'आमा, यो पत्रिका पढ्नुस् त !' जमुना गुरुङकी कान्छी बुहारी रेणुले त्यसदिनको कान्तिपुर हातमा थमाउँदै भनिन्।
जमुना कनिकनि पत्रिकाको हेडलाइन पढ्न थालिन्।
'पत्रिका पढ्ने मात्रै होइन, उहाँको दिनचर्या बिहान ओछ्यानमै बसेर देवी-भागवत पाठ गरिसकेपछि मात्रै सुरु हुन्छ,' आमाको अगाडि बसिरहेका छोरा पुष्कर गुरुङले भने।
विक्रम सम्बत् २०७५ साउन २० गते पुष्करले आफ्नी आमाको एक सय वर्षको जन्मदिन केक काटेर मनाएका थिए। विसं १९७५ मा दोलखा जिल्लाको फस्कु गाउँमा जमुनाको जन्म भएको हो।
सय वर्ष पार गरिसकेकी जमुनालाई स्वास्थ्यको खासै समस्या देखिँदैन थियो। न खानपानमा। न यताउति डुल्न। केहीमा समस्या छैन। सिवाय बिर्सने बानी। उनको बिर्सने बानीले उनीसँग कुराकानी गर्दा छोरा-बुहारीसँगै थिए। उनले केही गलत भनेकी भए सच्याइदिन्थे।
एउटी सय वर्ष पुगिसकेकी गुरुङसेनी आमाले आफ्नो दिन सुरुआत देवी-भागवत पाठबाट गर्ने सुन्दा कान टाठो हुनु स्वाभाविक थियो। त्यसैले सोधिहालेँ, 'देवी-भागवत पाठ गर्न कसरी सिक्नुभयो त?'
'सिकेँ नि अब!'
'बाउले पढाउँथ्यो !' जमुनाले कड्किँदै जवाफ दिइन्।
जमुना बालखै हुँदा उनका बुबा लाहोर (उतिबेला भारत, हाल पाकिस्तान) गएर धेरै वर्ष बसेछन्। त्यहाँबाट फर्केर आएपछि संन्यासी भएछन्। बाबुले संन्यासी बन्ने बेला त्यति बेलाका ठूलै 'ब्राह्मण गुरू' बाट शिक्षा/दिक्षा लिएछन्। त्यसपछि, चण्डी, देवी, भागवत लगायत किताब कन्ठै पारेछन्। त्यो शिक्षाबाट उनकी जेठी छोरी जमुना मजैले प्रभावित भइछन्। त्यही शिक्षालाई गुरू शिष्यको उबेलाको परम्पराजस्तै गरी उनले निर्वाह गरिरहेकी रहिछन्।
उनका छोरा भन्दै थिए, घरमा पूजाआजा गराउन आउने पण्डितहरूले अलिकति तलमाथि गर्यो वा पाठ गर्दा शब्दहरू बिगार्यो भने जमुनाको रिसको पारामिटर माथि नै पुगिहाल्दो रहेछ।
जमुनाका बुबाका थुप्रै शिष्य थिए रे! बाहुन, क्षत्री, गुरुङ लगायत सबै थरका। उनीहरूलाई सिकाउँदा सिकाउँदै घरमा बसेर प्रवचन दिने र होम लगाउने गर्दागर्दै जमुना धार्मिक ग्रन्थहरू पाठ गर्न र धार्मिक कार्य, पूजापाठमा निपूर्ण भइछन्।
त्यसको प्रभाव जीवनको यो मोडमा आएर पनि रोकिएको छैन। अहिले पनि बगैंचामा कुनै बोटको पात देख्न हुन्न भनेर बुहारी भन्दै थिइन्।
अनि ती पात के गर्ने?
