हजुरआमाका कथा श्रृंखला
हजुरआमाका कथा खोज्दै यसपालि कुसुन्तीस्थित 'अरुणिमा वस्ती' पुगेकी थिएँ- ९५ वर्षकी इन्द्रमाया पौडेललाई भेट्न। उनी घामको राप पर्ने बिछौनामा थिइन्। मुखमा पानको बुजो थियो। आँखा किताबमा। यो उमेरमा यति घोरिएर उनी के पढ्दैछिन् भनेर नियालेँ। मदन पुरस्कार विजेता नीलम कार्की निहारीकाद्वारा लिखित 'चीरहरण' उपन्यास रहेछ।
आजभन्दा ९५ वर्ष अगाडि जन्मिएकी महिलाले किताबमा मग्न भएर आफ्नो समय बिताएको सितिमिति देख्न पाइन्न।
सोचेँ, उनी जीवनमा धोको पुग्ने गरी पढ्न पाएर हुर्केकी होलिन्।
कुराकानी पढाइबाटै सुरू गरेँ।
'मेरा पिताजी पण्डित हुनुन्थ्यो,' इन्द्रमायाले भनिन्, 'घरमै स्कुल खोल्नुभएको थियो। अरूलाई पढाउँदा, छोरीले पनि पढ्नुपर्छ, बुझ्नुपर्छ भनेर पढाउनुभएको।'
उनका बुबा पण्डित दामोदर खतिवडा। आमा तुलसादेवी। इन्द्रमायाको जन्म भारतको मणिपुरमा भएको हो। आमाबुबा दुवै सँस्कृतका ज्ञाता रहेछन्। सँस्कृत पढाउने स्कुल घरमै। आमाबाट सँस्कृत, बंगाली, हिन्दी भाषा जानिन्। पछि बर्मेलीसमेत सिकेकी रहिछन्।
'भनेपछि, सानैदेखि स्कुल पढ्न पाउनुभयो?'
'होइन नि। नौ वर्षकी थिएँ। आसामबाट आएका पौडेल बाहुनका छोरासँग बिहे भयो। बिहेपछि पनि पाँच वर्ष माइती नै बसेँ,' उनले सम्झिँदै भनिन्, 'त्यतिबेला हो मैले पढेको। एकदमै धरै पढ्थेँ। बुबासहित चार जना पण्डितहरूले पढाउनुहुन्थ्यो।'
उनका अनुसार घरकै सँस्कृत स्कुलमा एक समूह वेद पढ्थे। अर्को समूह व्याकरण। अनि अर्को भने ज्योतिष पढ्ने।
'ती विषय दिन छुट्ट्याएर पढाइन्थ्यो। यो दिन यो विषय, अर्को दिन त्यो विषय। जता जे पढाइ हुन्थ्यो, हामी त्यतै जान्थ्यौं,' उनले भनिन्।
'अनि त्योबेला वेद-ज्योतिष पढ्न दिन्थे त छोरीहरूलाई,' छोरीहरूलाई पढ्नसमेत बन्देज लाएको इतिहास सम्झेर सोधेँ।
'हाम्रो पिताजी राईलाई त वेद पढाउने मान्छे,' उनले बुबाको उदार विचार खुलाउँदै भनिन्, 'छोरी पढाउन के ठूलो कुरा। पिताजी अर्कै खाले विचारको हुनुन्थ्यो। पण्डित भए पनि देखिहाल्नुभो, प्रपन्नचार्यलाई वेद पढाइदिनु भो। त्यसैले हामीले पनि पढ्ने मौका पायौं।'
'उतिबेला त्यति धेरै पढेकी मान्छेको जीवन मजासँग बित्यो होला है,' पढ्न नपाएका महिलाहरूको दुःखदायी जीवन देखेकी मैले उनको जीवनमा पढाइले सुख दिएको भन्ठानेँ।
'त्यस्तो त कहाँ हुन्छ र, त्यो समयका अरू दुःख कम्ता हुन्थे र,' उनले भनिन्, 'भनेर साध्य छैन।
'मेरो बिहे धेरै भैंसी पाल्ने मान्छे बसेका ठाउँमा भयो। मान्छेहरू अनपढ थिए,' उनले अतीत सुनाइन्, 'एकदिन सूर्य ग्रहण थियो। मैले नुहाएर तुलसीका मठमा गीता पाठ गरेँ। ओहो, गाउँमा त पञ्चायतै बस्यो। 'मान्छे मर्ने बेलामा पढ्ने किताब पढी, अब सारा गाउँमा रुढी फैलिएर सप्पै मर्छन्। अलच्छिनी' भने मलाई। मैले गीता पढेकै कारण अलच्छिन लागो भने।'
कहाँ?
