अघिल्लो साता मेयर विद्यासुन्दर शाक्यलाई सम्बोधन गर्दै लेखेको लेखमा हामीले काठमाडौंको भित्रीसहर सवारीमुक्त गर्न टुँडिखेलमुनि विशाल भूमिगत पार्किङ निर्माण गर्न सकिने कुरा गरेका थियौं। (हेर्नुहोस्: प्रिय विद्यासुन्दरजी, आफ्नो छवि सुधार्ने यो मौका नगुमाउनुस्)
माथि हराभरा पार्क र मुनि पार्किङ बनाउने हो भने स्थानीय बसोबासी र मध्यसहर आउनेका लागि गाडी राख्न सहज हुने सहरी विकास योजनाकार पद्मसुन्दर जोशीको सुझाव थियो।
महानगरको सहरी योजना आयोगका अध्यक्ष सरोज बस्नेतले पनि भूमिगत पार्किङबारे छलफल भइरहेको बताएका थिए।
लेख छापिएपछि पार्किङको पर्यावरणीय प्रभावबारे धेरैले चासो देखाए — टुँडिखेल भनेको बर्खाको पानी सञ्चित भएर जमिन ‘रिचार्ज’ हुने ठाउँ हो। यहाँ जम्मा हुने भूमिगत पानीले काठमाडौंका इनार र ढुंगेधारा रसाउँछन्। हराभरा पार्क बनाउने भनिएको खुला मैदान भित्रभित्रै खनेर पार्किङ बनाउँदा भूमिगत पानीको सतह खल्बलिँदैन र?
झट्ट सुन्दा प्रश्न जायज छ। पार्किङ बनाउँदा कंक्रिट प्रयोग हुन्छ। गाडी छिराउन र निकाल्न जमिनमुनि खनेर ह्वाङ्गै पार्नुपर्छ। यसो गर्दा पानी कसरी सञ्चित रहला? त्यही पानीले काठमाडौंका इनार र ढुंगेधारा रसाउलान् भन्ने जुन सोच छ, त्यो कसरी पूरा होला?
यही प्रश्न लिएर म फेरि पुगेँ, जोशीकहाँ।
उनी दुइटा कारणले यो विषयसँग सम्बन्धित छन्।
पहिलो त, २०५४ सालमा केशव स्थापित काठमाडौं मेयर हुँदा उनी सहरी पूर्वाधार सुधार आयोजना प्रमुख थिए। त्यस क्रममा काठमाडौं मध्यसहर सवारीमुक्त गरेर टुँडिखेलमुनि पार्किङ बनाउने सम्भाव्यताबारे अध्ययन गरेका थिए।
दोस्रो, उनी भूमिगत जलस्रोत विज्ञ हुन्। उपत्यकाका ढुंगेधारा, इनार र पोखरीहरूमाथि अनुसन्धान गरेका जोशीले तिनको पुनर्स्थापनामा पनि काम गर्दै आएका छन्।
‘टुँडिखेलमुनि पार्किङ बनाउँदा भूमिगत पानीको सतह बिग्रँदैन?’ मैले सोधेँ।
जवाफमा उनले भने, ‘भूमिगत पानीको स्रोत जस्ताको तस्तै राखेर पनि पार्किङ बनाउन सकिन्छ। संसारमा यस्तो कामका लागि नयाँ–नयाँ प्रविधि विकास भएका छन्।’
यति मात्र होइन, जमिनको सतहमा जम्मा हुने पानी सोसेर पुनः प्रयोगमा ल्याउने प्रविधि विकास भइसकेको उनले बताए।
कसरी त?
