रोल्पाको होलेरी बजार नजिकै हेड मिस्त्री ५६ वर्षीय रनबहादुर पुन स्मारक निर्माणको काममा व्यस्त छन्। उनलाई कुरा गर्न फुर्सद पनि छैन। स्मारक असोजभित्रै सक्नु पर्ने चटारो छ जो छ।
रुन्टिगडी गाउँपालिका वडा ९ अन्तरगत पर्ने होलेरी बजारदेखि झन्डै १०० मिटरको दूरीमा स्मारक निर्माण कार्य भइरहेको छ।
सशस्त्र द्वन्द्वको समयमा गाउँपालिकाभरि मारिएका व्यक्तिको नाम लेख्न यहाँ स्मारक निर्माण गर्न थालिएको छ।
गत जेठ अन्तिमदेखि निर्माण कार्य सुरू भएको हो।
गाउँपालिकाको ३० लाख र प्रदेश सरकारको ३० लाख गरी ६० लाख बजेटमा स्मारक निर्माण भइरहेको छ।
जनयुद्धमा मारिएका करिब ६० जनाको नाम लेखिने हेड मिस्त्री पुनले बताए।
आज जुन स्थानमा स्मारक निर्माण भइरहेको छ त्यो स्थानमा कुनै बेला बबई प्रहरी चौकी थियो।
२०५२ साल फागुन १ गते यही चौकी आक्रमण गर्दै तत्कालीन माओवादीले सशस्त्र युद्धको सुरूआत गरेको थियो।
रोल्पाको होलेरीस्थित त्यही बबई प्रहरी चौकीमा फेरि २०५८ साल असार २९ गते राति माओवादीले झन्डै ३ दर्जन प्रहरीलाई नियन्त्रणमा लिएको थियो।