'बर्मामा। बिहेपछि हामी त्यहीँ बस्थ्यौं। माइतमा जस्तो पढ्न हुन्छ भन्ने कोही थिएनन्। एक्लै परेँ। ख्यापख्यापै पारे। उता तारुची र ताचङ भन्ने गाउँमा पण्डितहरू थिए। अनि मैले पञ्चायत बसाएकाहरूलाई 'तपाईंहरूमध्ये कोही कुनै दिन त्यहाँ पुगे पण्डितलाई सोध्नू। यसरी पढ्नु गल्ती हो भनेछन् भने मलाई गाउँबाट निकाले नि हुन्छ, जे सजाय दिए नि हुन्छ' भन्दिएँ।'
त्यो स्थितिमा ,'यति भन्न सक्नु साँच्चै आँट हो। मेरो खुल्दुली बढिसकेको थियो। सोधेँ, 'अनि के भयो?'
'एक जना वीरभद्र पौडेल भन्ने थिए। उनी अब गाउँ नै मर्ने भो भन्दै साह्रै रिसाएका थिए। जलप्रसाद ढुंगेल नामका पण्डितलाई भेटेर सबै सुनाएछन्।महामारीको डर पनि भनेछन्। पण्डितले पढ्न हुन्छ भन्देपछि कुरा सामसुम भयो,' अनुहारमा त्योबेलाको खुसी झल्काउँदै भनिन्।
पण्डित ढुंगेलले 'पढ्न हुन्छ' मात्रै हैन, 'धन्यवाद भन्दिनु ती आइमाईलाई। आएको महामारी पनि टर्छ गीता पढिन् भने' भन्देछन्।
'अनि त्योबेला श्रीमानले केही भन्नुभएन?'
'उहाँ त आफूले जाने पो भन्नु शास्त्रको कुरो,' गाउँका अरू झैं उनका श्रीमान कृष्णलाल पौडेलले पनि पढेका रहेनछन्।
गीता पढ्दा 'अलच्छिना' भन्ने गाउँले नै पछि इन्द्रमायाकहाँ आउन थालेछन्।
'चिठ्ठीदेखि बेहुलाको माउर (बिहेमा लैजाने पत्र) सम्म लेखिमाग्थे,' उनले सनाइन्, 'घर सर्ने साइत हेर्दे भन्दै आउन थाले।'
'गीता पढ्न जानेकै भरमा यति धेरै विश्वास गरे?'
'होइन नि। त्यो घटनापछि त्यहाँ (बर्मा) का नेपालीले सँस्कृत पढाउन एउटा स्कुल खोले। पढाउने मान्छे भएन। सँस्कृत पढेका विरलै भेटिन्थे। मैले म पढाउँछु भनेँ। तर कसैले पत्याएनन्,' उनले भनिन्।
गाउँले सँस्कृत पढाउने मान्छे खोज्न थालेछन्। कोही फेला नपेपछि 'जे होला, हेरौं न त' भन्दै इन्द्रमायालाई नै पढाउन भनेछन्। उनले आफूलाई सावित गरिदिइन्। करिब तीन महिना स्कुल गएर सँस्कृत पढाइन्। ज्योतिष शास्त्र पढेकै थिइन्। काम आइहाल्यो।
'पछि त सबै ढोग्न आउन थाले। मैले जे भन्यो त्यही हुन थाल्यो। उनीहरूलाई पनि मलाई सँस्कृत पढाउन आउने रहेछ भन्ने विश्वास भयो,' उनले मुस्काउँदै सुनाइन्।
मणिपुरमा जन्मिएर, आसामको केटासँग बिहे भएकी इन्द्रमाया बिहेपछि बर्मा पुगिन्। त्यतिबेला बर्मा 'छोरीहरूका लागि बिना रोकटोक बाँच्न पाउने देश थियो' भन्छिन् उनी।
'त्यो देश त छोरीकै राज्य हो। छोरी जन्मियो भने बाजा बजाएर खुसियाली मनाउँछन्। छोरी ज्वाँइकोमा पठाउने हैन, ज्वाइँलाई घर ल्याउँछन्,' आफू बर्मा बसेको समय उनले सविस्तार सुनाइन्, 'मेरो कर्मस्थल हो बर्मा। ४० वर्ष बिताएँ त्यहाँ। त्यो ठाउँमा आइमाई त राजै सरह हुन्छन् नि। उनीहरूलाई जिस्काउनु, चलाउनु हुँदैन।'
