छोरी पढाउन हुन्न भन्ने जमानामा जन्मेकी हुन्, रत्नदेवी तुलाधर।
बिक्रम सम्वत् १९८५।
भोटाहिटीको दगुबहालमा जन्मेकी रत्नदेवीमा स्कुल जाने रहर पलायो। जमानाले रोक्न सकेन। उनी परिवारलाई थाहै नदिई मखनटोलको कन्या पाठशाला जान थालिन्।
रत्नदेवीको कदम समाजका आँखामा दुस्साहस थियो। उनका बुबा सेते तुलाधरले थाहा पाए। गाली गर्दै आमा हेरालानीसँगै घरमा भाइबहिनीको हेरचाह गर्न आदेश दिए।
घरको काम त छँदै थियो, फुर्सदको समय उनी बुबाको व्यापारमा सहयोग गर्न थालिन्। उनीहरूको कपडाको जुत्ता पसल थियो। चार दिन स्कुल गएपछि उनी त्यसैमा थन्किइन्।
रत्नदेवीका दाजुभाइ, दिदीबहिनी धेरै थिए।
'हामी १४ जना थियौं, म ९ नम्बर,' रत्नदेवीले आफ्नो परिवारको संख्या गन्दै भनिन्, 'पकाउने, भाइबहिनी बोक्ने, हेर्ने सबै गर्नुपर्थ्यो। बाहिर कतै जान पाइँदैन थियो।'
रत्नदेवी ९० वर्ष पुगिन्। उनको बिहे १६ वर्ष हुँदा भएको थियो। असन, धलासी बस्ने व्यापारी कुलरत्न तुलाधरका साहिँला छोरा कुलवीरसिं तुलाधरसँग। कुलरत्नको परिवार काठमाडौंबाट चीनको ल्हासासम्म पुगेर व्यापार गर्थ्यो।
रत्नदेवीका अनुसार उनका श्रीमान् कुलवीरको यो दोस्रो बिहे थियो। कुलवीर ६ वर्षको हुँदै ५ वर्षकी केटीसँग बिहे भएको रहेछ। एकाध वर्षमै उनलाई क्षयरोगले च्यापेछ।
बुहारीलाई रोगले च्यापेपछि ससुरालाई छोराको चिन्ता लाग्यो। केही गरी बुहारीको मृत्यु भए छोराले दुःखमा बस्नुपर्ला भनेर कुलवीरलाई कलकत्ता पठाइदिए।
त्यस्तो थियो उतिबेलाको समाज। पुरुषले बिहे गरेर ल्याएको श्रीमतीको समेत जिम्मेवारी लिनु नपर्ने!
आखिर ८ वर्षको उमेरमा श्रीमती बितिछन्। खबर पाएपछि कुलवीरलाई कलकत्ताको हाउडा नदीमा लगेर नुहाइधुवाइ गरी चोखो पारेछन्। र, ल्हासा पठाएदिएछन्।
नौ वर्षको उमेरमा ल्हासा गएका कुलवीर एकैपटक १३ वर्षको उमेरमा फर्किए। पछि फेरि उतै गए।
'१७ वर्षको उमेरमा उहाँ यतै फर्कनुभयो,' रत्नदेवीले सुनाइन्, 'फर्केर आएपछि उहाँसँग मेरो बिहे भयो। २००१ सालमा।'
उनी कुलवीरभन्दा ५ महिना मात्रै कान्छी थिइन्। व्यापारी खलकसँग बिहे भए पनि रत्नदेवीको जीवन सहज थिएन। कुलवीरको परिवारमा ल्हासा व्यापार हेर्न दाजुभाइको पालो लगाइएको रहेछ। एकपटक पालोमा परेकाले चार वर्ष ल्हासामै बिताउनुपर्ने रहेछ। कुलवीरका चार दाजुभाइ। उनको पालो चार वर्षमा एकपटक आउँथ्यो।
बिहे गरेको केही समयमै कुलवीरको पालो पर्यो। उनी ल्हासा जाने भए। त्यतिबेला काठमाडौं र ल्हासाको 'मिडप्वाइन्ट' कालिङपोङ थियो। कुलवीरले कालिङपोङमा रत्नदेवीलाई राखेर आफू ल्हासा हिँडे।
'त्यहाँ त एउटा घर बनाउन जग खन्दा खप्पर भेटिएको थियो। त्यस्तो ठाउँमा पनि नडराई बसेँ म,' रत्नदेवीले सुनाइन्।
श्रीमान ल्हासा हिँडे, उता आफूले पढ्न नपाएको पीडा सम्झेर रत्नदेवी छोराछोरीलाई पढाउन थालिन्। जेठो छोरा आनन्दलाई कालिङपोङकै सेन्टजोसेफ कन्भेन्ट स्कुलमा भर्ना गरिदिइन्।
