नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको परीक्षामा एमबिबिएस र बिडिएस पढेका ७१ प्रतिशत परिक्षार्थी फेल भएका छन्।
डाक्टर बनेर बिरामी जाँच्न काउन्सिलमा दर्ता हुनुपर्छ। दर्ता प्रमाणपत्र लिन परीक्षा पास गर्नै पर्छ।
शनिबार भएको परीक्षामा सहभागी हुन ९ सय १२ जनाले आवेदन दिएका थिए। तीमध्ये ९ सय ३ परीक्षार्थी जाँच दिन आए। हिजै प्रकाशित नतिजाअनुसार ६ सय ४१ जना फेल भए। २ सय ६२ जनाले मात्र काउन्सिलमा दर्ता हुने भए।
यसरी हुन्छ परीक्षा
परीक्षामा सहभागी हुन अनलाइनमार्फत् फाराम भर्नुपर्छ। काउन्सिलले अनलाइनबाटै कागजपत्र चेकजाँच गरी भेरिफाइ गर्छ।
योग्यता पुगेको भए इमेलबाट प्रवेश पत्र पठाइदिन्छ। परीक्षार्थीले त्यो प्रिन्ट गरेर राख्नुपर्छ। परीक्षा दिन आउँदा प्रवेश पत्रसँगै परिचय खुल्ने अरू कुनै कागजपत्र पनि ल्याएर आउनुपर्छ।
तीन ठाउँमा चेकजाँच
परीक्षा हलमा प्रवेश गर्न तीन ठाउँमा चेकजाँच हुन्छ।
पहिलो घेरामा प्रवेश पत्र चेक हुन्छ। प्रवेश पत्रमा बारकोड राखिएको हुन्छ, बारकोडले रिड गरेपछि फारम भर्दाको फोटो र लाइभ फोटो मिलेपछिमात्र भित्र दोस्रोमा सुरक्षा जाँच पुग्छ।
त्यहाँ मेटल डिटेक्टरबाट जाँच हुन्छ।
त्यसपछि तेस्रो घेरामा मोबाइल, झोला र अन्य सामाग्रीहरू राखिन्छ ताकि परीक्षार्थीले प्रवेश पत्रबाहेक अन्य सामान लिन पाउँदैनन्।
लेख्ने कलम काउन्सिलले नै दिन्छ।हलमा १५ जना परीक्षार्थी बराबर १ निरीक्षक खटिएका हुन्छन्।
परीवेक्षण गर्न स्वास्थ्य र शिक्षा मन्त्रालय, प्रतिष्ठान, स्वास्थ्य व्यवसायी परिषदलगायतका अधिकारी पनि बोलाइएको हुन्छ।
परीक्षा सकिनेबित्तिकै मेसिनबाट उत्तरपुस्तिका जाँच्न सुरू हुन्छ। मेसिन चलाउनेहरू पनि विदेशबाट आएका हुन्छन्।
हलमा पसेपछि एकमुष्ट नतिजा नआउन्जेलसम्म परीक्षामा खटिएका कर्मचारी र काउन्सिलले खटाएकाहरू बाहिर जान पाउँदैन।
एक पटक परीक्षा तयारी गर्न काउन्सिललाई १० दिनजति समय लाग्छ।
परीक्षा केन्द्रमा जामर प्रयोग
नेपालमा हुने कुनै पनि परीक्षामा जामर प्रयोग भएको पाइँदैन तर काउन्सिलले डाक्टरको परीक्षामा चलखेल नहोस् भनेर जामर प्रयोग गर्छ।
‘कसैले कुनै पनि किसिमले चलखेल गर्न नसकोस् भनेर मोबाइल पनि नचल्ने जामर प्रयोग गर्छौं,’ काउन्सिलका अध्यक्ष प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले सेतोपाटीसँग भने,‘चिट चोर्न कसैले पाउँदैन, हलमा आउँदा चेकजाँच बलियो बनाएका हुन्छौं। जामर प्रयोग गरेपछि त झन ढुक्क हुन्छ।’
परीक्षा प्रक्रियाको सुरूदेखि अन्तिमसम्म परीक्षा समिति र काउन्सिलले आमन्त्रित गरेका विज्ञ र तोकेका कर्मचारीबाहेक कोही पनि प्रवेश गर्न पाउँदैनन्।
बाँस्कोटाका अनुसार परीक्षा गर्न काउन्सिलले एक समिति बनाएको हुन्छ। काउन्सिल पदाधिकारीका आफन्तले परीक्षा दिँदैछन् भने ती पदाधिकारी परीक्षा प्रक्रिया संलग्न नहुने चलन रहेको उनले जानकारी दिए।
प्रश्नपत्र निकै वैज्ञानिक तरिकाले बनाउँदै आएको बाँस्कोटाको दाबी छ।
उनकाअनुसार विभिन्न १३ ओटा विषयसँग सम्बन्धित विज्ञबाट संकलन गरिएका प्रश्नहरू काउन्सिलको प्रश्न बैंकमा जम्मा हुन्छन्।
त्यसपछि ५ सदस्यीय उच्च विज्ञको टोली बनाइन्छ, सो टोलीले बैंकमा जम्मा भएका प्रश्नहरूबाट परीक्षामा सोध्ने प्रश्न छान्छ।
काउन्सिलले वर्षमा ३ पटक यस्तो परीक्षा लिन्छ।
एमबिबिएस र बिडिएस पढेकाको र एमडी, एमएस र एमडिएस गरेकाको फरक-फरक समयमा परिक्षा हुन्छ।
हिजो फेल भएकाहरूले चार महिनापछि फेरि जाँच दिन पाउँछन्।