्ता घरमा अलग्गै बस्न र पुर्ण रुपमा तन्दुरुस्त भएपछि समुदायमा कोरोनाबिरुद्धको सचेतना दूतका रुपमा काम गर्न सुवेदीले आग्रह गरे। उनले सन्तुलित आहारविहारलाई जारी राख्न पनि सुझाव दिए।
त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले आइसोलेशनबाट संक्रमण मुक्त भएर घरमा गएपनि त्यहाँ गएर अपनाउनुपर्ने स्वनियमका बारेमा जानकारी गराउँदै नियमित ज्वोरो नाप्ने थर्मोमिटर, मास्क, पञ्जालगायतका सामग्री प्रदान गरेका थिए।
आइतबार डिस्चार्ज हुनेमा कपिलवस्तुका आठजना र एकजना रुपन्देहीका छन्। उनीहरु संक्रमण पोजेटिभ देखिएपछि गत जेठ ११ गते बुटवलको आइसोलेशन सेन्टरमा भर्ना हुन आएका थिए। त्यसरी भर्ना भएकामध्ये सात जना भारतबाट फर्किएर आएकाहरु हुन्।
उनीहरुमध्ये दुई जनालाई सामान्य ज्वोरो देखिएपनि अरु कसैमा पनि कुनै लक्षण नदेखिएको आइसोलेशनमा खटिएका बुटवलका स्वास्थ्यकर्मीले बताएका छन्। दुई जना भने घरमै रहेका बेला संक्रमित भएको भन्दै बुटवलमा आएका थिए।
अब आइसोलेशनमा ३२ जना रहेका छन्। उनीहरुमध्ये केहीको दोस्रो चरणको परीक्षणमा पनि संक्रमण देखिएपछि अब फेरि अवधि पूरा भएकाले स्वाब संकलन गरेर परीक्षण गरिने बुटवलका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए।
आइसोलेशन सेन्टरमा रहेकालाई नियमित स्वास्थ्य जाँच गर्नुका साथै नियमित रुपमा योगा गुरुमार्फत योगा अभ्यास, ध्यान, नृत्य गराउनुका साथै सात्विक भोजन सेवन गराइएको थियो। यसको संयोजन आयुर्वेदिक अस्पताल बुटवलका वैद्य तथा योगगुरु बिष्णुहरी आचार्यले गर्दै आएका छन्।