त्योबला बर्माको चलन नै त्यही भएको इन्द्रमाया सुनाउँछिन्, 'ज्वाइँ ससुराली बस्छन्। धेरै धनी केटाले धेरै पैसा तिरेर आफ्नै घर बस्यो भने मात्रै हो। चलन भने छोरीले ज्वाइँ ल्याउने नै हो। हामीकहाँ बुहारी ल्याएर घरको काम जिम्मा लाए जस्तै त्यहाँ ज्वाइँलाई काम गराउँछन्। ज्वाइँले खेती-किसानी गर्छन्। हलो जोत्छन्। छोरीहरू दोकान चलाउँछन्। व्यापार गर्छन्। जहाँ पनि जान्छन्। फुक्का छन् एकदमै।'
बर्मामा उनले धेरै समय बिताइन्। त्यो समयले उनलाई सुख र दुःख दुवै दिएको छ। केही यस्ता घटना छन्, जुन उनी कहिल्यै बिर्सिन्नन्। हो पनि, आधा शताब्दी पुराना दिनका कुरा उनी मलाई सुनाउँदै थिइन्।
'धावा (युद्ध) बेलामा साह्रै दु:ख भो। बर्मामा अंग्रेजको राज थियो। जापानी र अंग्रेजको धावा चल्यो। गोलीबाट बच्न खाल्डा खन्नुपर्ने। बाँसका झ्याङमा, आँगनमा। बंकर भन्थे ती खाल्डालाई। त्यहाँभित्र गोली आए माटामा जान्थ्यो। मान्छे सुरक्षित रहने। माथि मुढाहरू राखेर, माटाले पुरेर लहराहरू लाइदेको हुन्थ्यो। बाहिरबाट नदेखिने गरी। म त्यहीबेला सुत्केरी थिएँ। १४ दिन मात्र भएको थियो। बंकरभित्र उकुसमुकस हुन्थ्यो। खान राम्ररी नपाइने। बारीका केरा पकाएर खायौं। युद्ध भइराथ्यो। अनि अमेरिका आयो। सबै गाउँ नै उठाएर पामती भन्ने ठाउँमा भएको आरक्षणमा लगेर राख्यो।'
आरक्षणमा बसे पनि उनलाई सुख भएन। धेरै दुःख भएको उनी सुनाउँछिन्। खानाको अभाव थियो। तेल, चामल, आलु नापेर दिइन्थ्यो। सबै परिवारले बाँडेर खाँदा नपुग्ने। भर्खरै सुत्केरी भएकी इन्द्रमायालाई शारीरिक दुःख त भयो नै, मानसिक पनि थपियो। उनले आरक्षणमै हुँदा बच्चा गुमाइन्। त्यो दोस्रो विश्वयुद्धको बेला थियो। इन्द्रमायाका जस्ता धेरै परिवारले दुःख खेप्नुपर्यो।
'बेस्सरी दुःख पाको हो त्योबेला,' उनले सुनाइन्, 'त्यहाँबाट निक्लेर पहिल्यै बिहे भएको ठाउँतिरै बसियो। धावाले गर्दा धेरै घर भत्केका थिए। बाँकीमा क्याम्प बनेका। गाई-भैंसी पनि गोली लागेर मरे। खेतीपाती सबै गयो। फेरि नयाँ सृष्टि गरेर बस्यौं।'
पछि बुबाले इन्द्रमायालाई नेपाल बोलाए। उनी सपरिवार हिँडिन्। तर बर्मा छाड्दै गर्दा उनको जीवनले पनि मोड लियो। गाउँबाट इन्द्रमाया, उनका श्रीमान कृष्णलाल र उनीहरूका छोराछोरी हिँडेका थिए। राजधानी रंगुन आइपुगेपछि श्रीमान बिरामी परे। बाटामै उनको निधन भयो। इन्द्रमायाले रंगुनमै बसेर ४५ दिनको काम सकिन्। र, पाँच जना छोराछोरीका साथमा ४५ वर्षकी इन्द्रमाया नेपालको बाटो लागिन्।