'फर्सीको बोटको पात होस् या कर्कलोको पात, देख्यो कि भगवानलाई चढाउने पाती भनेर टिपेर ल्याउँदै थुपार्नुहुन्छ,' रेणुको जवाफ।
सन् १९९० को दशक अगाडिको कुरा गर्ने हो भने, अलिकति चेतनशील र पढेलेखेका भनिनेहरूले पनि जात, जाति, संस्कृति आदिमा खास ध्यान दिएर आफूभन्दा फरक समुदायका विशेषता सिकेजस्तो लाग्दैनथ्यो। त्यस्ता कुरा आयो कि, परम्परागत सोचले दिमागलाई जकडी हाल्थ्यो।
ठ्याक्कै त्यही मनस्थिति राखेर प्रश्न गरेँ, 'तपाईं साथीहरूसँग रोदी बस्नुहुन्थ्यो?'
'कहाँ बस्नु रोदी? त्यो हाम्रोमा चलन छैन। रोदीको चलन पश्चिमका गुरुङहरूको हो,' जमुनाले भनिन्।
विशेषत: गुरुङ जातिमा प्रचलित राति निश्चित ठाउँमा ठिटाठिटीहरू भेला भएर गीत गाउने, ख्याल ठट्टा गर्ने लगायतको मनोरञ्जन कार्यक्रमलाई 'रोदी' भनिन्छ भनेर तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको वृहत् नेपाली शब्दकोशमा लेखिएको छ।
जमुनाका अनुसार, दोलखाका गुरुङहरू 'रोदी' बस्दा रहेनछन्।
त्यहाँका गुरुङहरूमा त्यतिबेला 'जात्रा' मा गएर रमाइलो गर्ने चलन भने प्रशस्तै रहेछ। जमुना पनि गोठपानी, भैंसे, शैलुङ्गको जात्रामा रातैभर गएर बस्ने रहिछन्।
उनी भन्छिन्, 'शैलुङ्गमा गाको। शैलुङ्गमा वन छ। वनभरि जुका लाग्थ्यो।'
जुकाले खान्थ्यो?
'किन नखाने,' उनी मज्जाले हाँसिन्।
अनि जात्रामा के के हुन्थ्यो? किन जानुहुन्थ्यो?
'जात्रा हेर्न जाने नि ! जात्रामा रक्सी, रोटी, चिया बेच्न ल्याउँछ। खानेकुराहरु त टन्न ल्याउने बेच्न,' उनले सुनाइन्।
'आफूले बुनेका राडी लैजानुहुन्थ्यो बेच्न?'
'हो ! एउटा राडी बेच्यो भने २२ रुप्पे आउँथ्यो!'
बाइस रुपैयाँमा बेच्ने राडी बनाउन भने उनले धेरै मेहनत गर्नुपर्ने रहेछ। त्यतिबेला २२ रुपैयाँ ठूलो हुन्थ्यो रे!
पहिले त घरका अरू धन्धा, खेतबारीका काम सबै सिध्याएर राडी बुन्न बस्यो। राडी बुनिसकेपछि त्यसलाई तातो पानीमा डुबाएर खुट्टाले बेस्सरी माड्यो। तातो पानीमा चोबलेर खुट्टाले माडेपछि माड आउँथ्यो। अनि राडी बाक्लो र राम्रो हुन्थ्यो रे।
अब त यस्ता घरेलु र कुटीर उद्योग बिलाएरै गइसके। मेसिनको कामले उनले गरेजस्तो मेहनतलाई खाइसक्यो।
हुन त अचेल पहिलाको जस्तो राडी व्यापार पनि हुँदैन। भेडाको ऊनबाट बुनिने राडी ओढ्ने, ओछ्याउने, त्यसका कोटजस्तो लुगा सिलाउने लगायतमा प्रयोग गरिन्थ्यो।
काठमाडौँमा पनि आफ्ना आमाबाबुको किरिया बार्दा मानिसहरू १२ दिनसम्म राडी र पाखी ओछ्याएर सुत्ने र त्यही ओढ्ने गर्थे। बुहारीहरू पनि सासू/ससुराको किरिया बार्दा राडी र पाखी मात्रै प्रयोग गर्थे।
त्यस्तो महत्वपूर्ण चिज बुन्ने सीप रहेछ जमुनासँग। ती सबै अब सपना भए। अब न राडी बुनेर खर्च जुटाउनुपर्ने जरुरत छ, न उमेर नै।
जमुनासँग रक्सी बनाउँदाको याद पनि ताजै छ।
गुरुङ समुदायको कतिपय कार्यमा नभई नहुने जाँड/रक्सी कसरी बनायो भने स्वादिलो हुन्छ भनेर बताउँदै थिइन् उनी।
रक्सी केको बनाउने? कोदो कि मकैको?, मैले जान्न चाहेँ।
'जेको पनि रक्सी हुन्छ !,' उनले सजिलो जवाफ दिइन्।
एकपटकमा कति बनाउने?