जोशीले प्राविधिक पक्ष सम्झाए।
काठमाडौं मध्यसहरको भू–सतहमा कालो माटोको मात्रा बढी छ भने टुँडिखेलमा बालुवा बढी। यहाँ हामीले सोचेजस्तो हराभरा पार्क बनाउन सबभन्दा पहिला एक तह कालो माटो थप्नुपर्छ। त्यसमुनि बालुवाको तह हुन्छ। त्योभन्दा मुनि गिट्टी, जियोटेक्सटायल र अझ मुनि जियोमेम्ब्रेन राख्नुपर्छ। त्यसपछि बल्ल पार्किङको कंक्रिट सतह सुरू हुन्छ।
यहाँ हामीले दुइटा कुरा बुझ्नुपर्छ — जियोटेक्सटायल र जियोमेम्ब्रेन भनेको के हो र कंक्रिट सतह कसरी बनाउने?
जियोटेक्सटायल र जियोमेम्ब्रेन भनेको प्लास्टिकको लाम्चो पत्र हो। जसरी हामी बैठक कोठा सजाउन फराकिलो, लाम्चो गलैंचा ओछ्याउँछौं, त्यसैगरी यी दुई प्लास्टिकको पत्रलाई माटो, बालुवा र गिट्टीमुनि सर्रर बिछ्याइन्छ।
दुवैले फरक–फरक काम गर्छ। जियोटेक्सटायलबाट पानी चुहिन्छ तर माटो, बालुवा वा गिट्टीका कण छिर्दैनन्। एक किसिमले भन्दा यसले पानी ‘फिल्टर’ गर्छ। जियोमेम्ब्रेनबाट भने पानी पनि छिर्दैन।
अब यी दुई पत्रले भूमिगत पानी कसरी जम्मा गर्छ त्यो बुझौं।
टुँडिखेल सतहमा जम्मा हुने बर्खाको पानी माटो, बालुवाबाट सोसिँदै जब जियोटेक्सटायलसम्म पुग्छ, यसले ‘फिल्टर’ गरेर तल पठाउँछ। यसरी ‘फिल्टर’ भएको पानी जियोमेम्ब्रेनको तहमा पुगेपछि त्यहाँबाट तल जान पाउँदैन। त्यसैमाथि तैरिन्छ।
यति गरेपछि भूमिगत पानी जम्मा गर्ने काम सुरू हुन्छ। यसनिम्ति पार्किङको कंक्रिट छत भिरालो गरी बनाउनुपर्छ। मध्यसहरतिर ढल्काए बेस। यसले जियोमेम्ब्रेनमा जम्मा हुने पानी तर्काएर भोटाहिटी, न्यूरोड, सुन्धारा र लगनतिर लैजान सजिलो हुन्छ।
अब प्रश्न उठ्छ, यति ठूलो क्षेत्रफलमा जम्मा हुने बर्खाको पानीलाई कसरी सहरतिर मोड्ने?
यसका दुइटा उपाय छन्ः
पहिलो, जसरी हामीले टुँडिखेलको सतहमुनि जियोटेक्सटायल र जियोमेम्ब्रेन बिछ्यायौं, त्यसरी नै पानी जम्मा गर्न जमिनमुनि ठूल्ठूला ‘क्रेट’ हरू राख्न सकिन्छ।
तपाईंले कोकाकोलाका क्रेट देख्नुभएको छ? त्यस्तै ठूल्ठूला क्रेटलाई माहुरीको चाकाजस्तो फिँजाएर राख्ने हो भने जियोमेम्ब्रनबाट तर्केर आउने पानी जम्मा हुन्छ। त्यो पानीलाई जमिन भित्रभित्रै पाइपबाट आवश्यक ठाउँमा लैजान सकिन्छ।
दोस्रो उपाय हो, पानी जम्मा गर्न ‘रिचार्ज पिट’ वा खाल्डा खन्ने र त्यसलाई पाइपबाट आवश्यक ठाउँमा आपूर्ति गर्ने।
‘टुँडिखेलको भूमिगत पानी जम्मा गर्ने हो भने त्यही पानीले सुन्धाराको लुँहितिलाई पुरानै अवस्थामा फर्काउने सम्भावना छ,’ जोशीले भने।