कान्छी छोरी भर्खरै वर्ष दिनकी थिइन्। पौडेल दम्पतीका आठ सन्तानमध्ये बाँचेका पाँच जना थिए। नेपाल आउन भनेर छोराछोरी बोकेर इन्द्रमाया हिँड्न त हिँडिन्, श्रीमान कृष्णलाल भारतको आसाममा जन्मिएको भनेर नेपाल सरकारले बिना भिसा पस्न दिएन। उनी एक वर्षसम्म भारतको कलकत्ता बसिन्। श्रीमानको वर्ष दिनको काम पनि त्यहीँ सकिन्।
बिक्रम सम्वत् २०२५ मा भने उनी नेपाल आइन्। मोरङको चुनिबारी कल्याणपुरमा बस्न थालिन्। कल्याणपुरमा बर्माबाट थुप्रै मान्छे आएर बसेका रहेछन्। उनी पनि आफ्ना स-साना केटाकेटीका साथमा किराना पसल चलाएर बसिन्। त्योबाहेक अरूको जग्गा कमाउने, सँस्कृत पढ्न आउनेलाई पढाउने, यस्तैयस्तै गरेर जिविका चल्यो। यो बीचमा छोराछोरीको पढाइमा कुनै बाधा आउन दिइनन्। एकपटक कान्छी छोरीको ६ कक्षाको अन्तिम परीक्षाको शुल्क घरको जाँतो बेचेर तिरिछन्।
बर्मामा राम्रै घरजम गरेर बसेको परिवार किन यस्तो भएछ, मेरो जिज्ञासा स्वभाविक थियो। 'बर्माबाट आउँदा सम्पत्ति कत्ति पनि थिएन र?'
'त्यहाँको चलन यहाँको जस्तो थिएन। जग्गा किन्ने-बेच्ने पनि होइन। 'साइपियो' भन्ने व्यवस्था थियो। सायद त्यो कृषि सहकारी होला। साइपियोमा गएर मलाई यति जमिन चाहियो भन्ने हो। त्यहाँको २५ रुपैयाँ जम्मा गरेपछि जग्गा नापेर दिन्थ्यो। त्यसमा नातिपनाति, पुस्तौंपुस्ता बसे पनि कसैले केही गर्दैन। वर्षको ११ खजाना तिर्नुपर्छ त्यति हो। छाडेर हिँड्नु पर्यो भने त्यही साइपियोलाई बुझाउनु पर्छ। आफूले केही लिएर जान पाइन्न,' उनले बर्मेली चलन बुझाउँदै भनिन्, 'जमिन छाडेर हिँड्नेबेला त्यहाँ घर, फलफूल कस्ता छन्, इनार-धारा छ कि छैन भन्ने हेर्छन्। त्यसको चाहिँ पैसा दिन्छ। तर त्यो पैसा गाउँबाट राजधानी आइपुग्दै सकिन्छ। अनि कहाँबाट हुनु सम्पत्ति।'
इन्द्रमाया भारतमा जन्मिन्। ४५ वर्षको उमेरसम्म बर्मा बसिन्। बर्माबाट नेपाल आइन्। जन्म-कर्म थलो जहाँ भए पनि उनी आफूभित्र सधैं नेपालीपन भएको बताउँछिन्।
'विदेशमा हामी नेपालीलाई गोर्खाली भन्थे। नेपालमा हामी गोर्खालीलाई नेपाली नभनेर बर्मेली भन्थे। जसले जेसुकै भने पनि, जहाँ रहे पनि म जान्नेबुझ्ने भएदेखि मनमा नेपालीपन नै रह्यो। जहाँ बसे पनि नेपाली धर्म-संस्कृति मानेँ। पूरा जीवन नेपाली नै छ।'