'कालिङपोङमा वसन्ती बज्राचार्य (लोकदर्शन बज्राचार्यकी श्रीमती) को परिवार र हामी एकै घरमा बस्थ्यौं। भाडामा। वसन्ती कन्भेन्ट जान्थ्यो। मैले पनि मेरा बच्चाहरू त्यहीँ पढाउँछु भन्ठानेँ,' उनले भनिन्।
छोरा पढाउने सपना पूरा गर्न उनलाई सजिलो भएन। काठमाडौंमा उनका जेठाजुको छोराको बिहे छिनिएछ। ससुराले नाति आनन्दसहित रत्नदेवीलाई काठमाडौं झिकाए। त्यतिबेला आनन्द ८ वर्षका थिए।
काठमाडौं आएपछि थाहा भयो, ससुराले त नाति आनन्दको समेत बिहे गरिदिन केटी खोजिसकेछन्।
रत्नदेवीलाई पचेन। हिम्मतसाथ बिहेको विरोध गरिन्। भनिछन्, 'मेरो छोराको बिहे गराउन ल्हासामा बसेका उनका बुबासँग अनुमति माग्नू!'
'ससुराले सधैं मलाई आनन्दको बिहेको जवाफ देऊ, केटी हेरिसक्यो भन्नुहुन्थ्यो। हामी ससुरा-सासूसँग धेरै बोल्न नहुने। पहिला-पहिलाको चलन,' उनले त्यो बेलाको क्षण सम्झँदै भनिन्, 'मैले धेरैपटक हुँदैन भनेँ। विवाद नै भयो, तै मान्नुभएन। त्यसो भए ल्हासामा सोध्नुस्, त्यहाँबाट हुन्छ भन्यो भने हुन्छ भनिदिएँ।'
अनि आनन्दको बिहे गरियो त?
'गरेन नि। ससुरा मसँग धेरै रिसाउनुभयो। बित्ने बेलासम्म पनि बोल्नुभएन। म उहाँको अगाडि पर्नै हुन्नथ्यो। रिसाइहाल्ने। बिहान ढोग्न जान पनि डर लाग्थ्यो। अनि हामी चार जेठानी-देउरानी सँगै मिलेर ढोग्न जान्थ्यौं। अलि सहज हुन्छ भनेर।'
सासू नी?
'सासू त ठिकै। पहिले त सासूले पनि बिहे गरौं आनन्दको भन्नुभाथ्यो। मैले सानो बच्चाको किन बिहे गर्ने भनेँ। सासूलाई जवाफ दियो भने गाली खाइन्थ्यो,' उनले सुनाइन्।
छोराको बिहेभन्दा उसको पढाइ रत्नदेवीलाई ज्यादा महत्व थियो।
छोराको बिहे कति वर्षमा भयो त?
'धेरै पछि। ऊ २४ वर्षको हुँदा।'
कुलवीर चार-चार वर्षमा ल्हासाबाट आउँदा रहेछन्। आनन्द जन्मिएपछि ल्हासा गएका कुलवीर छोरा ३ वर्षको भएपछि आएका रहेछन्। पछि छोरी मीरा जन्मिइन्। रत्नदेवीलाई बच्चा काठमाडौंमा जन्माउनुपर्छ भन्दै परिवारले डाकेका थिए।
मीरा जन्मिएपछि कुलवीरको फेरि ल्हासा जाने पालो आयो। उनी फेरि चार वर्षपछि फर्के। पछि अर्का छोरा विनोद जन्मे।
रत्नदेवीकी छोरी मीराले ठट्यौली पारामा भनिन्, 'त्यही भएर हामी छोराछोरीका बीचमा चार-चार वर्षको फरक छ।'
उनी सानो छोरा विनोदलाई बोकेर आनन्द र मीरालाई डोर्याउँदै स्कुल पुर्याउन जान्थिन्। विनोद दुई वर्षको भएपछि बिसं २०१४ मा कुलवीर फेरि ल्हासा गए। ल्हासामा चीन र तिब्बतको लडाइँ भयो। ०१७ सालमा त्यहाँको व्यापार बन्द गरेर नेपाल फर्किए।
कुलवीर ल्हासा गएको अवधिभर छोराछोरीको सबै दायित्व, शिक्षादिक्षाको भार रत्नदेवीको काँधमा थियो।
त्यो समयमा एउटी महिलाले अदम्य साहससाथ ससुरासँग छोराको पढाइका लागि आवाज उठाउनु चानचुने कुरा थिएन।
काठमाडौं आएपछि उनले आनन्दलाई सेन्ट जेभियर्समा भर्ना गरिदिइन्।
'ससुरा त्यो बेला पनि खुसी हुनुहुन्थेन। नातिलाई अंग्रेजको जूठो पुरा खान पठाएको भनेर बोल्नै छाडिदिनुभयो,' उनले सुनाइन्।
सगोलमा बसेको परिवारमा ससुरा बुहारीको बोलचाल बन्द हुँदा कति गाह्रो भयो होला?
