तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ भञ्ज्याङमा बिहीबार दिउँसै गोली चलेको छ। राप्ती राजमार्गअन्तर्गत अमेलीया–तुलसीपुर सडक खण्डको भञ्ज्याङमा गोली चलेको प्रहरीले जनाएको छ।
एक राउन्ड गोली चलेको खोका घटनास्थलबाट बरामद भएको छ भने जंगी राउन्ड (लाइभ बुलेट) समेत फेला परेको जिल्ला प्रहरी प्रबक्ता एवं डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।
भारतको रुपैडियाबाट यूपी ४० एबी ९११ नम्वरको कार बुक गरी आएको समूहले भञ्ज्याङमा आफुलाई लक्षित गरी ताकेर फायर गरेको साहलाई उदृत गर्दै प्रहरीले जनाएको छ। त्यो कार बुक गरेर ल्याउनेमध्ये नागापुर निवासी ४० वर्षीय मोहमद साहेवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रारम्भिक वयानअनुसार साहेवले गाडी बुक गरेर कारका चालक मेराज अली साहलाई रुपैडियाबाट सँगै ल्याएका थिए। बाँकेमा आएपछि कारमा थप तीन जना मधेसी मुलका मानिस पनि चढेका थिए। उनीहरु भने फरार रहेको प्रहरीले बताएको छ।
‘साहेवलाई घटनास्थल नजिकैबाट हामीले जंगलमै पक्राउ गर्न सक्यौं तर अन्य तीन जना भने फरार रहेको हुँदा खोजी कार्य जारी छ,’ डिएसपी शाहले भने।
जंगलमा सौच गर्ने भन्दै चालकलाइ गाडी रोक्न लागाएर बुक गर्ने समूहले गोली फायर गरेकाे देखिन आएको प्रहरीले बताएको छ। गोली फायर गरेर उनीहरुले गाडी चालक मेराज अली साहको साथबाट १५ हजार नगद पनि लुटेर लगेको प्रहरीले जानकारी दिएको छ। गाडी केही पर जंगलमा लक गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
‘सात हजार भाडामा उनीहरु गाडी बुक गरेर आएका रहेछन् , त्यो भाडा नतिर्न र चालकसँग भएको पैसा समेत लुट्नको लागि बुक गर्ने समूहले गाेली चलाएको जस्तो देखिन आएको छ,’ डिएसपी शाहले भने।
पक्राउ परेका साहेवले आफुले गोली नचलाएको तथा उनीहरुसंग हतियार छ भन्ने कुराको समेत आफूलाई थाहा नभएको वयान प्रहरीसमक्ष दिएका छन्। फरार रहेका व्यक्तिहरुको नाम भने प्रहरीले गोप्य नै राखेको छ।