हजुरआमाका कथा
'हाम्रो बाजेले १८ वटा स्वास्नी ल्याको नि।'
'सबै एकै घरमा राखेको?'
'घरमा हैन, बाहिर बाहिरै। ल्याउँदै, छाड्दै। ल्याउँदै, छाड्दै। १८ जना स्वास्नी भएका थिए रे। अनि त जता गए पनि यो मामा, त्यो मामा। यो ठूलाबा, यो सानाबा भनेर चिनाउनु हुन्थ्यो।'
आफ्नो माइतीका हजुरबुबाको कथा सुनाउँदै थिइन्, नानीछोरी श्रेष्ठ।
उनका लागि यो कथा अचम्मलाग्दो थिएन। तरकारीमा नुन धेरै हालेकै निहुँमा श्रीमती त्याग्न र अर्की भित्र्याउन पाइने जमानामा। त्यसैले होला, उनी यो कथा सामान्य रूपमा सुनाइरहेकी थिइन्।
दोलखा, रजवास गाउँमा जन्मिएकी नानीछोरी ८७ वर्ष भइन्। ९० सालको भुइँचालोमा दुई वर्षकी थिएँ भन्छिन्।
दोलखामा जन्मिए पनि उनका आमाबुबा त्यहाँका पुराना बासिन्दा होइनन्। पाटनमा कुलघर रहेछ। बसाइँ सरेर त्यता पुगेका। नानीछोरीका बाबु नापीमा काम गर्थे। जागिरकै सिलसिलामा त्यहाँ पुगेका हुनसक्छन्। यकिन जानकारी भने उनलाई पनि छैन।
नानीछोरी १७/१८ वर्षकी हुँदा काठमाडौं, रणमुक्तेश्वरका पुरुषोत्तम श्रेष्ठसँग बिहेको कुरा चलेछ। पुरुषोत्तम नानीछोरीलाई हेर्न दोलखा पुगेछन्। उनलाई केटी मन पर्यो।
रजवास गाउँबाटै राँगा लगायत बिहेमा चाहिने सर्जाम नानोछोरीको पाटन मूल घरसम्म ल्याइयो। त्यहीँबाट उनीहरूको बिहे भयो।
बिहेपछि नानीछोरीलाई सहज भएन।
'बिहे गरेको पन्ध्र दिनमै अर्की बुहारी ल्याउँछु भन्नुभाथ्यो ससुराले,' नानीछोरीले गुनासो गरिन्, 'खुट्टा भए जुत्ता कतिकति रे!'
कारण जान्न चाहेँ, 'झगडा परेर भन्या कि यत्तिकै?'
'त्यही बेला सासू सुत्केरी हुनुभाथ्यो। बिहे गरे आएको १५ दिनमै सुत्केरी हेर्नुपर्यो। आफूले जान्ने हैन। सुत्केरी हेरेन, पकाएर खुवाएन भन्दै ससुराले गाउँले बुहारी भन्न थाल्नुभयो। पाटनको भनेर बिहे गरेको रे, गाउँमा हुर्केको थाहा पाएपछि त्यस्तो भन्या,' नानीछोरीले सुनाइन्।
'अनि के भन्नु भो त तपाईंले? ल्याउनु भन्नुभो?'
