बैंक म्यानेजरले ३५ जना नक्कली ऋणी खडा गरी १८ करोड हिनामिना गरेको खुल्न आएको छ।
आफूलाई फाइदा हुने गरी नक्कली ऋणी खडा गर्ने तथा सम्वन्धित व्यक्तिलाई थाहै नदिई एउटै व्यक्तिका ४/५ वटा सम्म बैंक खाता खोलेर रकम आफै निकाल्ने गरेको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
जिल्ला प्रहरी प्रबक्ता एवं डिएसपी विनोद विक्रम शाहले प्रारम्भिक अनुसन्धानले बैंक म्यानेजर आफैले गतल तरिकाले रकम झिक्ने गरेको तथ्य खुल्न आएको बताए ।
बैंकलाई नोक्सान हुनेगरी पैसा हिनामिना गरेको आरोपमा मंगलवार राति घोराहीको नारायणपुर बजारस्थितदेव विकास बैंकका म्यानेजर समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो।
‘बैंकको करिब १८ करोड रकम म्यानेजर बुढाथोकीले व्यक्तिगत रुपमा हिनामिना गरेको जस्तो देखिएको छ। यसका पछडि अरु पनि छन् कि भनेर हामीले अनुसन्धान थालेका छौं,’ शाहले भने।
घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुर निवासी २९ वर्षीय बुढाथोकी केही समय यता फरार अवस्थामा थिए। लुकिछिपी बस्दै आएका उनी जिल्लाको लमही बजारबाट पक्राउ परेको प्रहरीले बताएको छ।
देव विकाश बैंकले बुढाथोकीमाथि १७ करोड ९९ लाख ९० हजार रुपैयाँ अनियमितता गरेको अभियोग लगाएको छ । त्यसैको आधारमा प्रहरीले उनलाई खोजी गर्दै आएको थियो।
बुढाथोकीले बैंकको शाखाबाट कर्जा स्वीकृति नगराई ऋण प्रवाह गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ। गत असारमा मात्रै वेस्टर्न डेभेलपमेण्ट बैंक देव विकाश बैंकसँग मर्ज भएको थियो।
बुढाथोकी भने २०६७ सालदेखि वेस्टर्न डेभेलपमेण्ट बैंकमा कार्यरत थिए। पक्राउ परेका बुढाथोकी विरुद्ध बैंकिङ कसुर तथा सजाए ऐन अन्तरगत मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ।
उनलाई बुधवार नै उच्च अदालत तुलसीपुरको नेपालगञ्ज स्थित वाणिज्य ईजलासमा म्याद थपका लागि लगिएको छ। आर्थिक अनियमितता सम्वन्धि मुद्दा वाणिज्य ईजलासले हेर्ने हुँदा बुढाथोकीलाई बाँके लगिएको जिल्ला प्रहरी कर्यालय मुद्दा फाँटका प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए। प्रहरीले यति ठूलो रकम अपचलनमा बैंकका अन्य कर्मचारीको समेत मिलेमतो हुन सक्ने आशंका गरेको छ।