चुनिबारीमा उनलाई धेरैले 'परिवर्तनको संवाहक र अभियन्ता' पनि मानेको उनले सुनाइन्। उबेलाको रुढीवादी समाजमा उनले ठूलै हिम्मत गरेकी रहिछन्। त्योबेला छोरीहरू पहिलोपटक रजश्वाला हुँदा २१ दिनसम्म अर्काको घरको अँध्यारो कोठामा थुनेर राख्ने चलन थियो। इन्द्रमायाकी कान्छी छोरी पहिलोपटक रजश्वाला भएकी थिइन्। उनले ५ दिनमै छोरीलाई स्कुल पठाउने हिम्मत गरिन्।
उनी भन्छिन्, 'मेरो पिताजी छुवाछुत मान्नु हुन्नथ्यो। म पनि त्यस्तै हो। हाम्रो गाउँका एक जना भक्त बहादुर भन्ने गोइन्ते कि छोरी गौतमले बिहे गरे। उनीहरूलाई सबैले हेला गरेर समाजबाटै बाहिर गरे। मेरो त छोरीको साथी थिइन्। भाइको छिमेकी पनि। भेट्न ग'को, दुइटै रोए। मैले खानेकुरो के छ, म खान्छु भनेँ। सखरखण्ड उसिनेर सबैले खायौं। उनीहरू कति खुसी भए। त्यो खुसी देखेर, समाजले भन्ने गरेको 'पाप' गरेँ भन्ने लागेन।'
'उसोभए, छोरीले राईसँग बिहे गर्दा हजुरलाई केही फरक परेन होला?'
'किन नपर्नु। खपिनसक्नु भयो नि। कति खेप बेहोस भएँ,' इन्द्रमायाले सुनाइन्। उनकी छोरी बिमला पौडेलले राई थरीसँग बिहे गरेकी छन्। बिमला योजना आयोगकी पूर्व सदस्य र हाल समानुपातिकबाट सभासद छिन्।
इन्द्रमायाका तीन छोरीमध्ये उनै एउटी बाँकी छिन्। दुइटी छोरी तीन वर्षको अन्तरालमा बितेको धेरै भएको छैन। जेठी छोरी बिक्रम सम्वत् २०७२ को भुइँचालोको अघिल्लो दिन अकस्मात बितिन्। अर्की छोरीको पनि क्यान्सरको कारणले मृत्यु भएको धेरै भएको छैन।
उनका बुबा प्रपन्नचार्यलाई पढाउने, उनी आफैं गाउँमा छुवाछुत हटाउन पर्छ भनेर हिँड्ने तर आफ्नै छोरीले राईसँग बिहे गरेकोमा दुःख मनाउ गरेको सुनेर सोधेँ, 'तपाईं जस्तो मान्छेले त्यसो भन्न मिल्छ त?'
'छुवाछुत एक कुरा। आफ्ना छोराछोरीको कुरामा बेग्लै हुँदो रहेछ,' मनको भाव नलुकाई पोख्छिन् उनी, 'अर्कालाई भन्न सजिलो। आफ्नासँग स्वभावैले दिँदो रहेनछ। ज्ञान एकातिर हुन्छ, यो व्यवहार अर्कैतिर। जस्तै, १८ अध्याय गीता सुनेका हैनन् अर्जुनले? अभिमन्यू मर्दा उनै बहुलाए। त्यस्तै हो ज्ञान भनेकै।'
'पाख्रिबास नोकरी गर्नेबेला राईसँग उसको मन बसेछ। राईसँग विवाह गर्यो भने के हुन्छ भनी। हकारेँ! हुँदैन, हाम्रो जाति, संस्कृति केही मिल्दैन भन्दै गाली गरिरन्थेँ। पछि त लौ बिहे गर्ने भए भन्ने खबर आयो। अब नगरी नछोड्ने भए घरबाट टीको लगाएर पठाइदिनु पर्छ भनेर सल्लाह गर्यौं। भाइका छोरालाई लिन पठाएँ। भरे त केटीलाई उतै राख्छन् भनेर आउनै दिएनन्।'
छोरीको बिहे भएको २ वर्षसम्म घरमा बोलाएनछन्। पछि दशैंमा बोलाएर टीका लगाइदिएछन्। बल्ल आउजाउ फुकेछ।
'अनि २ वर्ष छोरी नभेट्दा दिक्क लागेन?'