'केही पनि भनिनँ। चुप लागेर बसेँ। पछि हाम्फालेर मर्छु भन्दै इनारतिर गएँ।'
त्यो बेला महिलाले आफ्ना कुरा भन्न नसक्दा, दुःख सहेर बस्नुपर्दा ज्यानै माया मारेका धेरै घटना हामीले सुनेका छौं। नानीछोरी भाग्यमानी रहिछन्, यो घटनाबाट उम्किन सफल भइन्।
'माइती टाढा। घरमा यस्तो व्यवहार। मेरो कोही छैन, अब मर्न जान्छु, किन बाँच्नु भन्दै म तल गएँ। इनारमा एउटा बाल्टिन झ्याम्म खसालेँ। अनि तलै लुकेर बसिरहेँ। मान्छेहरू के भयो? भन्दै हेर्न आए। मलाई देखेपछि बजैहरूले 'के गरेर बसेको? माथी हिँड' भने,' नानीछोरीले आफ्नो विगत सुनाइन्, 'मैले जान्नँ भनेँ। उहाँहरूले छाड्नु नै भएन। कर गरेपछि माथि गएँ र चुप लागेर बसेँ।'
बिहेको १५ दिनमै एउटी नवविवाहिताले भोगेको त्यो अपमानको पीडा जीवनको उत्तर्राद्धमा समेत बिर्सेकी छैनन्, नानीछोरीले।
उनी सम्झन्छिन्, 'यति मात्र हो र, अर्की केटी मखन टोलमा छ भनेर कुरा पनि गरे। मैले पनि 'त्यो भए ल्याए भइहाल्थ्यो नि, किन मलाई ल्या?' भनेर गाली गरेँ श्रीमानलाई। श्रीमानले 'मलाई तैं मनपरेको' भन्नुभो। अनि हाम्रो माया बढ्यो नि!'
आफ्ना श्रीमानले माया गरे पनि ससुरासँग उनको एक वर्षसम्म बोलचाल भएन। नानीछोरीका ससुराको परिवारको कथा पनि हत्तपत्त सुन्न नपाइने खालकै छ।
उनका ससुराको बुबाको नाम नारायणप्रसाद भट्ट। पशुपतिमा पूजा गर्न भारतबाट बोलाइएका भट्ट खलक। पूजा गर्ने मन्दिर भाग लाउँदै जाँदा उनीहरूको भागमा रणमुक्तेश्वर महादेव मन्दिर परेछ।
नारायणले एक नेवार महिला मन पराएर बिहे गरेछन्। ती महिलालाई 'जात' का कारण भान्सामा हुलिएन। नारायणले 'वंश थाम्न' बाहुनी पनि बिहे गरेछन्।
आफूले मन पराएर ल्याएकी जेठीलाई भान्सामा बन्देज लगाएपछि नारायणले आफ्नो थर नै फेरेर 'श्रेष्ठ' राखेछन्। त्यति बेलादेखि नेवार (जेठी) श्रीमतीका सन्तानहरू 'श्रेष्ठ' भए। कान्छी श्रीमतीका सन्तान 'भट्ट' नै छन्।
यो पनि पितृसत्तात्मक समाजको एउटा उदाहरण हो। घरमूली पुरुषले चाहे तत्कालीन समाजले एउटै परिवारको दुइटा थर राखेर व्यवहार निप्टाउने रहेछ।
'अहिले पनि उताका भट्ट नै हुन्। उहाँहरू त्रिपुरेश्वर महादेव मन्दिरमा पूजा गर्नुहुन्छ। रणमुक्तेश्वर पनि हाम्रै परिवारले पूजा गर्नुहुन्छ, तर भट्टहरूले,' नानीछोरीका नाति परमेश्वरप्रसाद श्रेष्ठले भने।
बहुविवाह त चलनै थियो क्यार! बूढा ससुराको दुई बिहे, ससुराका पनि दुइटै। सोही चलनको आडमा धम्क्याउँथे ससुराले उनलाई।
'सुख थेन मलाई। ससुरा अर्की बुहारी ल्याउँछु भन्दै हप्काउने। कान्छी सासू पर्नेले एकपटक भर्याङबाट खसाल्दिइन्,' नानीछोरीले सुनाइन्, 'आफ्नी सासूले भने माया नै गर्नुहुन्थ्यो। हामी सासू-बुहारी मिलेर ढिकीमा चामल कुट्थ्यौं, घरका अरू काम गर्थ्यौं।'
दिनचर्या यसरी नै बित्ने रहेछ। फेरि बच्चा पाउनु र स्याहार्नु त मुख्य काम भैहाल्यो, महिलाहरूका लागि। नानीछोरीका १० सन्तान जन्मिए। तीमध्ये दुई जनाको मृत्यु भयो।