'गाह्रो भयो नि! आफूलाई पढ्नलेख्न नआउने। कुरा पनि राम्ररी गर्न नजान्ने। छोरालाई स्कुल लैजान पनि मान्छे खोज्नुपर्थ्यो।'
अनि खर्चवर्च नि?
'नातिलाई अंग्रेजको जूठो खुवाएको भनेर ससुराले पैसा दिनुभएन। श्रीमानले छिमेकको मान्छे ल्हासाबाट आउँदा पैसा पठाइदिनुहुन्थ्यो। पैसा नआएका बेला ठूलो जेठाजुसँग सापट लिन्थेँ।'
घरमा अरूसँग उनको कुनै समस्या थिएन। ससुरा मात्र उनीसँग रिसाएका थिए रे।
ल्हासा व्यापार रोकिएपछि उनीहरूको आर्थिक अवस्थामा प्रभाव पर्यो। तै रत्नदेवीको परिवारलाई एकैठाउँ बसेर गृहस्थी अगाडि लैजाने वातावरण भने मिल्यो।
०१७ सालमा ल्हासा पूरै छाडेर काठमाडौं आएको कुलवीरको परिवारले न्यूरोड, जनसेवाअगाडि 'नेपाल फेन्सी हाउस' खोले। परिवार छुट्टिएको थिएन। कुलवीरका चार दाजुभाइ मिलेर गरेको व्यापार राम्रै चल्यो।
पछि उनीहरूले होटल खोल्ने भए। कुलवीरले ब्लुस्टार होटल बनाउन सुरु गरे। उनका दाजुले पानोरोमा होटल चलाए। आज पनि ब्लुस्टार रत्नदेवीको स्वामित्वमा छ।
त्यो बेला कुलवीरलाई घरको काम र बालबच्चा स्याहार्न मात्र होइन, रत्नदेवीले हरेक पाइलामा साथ दिइन्। होटलमा सघाइन्।
बाह्र कोठाबाट सुरु भएको ब्लुस्टार होटल बनाउन रत्नदेवी हरेक दिन असनबाट कुलवीरसँगै रिक्सामा आउने रहिछन्। त्यहाँ सधैं दुवै जना मिलेर काम गर्ने रहेछन्।
'मा र बा सँगै रिक्सामा बसेर बिहान आउनुहुन्थ्यो,' छोरी मीरा ज्योतीले पुराना दिन सम्झिँदै भनिन्, 'होटलको कामको रेखदेख गर्नुहुन्थ्यो। कहिलेकाहीँ बा एक्लै रिक्सामा बस्नुहुन्थ्यो। त्यस्तो बेला पनि रिक्सावाला भने मा आउनुहुन्छ भनेर कुरेर बस्ने रहेछ। हिँड भनेपछि मात्र जाने रैछ।'
कुलवीर र रत्नदेवीको मिहिनेतले ब्लुस्टार ११४ कोठाको होटल भयो। यो होटल अहिले बन्द छ।
'श्रीमानले एकदम माया गर्नुहुन्थ्यो हो,' मैले उनीहरूको कथा सुनेपछि सोधेँ।
'हा हा,' उनी खुलेर हाँसिन् र भनिन्, 'एकदमै माया गर्नुहुन्थ्यो। सुरुमा टाढा-टाढा बसेका हामी पछि सधैं सँगै हुन्थ्यौं।'
झगडा पर्दैन थियो?