'पार्ने नि अब एक टिन, दुई टिन।'
ठेकामा (काठको ठेकी) होला नि?
'हैन हैन, एक पाथी जाने टिन।'
केमा लैजाने रक्सी?
'पोङ्गमा लाने।'
पोङ्ग भन्या कस्तो हुन्छ नि?
'माटोको भाँडो। सुरै (माटोकै भाँडो) नि हुन्छ। अनि घ्याम्पामा जाँड राख्ने,' उनले बुझाइन्।
तपाईंले के-केको जाँड बनाउनुभयो त?
'कोदोको, मकैको।'
अहिले नि बनाउनु हुन्छ?
'बनाउँछ। किन बनाउँदैन त।'
कसरी बनाउने?
'जेको (मकै, कोदो) बनाउने हो त्यसलाई पहिले केही नहाली पकाउने। अनि सेलाउने। सेलाएपछि मर्चा (अन्न कुहाउने) हालेर मोल्छ क्या ! मोलेर फेरि राख्छ। अनि बल्ल पो जाँड हुन्छ,' उनले जाँड विधि विस्तार लगाइन्, 'हामी खड्कुला भरिभरि पकाउँथ्यो। मसिनो धूलो बनाको एक बटुको मर्चा छरेर मोल्थ्यो नि।'
त्यसरी बनाएको जाँड मिठो हुन्छ?
'मिठो हुन्छ नि। गुलियो,' आफूले बनाएको जाँडको स्वाद उनले बिर्सेकी छैनन्।
जाँड खाएपछि त मात नि लाग्दो हो?
'लाग्छ नि! बनाएकै दिनको खाँदा त लाग्दैन। दुई चार दिनपछिको खाँदा भने झननन मातेर आउँछ,' उनले भनिन्।
हुनेखाने बाबुकी दुई छोरीमध्ये जेठी सन्तान जमुना घरकी प्यारी थिइन्। बुबाले अलग राख्न सकेनन्। त्यो जमानामा जमुनाको बिहे गर्न 'घर ज्वाइँ' बस्ने दुलाहा खोजी भयो। विवाहपछि भित्रिन मात्रै श्रीमानको घर पुगेकी जमुना माइती नै बसेकी रहिछन्। विवाह गुरुङ परिवारको रितअनुसार नै भएको थियो। केटी माग्न आउँदा, डालोमा रोटी, रक्सी लिएर आएका रहेछन्।
बिहेपछि श्रीमान नेपाली सेनामा जागिर खान हिँडेछन्। उनका श्रीमानले दोस्रो विश्वयुद्ध बेला बर्मामा लडेका रहेछन्। अवकाश पाएर फर्केपछि ससुराली फस्कुमै बस्न थालेछन्।
त्यही बसाइ क्रममा उनका श्रीमान र गाउँका कोहीसँग वादविवाद भएछ। उनलाई 'तँ घर जुवाइँ बस्ने!' भनिदिएछन्। त्यही अपमानको चोटले जमुनाका श्रीमान दोलखाबाट सर्लाही झरेछन्। सर्लाही जाँदा उनीसँग ३ सय रुपैयाँ रहेछ। त्यही पैसाले सर्लाहीमा सात बिघा जग्गा किनेछन्। जुन अहिलेको हिसाबमा लाखौं रुपैयाँको हुन सक्थ्यो। उनले केही समयमै त्यो बेचेर पर्साको ठोरीमा बसाइँ सरेछन्।
त्यो क्रममा जीवनयापनका लागि खेतीकिसानीदेखि, कुखुरा-बाख्रापालन गर्न भ्याइछन्, जमुनाले। यी सब उनका लागि नौलो त थिएन नै।
त्यो किन नौलो थिएन भन्ने ९० सालको भुइँचालोमा जमुनाको अनुभवले पनि बताउँछ।
'९० सालको भुइँचालोमा म त वनमा घाँस काट्न गएको थियो। ढुंग-ढुंग गरेको गरेको गर्यै! रुखको टुप्पा त भुइँमा छुँदै, उठ्दै,' उनले सुनाइन्, 'धन्न केही भएन।'
कति वर्षको हुनुहुन्थ्यो रे?
