घोराही उपमहानगरपालिका वडा नं. १७ चौघेरास्थित गोरक्ष-रत्ननाथ मन्दिर परिसरमा एउटा इनार छ। सुरक्षाका लागि वरिपरि फलामे बार लगाइएको छ। चारैतिर बाक्लिएको घाँस र झाडी छिचोलेर इनार नियाल्न कठिन हुन्छ।
यही इनारबाट दिनहुँ अलिकति पानी निकालिन्छ। गोरक्षरत्ननाथ मन्दिरमा विशेष पूजा आराधनासँगै यही इनारको जल चढाइन्छ।
स्थानीयहरूका अनुसार यो इनार १२०० वर्षभन्दा पुरानो हो।
बिक्रम सम्वत् ८४९ सालतिर बनाइएको जानकारहरू बताउँछन्। गुरू गोरखनाथबाट शिक्षा–दीक्षा पाएपछि साधु बनेका दाङका राजा रत्ननाथको नाममा श्री सिद्धरत्ननाथ मन्दिर स्थापना गर्न लगाएको इतिहासविदहरू बताउँछन्। मन्दिर स्थापना भएपछि नियमित पूजा गर्न शुद्ध जल चाहिने भएकाले रत्ननाथले त्यति बेलै यो इनार बनाउन लगाएका हुन् भन्ने स्थानीय ८४ वर्षीय नारायणनाथ योगी दावी गर्छन्।
इतिहासअध्येता योगी नरहरिनाथले आफूलाई यसबारे जानकारी दिएको नारायणनाथ योगी बताउँछन्। रत्ननाथबारे नारायणनाथले किम्बदन्ती सुनाए-
हालको चौघेरा त्यति बेला घना जंगल थियो। थारू राजा रत्नपारखु एकदिन जंगलमा शिकार खेल्न गए। एउटा बँदेललाई बाण हाने। घाइते बँदेल भाग्यो। रत्नपारखु घोडा चढेर बँदेलको रगतको डोब पछ्याउँदै हिँडे। जंगलका बीचमा एक जना योगी धुनी बालेर बसेका थिए। उनको छेउमै घाइते बँदेल पनि। बँदेलको शरीरमा लागेको तीर धुनीमा गाडिएको थियो। रगत बगिरहेकै थियो। रत्नपारखु घोडाबाट ओर्लिएर आफ्नो शिकार बँदेल दिन जोगीलाई आग्रह गरे।
जोगीले मानेनन्। बरू सम्झाइ-बुझाइ गरे। 'कुनै पनि राजा मान्छे र सबै जीवजन्तुको पालक तथा संरक्षक बन्न सक्नुपर्छ' भने। तर राजा रत्नपारखुले शिकार गर्ने र जनावरको मासु खाने छुट धर्मले दिएको धारणा राखे।
ती योगीले 'उसो भए छाती, खुट्टा, मुख, पखेटा, र रगत-मासु नभएको जनावरको शिकार गर' भने। रत्नपारखु अक्कमक्क परे। योगीको भनाइको अर्थ थियो-काम, क्रोध, लोभ, मोह,अहंकार। यी पाँच चिजको राजाले शिकार गर्न सक्नुपर्ने योगीले बताएपछि रत्नपारखुले 'तिमी को हौ?' भनेर सोधे।
योगीले भने, 'म गोरखनाथ हुँ। शिव भगवानको अवतार।'
आफूसँग कुरा गरिरहेका जोगी गुरू गोरखनाथ भएको थाहा पाएपछि रत्नपारखु अचम्म परे। उनी गोरखनाथका चेला बने र दीक्षा पाएपछि सम्पूर्ण राजकाज र सम्पत्ति जनतालाई दिए। राजा रत्नपारखु रत्ननाथ योगी बने।
गोरखनाथले रत्ननाथलाई एउटा अमृत पात्र (भाँडो) दिएर त्यसको नित्य पूजा गर्न सुझाए। त्यही समयमा शुद्ध जल जाहो गर्न रत्ननाथले यो इनार खन्न लगाएको विश्वास गरिन्छ।