'त्यस्तो त कहिले भएन। सबैले परेवाको जोडी भन्थे हामीलाई।'
उनीहरूका पाँच सन्तान भए। छोरा हुर्के। व्यवसाय उनीहरूले नै सम्हाल्न थाले। अनि रत्नदेवी दम्पती समाजसेवामा लागे।
उनीहरूले तुलाधर परिवारमा विधि-व्यवहार भड्किलो नबनाउने नियम लगाएछन्। सबैले उनीहरू दुई जना (रत्नदेवी र कुलवीर) को अगुवाइ माने। बिहेमा यतिसम्म मात्र गर्ने, मृत्युमा नचाहिने विधि नगर्नेजस्ता कुरा समेटेर फाइलै बनाएछन्। त्यसमा सबैले हस्ताक्षर गरेर राखेको जानकारी छोरी मीरा र कान्छी बुहारी कमलकेशरी तुलाधरले दिए।
त्यो नियम तुलाधरहरूको सय जना जतिको परिवारले मान्दै आएको उनीहरूले सुनाए।
कसैको मृत्यु हुँदा मानिने परम्परागत नियम रत्नदेवीको परिवारले तोडेको छ। यो कुरा कुलवीर र आफूले इच्छापत्रमा लेखेको रत्नदेवीले सुनाइन्।
परिवारमा पहिले बुबाको मृत्यु भए ठूलो छोरा र आमाको मृत्यु भए सानो छोराले सबै कर्मकाण्ड गर्ने चलन रहेछ। रत्नदेवी र कुलवीरले भने आमाबुबाको कर्मकाण्ड दुवै छोराले गर्नुपर्ने चलन चलाएछन्। उनीहरूको इच्छापत्रमा पनि आमा वा बाबुको मृत्युमा दुवै छोराले शव उठाउने र दुवैले आगो लगाउने लेखिएको छ। आँखा दान गर्ने पनि लेखिएको उनले सुनाइन्।
रत्नदेवीका अनुसार इच्छापत्रमा मान्छे मर्दा छोरीहरू रुँदै जाने र रुँदै आउने परम्परागत नियम कटौती गरिएको छ। विधि व्यवहार सबै राम्रो ढंगले गरेर कर्मकाण्ड १३ दिनमा सक्ने भनिएको छ। यसका साथै वर्ष दिनसम्म दु:ख नबार्ने सल्लाह गरिएको रहेछ।
श्रीमानले यस्ता कुरा गर्दा तपाईंसँग छलफल गर्नु हुन्थ्यो?
'हामी दुवै सँगै बसेर सबै कुराको छलफल हुन्थ्यो। उहाँ भाषण गर्न जानुहुन्थ्यो। भाषणमा यो-यो भन्दैछु भनेर सुनाउनुहुन्थ्यो। केही छुटेको भए भन भनेर सल्लाह माग्नुहुन्थ्यो,' रत्नदेवीले आफ्ना दिवंगत श्रीमानप्रति स्नेहले सरोवर हुँदै भनिन्, 'मलाई पढाएर सुनाउनुहुन्थ्यो। केही मन नपरेको भए म भन्थेँ।'
उहाँ तपाईंको सल्लाह मान्नुहुन्थ्यो?