'म थिएँ होला १५/१६ वर्षको! सानामा म बाख्रा चराउन जान्थ्यो। बाख्राको पछिपछि नहिँडे अरूको बाली खान जान्थ्यो। सानामा रुख चढ्ने, बाँदर बन्ने सब गरियो। रुख चढ्न त सबभन्दा मै पहिला जाने। घाँस झार्नु पर्थ्यो नि। सुकेका हाँगामा बडो आँटले चढ्थ्यो।'
त्यो बेला घाँसदाउरा नगरी को बस्थ्यो होला र? दोलखाको पहाडी गाउँको अनुभवले उनलाई पर्सामा जीउन सिकाएछ, सायद!
जमुनालाई मायाको कमी भने महशुस नै भएनछ। बिहेअगाडि बाबुआमाको मायामा लुपुक्क छोरीलाई त्यसै 'घर ज्वाइँ' बस्ने केटा खोजिएको होइन।
श्रीमानले पनि मनग्गे माया गर्थे रे। त्यसैले मैले जिस्क्याउँदै सोधेँ, श्रीमानले धेरै माया गर्नुहुन्थ्यो?
'श्रीमानले त माया गर्ने भै गयो नि! नगरे त म बस्ने भए पो,' यति भन्दै उनी मज्जाले हाँसिन्।
नबसे कहाँ जानुहुन्थ्यो?
'माइत!'
तर उनी कहिल्यै श्रीमानसँग रिसाएर माइत जानु परेन। तीस वर्षअगाडि छोरासँगै काठमाडौं भने आइन्। जमुनाका एक छोरी र चार छोरा छन्। तीमध्ये एक छोरा दोलखामा, अर्का ठोरीमा र अर्का अमेरिकामा छन्। कान्छो छोरा पुष्करसँग उनी बस्दै आएकी छन्। जमुनाकी एक छोरी पनि आफ्नै हिसाबले बसेकी छन्।
जेठो छोराको उमेर नै ८० वर्ष पुगिसक्यो। एउटी आमालाई भने जति उमेरका भए पनि आफ्ना सन्तान भनेको बेला भेट्न नपाउँदा मनमा दुख: लाग्दो रहेछ। त्यो गुनासो कुराकानी क्रममा पनि रह्यो।
अझ, अमेरिकामा बस्ने माइला छोरा शम्भुसँग भेट नभएकोमा झनै धेरै गुनासो रहेछ।
भेट भएको छैन र? मैले सोधिहालेँ।
'कहाँ भेटाउनु। छोराछोरीको मन भिन्दै हुने रहेछ के,' उनले भनिन्,'छोडेर गएपछि सम्झँदै नसम्झने हरे!' उनी हाँसिन्। त्यो हाँसोको अनुभव मैले ठम्याउन सकिनँ।
'शम्भुका छोरा-नातिहरू ...................।'
धेरै पाका उमेरका बाबुआमाको पनि मन उनकै जस्तो छ। कान्छा छोरा-बुहारीको रेखदेखमा जीवनको सयौँ वर्ष पार गरे पनि अर्कोसँग भेट नभएको मन दुखाइ छ।
'जुन सन्तान टाढा हुन्छ, त्यही विशेष प्रिय हुन्छ' भन्ने भाव उनीभित्र छ-छैन, मैले बुझ्न सकिनँ।
यी हजुरआमाका कथा पनि पढ्नुहोस्ः