श्रीमान पुरूषोत्तम रणमुक्तेश्वरस्थित निर्मल माविमा पढाउँथे। त्यहीँको गुठीमा हिसाब हेर्ने काम पनि गर्थे। यसले नानीछोरीलाई आर्थिक समस्या भएन। तै उनलाई पीरले छाडेन।
ससुराले अर्की बुहारी ल्याउँछु भन्दा 'मलाई तैं मनपरेको' भन्ने श्रीमानले नै एकदिन नानीछोरीको विश्वास तोडिदिए।
नानीछोरीका जेठी र माहिली छोरीको बिहे भैसकेको थियो। नातिनीहरू पनि थिए। त्यति बेला उनलाई थाहा भयो, श्रीमानले अर्को बिहे गरेछन्।
श्रीमानले बिहे गरेकी अर्की महिला नानीछोरीकै बहिनी थिइन्। आफ्नै साली बिहे गरेर पुरूषोत्तमले धेरै समयदेखि बाहिर राखेका रहेछन्। बिहे गराउन नानीछोरीका माइततिरका केही नातेदारले नै सघाएका रहेछन्। श्रीमान र आफ्नी बहिनीबाट दुइटा बच्चा पनि भइसकेका रहेछन्।
यो थाहा भएपछि नानीछोरी विक्षिप्त भइन्। एकदिन बहिनी बिरामी परेको खबर पाइन्। मनमा जति रिस उठे पनि बहिनीको माया लाग्यो। उनको अवस्था देख्न नसकेर 'सौता' बनेकी बहिनीलाई घरमै ल्याएर राखिन्।
केही वर्षपछि बहिनीको मृत्यु भयो। बहिनीतर्फका दुई सन्तानलाई नानीछोरीले आफूसँगै राखिन्। आफ्नै छोराछोरीसरह माया दिइन्। ती छोराछोरीले पनि आफ्नै आमासरह माया दिएको नानीछोरी बताउँछिन्।
'छैठीमा भावीले धेरै दु:ख लेखिदिएको रहेछ,' उनले भनिन्।
यति हुँदाहुँदै नानीछोरीले हाँसेर बाँच्न बिर्सेकी छैनन्। कुराकानीमा उनको कथाभन्दा बढी हाँसो सुनियो। उनका कथाका वेदनाहरू त्यही हाँसोभित्र लुकेका थिए।
उनलाई श्रीमान र ससुराले त मन दुखाएकै थिए, अझ बढी पीडा आफ्नै कान्छी भाइ-बुहारीले दिएछन्।
छोराछोरी सानै थिए। एकाएक नानीछोरी माइती गइन् भन्ने सुनियो।
उनकी छोरी सलिना यो घटना यसरी सुनाउँछिन्, 'कुन साल याद छैन। हामी सानै थियौं। माँ मामाघर गा'छ भन्थे। चार दिनपछि बल्ल आउनुभो। आइसकेपछि माँले सुनाउनुभो, उहाँ त मामाघर हैन, धुलिखेलको जेलमा हुनुहुँदो रहेछ। चार दिनसम्म। यहाँबाट समातेरै लगेको रहेछ। बाहरूलाई समेत सुरूमा थाहा भएन। चार दिनपछि थाहा पाएर बाहरूले छुटाएर ल्याउनुभयो।'
सामान्य घर गरी खाइरहेकी नानीछोरी किन जेल परिन् त?
यो सबैमा नानीछोरीकी कान्छी भाइबुहारीको हात रहेछ। नानीछोरीले माइतीको सम्पत्ति खान लागिन् भनेर जेल हाल्न लगाएकी रहिछन्।
सलिना भन्छिन्, 'माइजू यहीँ जनबहालको। मन्दिरको ठ्याक्क पारिपट्टिको ठूलो बिल्डिङ छ नि, त्यहीँको। उहाँको माइती खलक हनुमानढोकामा पालो बस्नेहरू। अनि माइजूले मेरो माँलाई माइतीको सम्पत्ति ल्याएर यसो गर्यो, उसो गर्यो भनेर समात्न लगाएछ।'
आफ्नै भाइबुहारीले जेलमा चार दिन थुनाएपछि नानीछोरीको मन कुँडियो।
'त्यो भाइबुहारीसँग हाम्रो बोलचाल छैन। आउजाउ पनि छैन। त्यही चिन्ताले त्यो भाइ पनि बित्यो,' नानीछोरीले सुनाइन्।
आफ्नी दिदीलाई श्रीमतीले जेल हालेको थाहा पाएपछि नानीछोरीका भाइ निकै चिन्तित भएको सलिनाले सुनाइन्।
'त्यसरी थुनाउँदा भाइ यहाँ थिएनन् त?'