'मान्नुहुन्थ्यो नि।'
कुलवीरसिं तुलाधर आफ्नी श्रीमतीका हरेक कुरा गम्भीरपूर्वक लिन्थे भन्ने एउटा उदाहरण शोभाभगवतीको कर्णदीपमा मलामीको सुविधाका लागि बनाइएको स्थान पनि रहेछ।
एकदिन एक जना आफन्तको मृत्यु हुँदा ती दम्पती कर्णदीप परिसरमा रहेछन्। त्यसै बेला ठूलो हावाहुरी आएछ। मलामीहरू शव त्यत्तिकै छाडेर हावाहुरीबाट बच्न लाखापाखा लागेछन्। त्यो देखेर, उनीहरूलाई दिक्क लागेछ। फेरि अर्कोपटक पनि एक परिचितको शव त्यहाँ राखिएको रहेछ। शवमा झिँगा भन्किरहेको देखेछन्।
मान्छेको अन्तिम समयमा हुने यस्तो दृश्य देखेर रत्नदेवीले त्यहाँ व्यवस्थित ठाउँ बनाउन कुलवीरलाई अनुरोध गरिछन्। कुलवीरले मानिहाले। कर्णदीपको खुल्ला ठाउँमा छत बनाउन पहल गरे। काम पूरा गर्न भने साह्रै गाह्रो भएछ।
यी सबै विस्तारमा वर्णन गर्दै रत्नदेवी भन्छिन्, 'काम गर्न थाल्यौं। तर शव बोकेर मलामी आयो कि ज्यामीहरू डराएर भाग्ने। उनीहरू भागेपछि फेरि अर्कोदिन जाँदा त्यहाँ राखेको इँट्टा-सिमन्टी हराइसक्ने! साह्रै मुश्किल भयो। पछि हामी बूढाबूढी लठ्ठी टेकेर दिनभर बस्न थाल्यौं। रुँघेरै भए पनि बनाएरै छाड्यौं।'
अहिले कुलवीर बितिसके। रत्नदेवी त्रिपरेश्वरस्थित ब्लुस्टार होटल परिसरकै भवनको सबभन्दा माथिल्लो तलामा बस्छिन्। २०७२ वैशाख १२ गते भुइँचालो आउँदा रत्नदेवी यहीँ आफ्ना श्रीमानको हात समाएर सोफामा बसिरहिन् रे!
उनकी बुहारी कमल भन्छिन्, 'मालाई हामी बसेको ठाउँमा बस्न मान्नुहुन्न। दिउँसो छोराहरू अफिस आउँदा यहीँ ल्याएर राखौंला भनेको पनि मान्नुहुन्न। उहाँ यो ठाउँ छाडेर जान्न भन्नुहुन्छ।'
श्रीमानसँग मिलेर सजाएको यो घर उनी छाडेर जान सक्दिनन्।
'यो घरमा उहाँको सम्झना छ,' उनी भन्छिन्, 'म उहाँलाई सधैं आफू नजिक पाउँछु।'
छोराहरूको अफिस त्यही भवनको तल्लो तलामा छ। दिनभर परिवारको कोही न कोही सदस्य सँगै हुन्छन्। उनी दिनभर केही न केही कुरामा आफूलाई अल्झाएर व्यस्त रहन्छिन्। आँखा कमजोर भएकाले टेलिभिजन त्यति हेर्दिनन्। पुराना हिन्दी गीतका भने उनी फ्यान हुन्।
कालिङपोङ बस्दाका दिनमा मनोरञ्जनको साधन मात्र होइन, साथीसमेत बनेको हिन्दी सिनेमाको लत काठमाडौं आएर पनि छुटेको थिएन। उनी र कुलवीर प्राय: हरेक हिन्दी सिनेमाको पहिलो शोका दर्शक हुन्थे रे। अहिले पनि छोराछोरी उनलाई नभनी सिनेमा हेर्न जाँदा मनको सानो कुनामा चसक्क हुने उनी बताउँछिन्।
सिनेमा टाढा भए पनि गीतले भने उनलाई छाडेको छैन। त्यसैले छोरा विनोदले उनलाई, उनको जन्मदिनमा गीत सुन्न मिल्ने रेडियो उपहार दिएका छन्।
त्यो रेडियो हरबखत उनको अनन्य मित्र भएर बसेको छ।
उनी त्यसमा प्राय: पुराना हिन्दी गीत सुन्छिन्। कालिङपोङ ती दिन याद गर्छिन्। आफूले बाँचेको समयमा फर्कन्छिन्। जहाँ उनको हात समातेर गीत गुन्गुनाइरहेका हुन्छन्, कुलवीर।
हजुरआमाका कथा श्रृंखला :
रजीया बेगम, जसलाई राजा त्रिभुवनले बनाइदिए मधु
रत्ना राई र शंकर लामिछानेको अमर प्रेम
‘आइतबार र बिहीबार महिलाले कपाल पनि कोर्न पाउन्न थिए’
पन्ध्र मिनेट दुरीको घर-माइती कहिल्यै एक्लै हिँडिनन् देवमाया
नयाँ दिन सम्झिन्नन्, पुराना दिन भुल्दिनन्
'रानी ऐश्वर्य 'नो' सुन्नै नसक्ने'
छोरीको मायामा लुपुक्क बुबाआमाले 'घर ज्वाइँ' खोजे