चौघेरास्थित गोरखनाथ मन्दिरमा गोरखनाथले रत्ननाथलाई दिएको त्यही पात्रको आजसम्म पनि नित्यपूजा हुँदै आएको छ। तर त्यो पात्र के-कस्तो छ भन्नेबारे कसैलाई थाहा छैन। यसबारे सोधीखोजी पनि कसैले नगरेको नारायणनाथ योगीले बताए।
पात्र वर्षमा एकपटक, हरिवोधिनी एकादशीको मध्यरातमा मन्दिरका मठाधीश र पीरले मात्र हेर्न पाउँछन्। मठाधीस र पीर हुन ब्रह्मचारी हुनुपर्छ।
'कसैले चाँदीको, कसैले सुनको कचौरा हो भन्छन्,' नारायणनाथले भने, 'एकपटक मैले एकजना पीरलाई सोध्दा उहाँले जोगीको सम्पत्ति अरू के हुन सक्छ, त्यही तुम्बा होला नि भन्नुभएको थियो।'
तुम्बा भनेको गोलो लौकाको भाँडो हो भन्ने अर्थ उनले लगाएका रहेछन्।
मन्दिरमा हरेक साल महास्नान चल्छ। त्यसमा पनि यही इनारको पानी प्रयोग हुन्छ।
यो प्राचीन इनार र मन्दिरमा २०७२ सालको भुइँचालोले क्षति पुगेको थियो। पुरातत्व विभागले पुनःनिर्माण गरिरहेको छ। नारायणनाथ योगी खुसी छन् तर पुरातात्विक महत्वको इनारको पनि संरक्षण तथा पुनः निर्माण गरिनुपर्ने बताउँछन्।
'प्यूठानको स्वर्गद्वारीको इतिहास जम्मा २ सय वर्षजति पुरानो छ। त्यसको त्यति महत्व छ। यो चौघेराको इनार र मन्दिरको इतिहास १२ सय वर्षभन्दा पुरानो छ। त्यसैले यसको संरक्षण अति आवश्यक छ,' उनले भने।
यो गोरक्षरत्ननाथ मन्दिरमा धेरै वर्षदेखि बाजाको तालमा दैनिक तीन घन्टा तान्त्रिक विधिबाट पूजा हुँदै आएको छ। नेपालमा यसरी पूजा हुने मन्दिर अन्त नभएको स्थानीयको दावी छ।
इनारनजिकै गलैंचीको रूख छ। रत्ननाथले पानीका लागि इनार र फूलका लागि गलैंची रोपेका जनविश्वास छ। गलैंचीसँगै मन्दिर परिसरबाहिरका केही वरपिपलका रूख पनि इनारजत्तिकै पुराना मानिन्छ।
यो जिल्लाकै सबभन्दा गहिरो इनार हो भन्ने दावी स्थानीय बुढापाकाहरूको छ।
'पातालबाट भाले बासेको सुनिएपछि इनार खन्ने क्रम रोकिएको भन्ने किम्बदन्ती छ,' नारायणनाथ योगीले भने।
इनारबाट घिर्नीको सहयोगमा पानी निकालेर देवीदेवताको पूजा हुँदै आएको छ। प्राचीनकालमा यही इनारको जल लगेर एक महिना लामो पैदल यात्रापछि तिर्थारूहरू काठमाडौंको पशुपतिनाथ पुगेर पूजा गर्ने चलन रहेको बताइन्छ।
स्थानीय ६५ वर्षीय श्रीधर घिमिरेका अनुसार यो क्षेत्रमा पहिले कतै इनार थिएन। कुनै समय त यो क्षेत्रका मान्छेको पिउने पानीको एक मात्र स्रोत यही इनार थियो।
सबै तस्बिर र भिडिओः नारायण खड्का