प्रदेश ५ को अर्घाखाँचीमा पहिलो पटक दुईजना कोरोना संक्रमित फेला परेका छन्। तराईका सबै जिल्लामा कोरोना संक्रमण फैलिइरहँदा यो प्रदेशकाे पहाडी जिल्ला गुल्मीमा मात्र संक्रमण पुष्टि भएको थियो।
अर्घाखाँचीमा संक्रमित भेटिएपछि संक्रमित भेटिने प्रदेश ५ का आठ जिल्ला पुगेका छन्। तराईका छिमेकी जिल्लाहरु कपिलवस्तु, रुपन्देही र दाङमा दिनदिनै संक्रमितको संख्या बढिरहँदा अर्घाखाँचीले कोरोना नियन्त्रणको लागि जिल्लाका सीमा नाका सिल गरेको थियो।
गत जेठ २ गते भारतबाट फर्किएका पाणिनी गाउँपालिका वडा नं. ८ का दुईजनामा सोमबार साँझ कोरोना पुष्टि भएको हो। गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले कपिलवस्तुको कृष्णनगर नाका हुँदै भारतको रायबरेलीबाट गाउँ गएका दुई जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। रायबरेलीबाटै तीन, चार दिनको पैदलयात्रा गरी उनीहरू गाउँ पुगेका थिए।
गाउँ गएपछि पाणिनी वडा नं. ८ स्थित कमला मावि क्वारेन्टाईनमा बसेका १९ र ४३ वर्षीय दुईजना पुरुषमा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए।
'पाँच जनाको समूहमा रायबरेलीबाट ठाडासम्म पैदल हिँडेर आउनुभएका उहाँहरू ठाडादेखि घुम्तीसम्म एम्बुलेन्समा गई पुनः पैदलै हिँडेर गाउँ पुग्नुभएको थियो,' अध्यक्ष गौतमले भने।
ती संक्रमितलाई आज क्वारेन्टाइनमै छुट्टै कोठामा राखिएको छ। मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा रहेको आइसोलेसनमा लैजाने तयारी गरिएको गाउँपालिका अध्यक्ष गौतमले जानकारी दिए।
भारतबाट संगै आएर क्वारेन्टाईनको एउटै कोठामा बसेका अरु तीन जनामा भने रिपोर्ट नेगेटिभ आएको छ। उक्त क्वारेन्टाईनमा १२ जना रहेपनि सातजना तीन दिन अघि मात्र आएकोले उनीहरुको रिपोर्ट अझै आई नपुगेको अध्यक्ष गौतमले जानकारी दिए।
कोरोना पोजेटिभ देखिएका उनीहरूको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाब परिक्षण गरिएको थियो। पाणिनी गाउँपालिकाका विभिन्न स्थानमा बनाइएका ३० वटा क्वारेन्टाइनमा सोमबार साँझसम्म १ सय ८२ जना भारतका विभिन्न स्थानबाट फर्केकाहरू बस्दै आएका छन्।
यस्तै सोमबार साँझ गुल्मीका दुई जनामा पनि कोरोना पोजेटिभ देखिएको छ। जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. ४ जैसिथोकका उनीहरू दुवैजना ३६ वर्षका छन्।
त्यस्तै कपिलवस्तुको मायादेवी गाउँपालिकाका एकजना र अर्को एकजना कपिलवस्तु अस्पतालमा आएका बिरामी गरी दुई जनामा पनि संक्रमण पुष्टि भएको छ।
त्यस्तै रुपन्देहीका एकजनामा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। सोमबार साँझ प्रदेश ५ मा कुल ७ जनामा संक्रमण पुष्टि भएको हो।