'त्यो बेला ऊ गाउँमा थियो। बुहारी यतै काठमान्डूमा। यता काठमान्डूबाट भनसुन गरेर थुनाएको नि! थाहा पाएपछि भाइ चिन्ताले मर्यो,' नानीछोरीले भनिन्।
सलिना थप्छिन्, 'कान्छा मामाले हामीलाई पनि एकदम माया गर्ने। दिदी भनेपछि हुरूक्कै हुने। त्यति माया गर्ने भाइ हुनुन्थ्यो माँको।'
माइतीको सम्पत्ति 'खाएको रे' भन्ने आरोपकै भरमा एक महिला जेल जानुपर्ने! आजका पुस्तालाई त कथै लाग्ला। ती हजुरआमाहरूले केही पढ्न-लेख्न जानेका भए यस्ता विभेदबाट मुक्ति पाउँथे कि? हजुरआमाका कथा लेख्दै गर्दा यस्ता प्रश्न दिमागमा सल्बलाउन छाड्दैनन्।
नानीछोरीलाई पनि सोधेँ, 'तपाईंले पढ्न लेख्न जान्नुभएको छ?'
'कहाँ पढ्नु। पढ्नुपर्छ भन्ने थाहा नि थिएन। गाउँमा कामै मात्र गरेर बस्यो। घरको काम, खेतबारीको काम, यस्तैयस्तै। बाउले पनि पढ्न दिएन, के गर्ने,' उनले भनिन्।
अब त उनी ती दिन सम्झन पनि चाहन्नन्। अहिले उनलाई 'हाइसुख छ' भन्छिन्। आठ वर्षजतिअघि उनका श्रीमान बिते। त्यतिबेलासम्म उनी श्रीमानसँगै बस्थिन्। अहिले आफ्ना चार छोराहरूसँग पालैपालो बस्छिन्। टेलिभिजन हेर्छिन्। रमाइलो मान्छिन्।
नाति डाक्टर परमेश्वरप्रसाद श्रेष्ठसँग उनको खुब कुरा मिल्छ।
भन्छिन्, 'नातिसँग गफ गर्न पाउँदा दिनै रमाइलो लाग्छ।'
यी हजुरआमाका कथा पनि पढ्नुस्ः
'मैले गीता पढ्दा महामारीले सबै मर्छन् भन्दै गाउँमा पञ्चायत बस्यो'
'श्रीमान कम्युनिष्ट भएकैले घर छाड्नुपर्यो'
'एकदिन यस्तो आउँछ, छोरी पाएकोमा समाजले खुसी मनाउनेछ'
८७ वर्षीया विष्णुकुमारीको मनमा अझै छ माओवादी त्रास
९० वर्षकी रत्नदेवी पुराना हिन्दी गीतमा श्रीमान सम्झन्छिन्
रजीया बेगम, जसलाई राजा त्रिभुवनले बनाइदिए मधु
रत्ना राई र शंकर लामिछानेको अमर प्रेम
‘आइतबार र बिहीबार महिलाले कपाल पनि कोर्न पाउन्न थिए’
पन्ध्र मिनेट दुरीको घर-माइती कहिल्यै एक्लै हिँडिनन् देवमाया
नयाँ दिन सम्झिन्नन्, पुराना दिन भुल्दिनन्
'रानी ऐश्वर्य 'नो' सुन्नै नसक्ने'
छोरीको मायामा लुपुक्क बुबाआमाले 'घर ज्वाइँ' खोजे