'माया लाग्यो नि। तर किन राईसँग बिहे गरी यसले भनेर रिस पनि उठ्यो। पछि चित्त बुझाएँ।'
'अनि छोरीले छोएको भातभान्सा चल्छ कि चल्दैन?'
'नखाएर भो त। खान्छु नि। तर म सानैदेखि माछामासु, प्याजलसुन नखाने मान्छे। एकदमै चोखो चाहिन्छ। उसकोमा खानुपरे अलग्गै चुल्होमा पकाउने। यहाँ चोखो गरी पकाएको खान्छु।'
अहिले उनी बेलाबेलामा छोरी बिमलाको घरमै बस्छिन्। कुसुन्तीमा भने छोरा धर्मराज पौडेलसँग बस्छिन्। कान्छा छोरा घनश्याम बेलायत छन्। उनी त्यहाँ घुमेकी पनि छन्।
जमानामै पढेलेखेकी-बुझेकी र अनेकौं हण्डर खाएर यहाँसम्म आइपुगेकी इन्द्रमायाको जीवनको रमाइलो क्षण जान्न मन लाग्यो।
उनले आफू बच्चा बेलामा आफूसँग किताबी ज्ञानबाहेक अरु व्यवहारिक ज्ञान नहुँदा भोग्नुपरेका घटना सुनाइन्।
'मलाई गुन्युचोली दिने भएका थिए। चोलो सिलाउन दिएँ। सिलाउन दिएको कपडा कटकट काटेको देखेँ। घ्वाँघ्वाँ रुँदै घर आएँ। चोलो सिलाउने भनेको लुगा सबै काटिदिई भन्दै रोएँ। घरका सबै हाँसे। मलाई के थाहा लुगा सिउन पहिले काट्नु पर्छ भनेर।'
अनि एकपटक हजुरआमालाई इन्द्रमायासँग रिस उठेछ। चुल्हो लोटाउने, पोत्ने काम लगाइछन्। सधैं अरुले गरेको देखेकी थिइन्। गोबरले लोटाएर माटोले पोतिछन्। सकेर हात धोएर बाहिर निस्कँदा हजुरआमाले 'मुख पोतिस् त? गाला पोतिस्?' भनिछन्। उनले 'पोतिनँ' भनिन्। हजुरआमाले हकारिन्। इन्द्रमायालाई लाग्यो यो काम त मैले जानिनँ। दगुर्दै गएर गाला र मुख पनि माटोले पोतिछन्। बाहिर आउँदा सबैले हाँस्दै जिस्क्याए।
'हजुरआमाले चुल्होको मुख र गाला (चुल्होको दाउरा हाल्ने भाग) भन्नुभको रहेछ। मलाई के था, चुल्होको पनि मुख-गाला हुन्छन् भनेर। मैले त आफ्नै मुख र गाला पोतेँ।'
किताबमै घोरिइने उनलाई घरव्यवहार बुझ्न कठिन भयो होला नै। उनलाई किताबमै चाख थियो। अहिले पनि छ। उनी किताबसँगै पत्रपत्रिका पनि पढ्छिन्।
भन्छिन्, 'पत्रिका नपढी त खाकै पच्दैन।'
यी हजुरआमाका कथा पनि पढ्नुस्ः
'श्रीमान कम्युनिष्ट भएकैले घर छाड्नुपर्यो'
'एकदिन यस्तो आउँछ, छोरी पाएकोमा समाजले खुसी मनाउनेछ'
८७ वर्षीया विष्णुकुमारीको मनमा अझै छ माओवादी त्रास
९० वर्षकी रत्नदेवी पुराना हिन्दी गीतमा श्रीमान सम्झन्छिन्
रजीया बेगम, जसलाई राजा त्रिभुवनले बनाइदिए मधु
रत्ना राई र शंकर लामिछानेको अमर प्रेम
‘आइतबार र बिहीबार महिलाले कपाल पनि कोर्न पाउन्न थिए’
पन्ध्र मिनेट दुरीको घर-माइती कहिल्यै एक्लै हिँडिनन् देवमाया
नयाँ दिन सम्झिन्नन्, पुराना दिन भुल्दिनन्
'रानी ऐश्वर्य 'नो' सुन्नै नसक्ने'
छोरीको मायामा लुपुक्क बुबाआमाले 'घर ज्वाइँ' खोजे