अर्कातिर, यही पानीलाई पाइपबाट रानीपोखरी झारेर दीगो स्रोतका रूपमा उपयोग गर्न सकिने उनले बताए।
विकसित देशका ठूल्ठूला सहरले भूमिगत संरचना निर्माण गर्दा जमिनको पानीसतह नबिग्रियोस् भनेर यस्तै उपाय अपनाउन थालेका छन्। सडक निर्माण, ल्यान्डफिल साइट र पहिरो जाने ठाउँहरूमा पनि जियोटेक्सटायल र जियोमेम्ब्रेन व्यापक प्रयोग हुन्छ।
पार्किङको अर्को विकल्प पनि छ।
पुरानो बसपार्कमा बन्न नसकेको ‘भ्यू’ टावरको साटो बहुतले पार्किङ योजना बढाउन सकिन्छ। त्यहाँ गाडी रोकेर टुँडिखेलको हराभरा पार्क छिचोल्दै मध्यसहर छिर्नु आफैंमा आनन्ददायक यात्रा हुनेछ।
टुँडिखेलको जलभण्डार व्यवस्थापन भूमिगत पार्किङका सन्दर्भमा मात्र होइन, यहाँ बनाउने भनिएको खुला सार्वजनिक पार्कका सन्दर्भमा पनि उत्तिकै महत्वपूर्ण छ।
हामी पछिल्लो समय टुँडिखेललाई रंगशालादेखि रानीपोखरीसम्म एकीकृत विशाल पार्कमा परिणत गर्ने कुरा गर्दै छौं। यही उद्देश्यनिम्ति कात्तिक २३ बाट प्रत्येक शनिबार ‘अकुपाई टुँडिखेल’ अभियान सञ्चालन हुँदै आएको छ। रंगशालादेखि रानीपोखरीसम्म पार्क बनाएपछि टुँडिखेल वरिपरिको सवारी व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न आउँछ।
यसका तिनटा उपाय छन्ः
पहिलो, त्रिपुरेश्वर चोकदेखि रानीपोखरीको उत्तरपश्चिमी कुना कमलाक्षीसम्मको सडकमा सवारी निषेध गरेर पार्ककै अंग बनाउने। यहाँ सडकमुनि गाडी कुदाउने गरी ‘अन्डरपास’ राम्रो विकल्प हुन सक्छ। गाडीहरूलाई ‘अन्डरपास’ बाट लगेपछि माथिको सडकक्षेत्र पार्ककै हिस्सा हुन्छ, जहाँ मान्छे निर्वाध हिँडडुल गर्ने छन्।
दोस्रो, भद्रकाली मन्दिरतिरको सडकलाई ‘अन्डरपास’ मा लैजान सकिन्छ।
तेस्रो, भोटाहिटीबाट रत्नपार्क हुँदै बागबजार निस्कने र सुन्धाराबाट सहिदगेट हुँदै सिंहदरबार जोड्ने सडकमा त्यस्तै ‘अन्डरपास’ बनाउन सकिन्छ।
‘अन्डरपास बनाउँदा टुँडिखेलको भूमिगत पानीलाई माथि भनेकै तरिकाबाट व्यवस्थापन गर्न सक्छौं,’ जोशीले भने।
काठमाडौं मध्यसहरलाई सवारीमुक्त ‘सम्पदा सहर’ मा परिणत गर्ने र टुँडिखेललाई एकीकृत पार्किङ बनाउने सबैको सपना हो। यसनिम्ति पार्किङको विकल्पबारे सोच्नुपर्छ, जोशीले भने, ‘२०५४ सालमा यो योजना बनाउँदा हामीले खुलामञ्चमुनि मात्र पार्किङ बनाउने भनेका थियौं। अब आवश्यकताअनुसार टुँडिखेल पूरै वा दुवैतिरको सडक किनारमा लश्करै भूमिगत पार्किङ बनाउन सकिन्छ।’
'त्यहाँको जलभण्डार मासिएला वा बिथोलिएला भनेर चिन्ता नगरे हुन्छ।'