काठमाडौंको कीर्तिपुर नगरपालिकाको रिक्त प्रमुख पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।
२०७९ वैशाखमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भएका राजकुमार नकर्मीको निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।
यो पनि:
१५ करोडमै कीर्तिपुरलाई सांस्कृतिक सहर बनाउँछु: राजमान महर्जन (भिडिओ)
कीर्तिपुरमा सित्तैमा फोहोर उठाउनेदेखि खानेपानी र विद्युत निःशुल्क गर्छु: शिवशरण महर्जन (भिडिओ)
कीर्तिपुरलाई लाख मान्छे बस्नयोग्य सहर बनाउँछु: सुरेन्द्र मानन्धर (भिडिओ)
साथै वडा नम्बर १ का अध्यक्ष हिरालाल महर्जन र वडा नम्बर ४ का अध्यक्ष श्यामकुमार अधिकारीको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुँदैछ।
उपनिर्वाचन हुन लागेको एक मात्र नगरपालिका, त्यो पनि काठमाडौं उपत्यकाभित्रकै भएर कीर्तिपुरको चुनाव चर्चामा छ।
यहाँ प्रमुख पदका लागि २० जना र वडा नम्बर १ मा ९ र ४ मा १३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
कीर्तिपुर नगरपालिकामा ३१ हजार १ सय १२ जना मतदाता छन् भने १० वडामा कूल २० मतदान स्थल र ३८ मतदान केन्द्र छ।
यहाँ नेपाली कांग्रेस र नेकपा (एमाले) एक्लाएक्लै प्रतिस्पर्धामा छन् भने नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग गठबन्धन गरेको छ।
विभिन्न दल र स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन्।
कांग्रेसका कीर्तिपुर नगर सभापतिसमेत रहेका कीर्तिपुर नगरपालिकाका प्रमुख पदका उम्मेदवार कृष्णमान डंगोलसँग सेतोपाटीले उपनिर्वाचनका विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश:
तपाईं १५ वर्ष नगर समिति सभापति रहेर पार्टीमा काम गर्नुभयो, पहिलो पटक उम्मेदवार हुँदै हुनुहुन्छ, तपाईंको उम्मेदवारी केका लागि हो?
मेरो उम्मेदवारी भनेको कीर्तिपुर नगरवासीहरूको सेवाकै लागि हो। यहाँ विकास निर्माणकै लागि हो। यहाँको सम्पदा संरक्षणका लागि पनि हो, किनभने कीर्तिपुर साँस्कृतिक सहर पनि हो। मेरो एजेन्डा संस्कृति, पर्यटन, सम्पदा प्रबर्द्धन गर्नका लागि हो। अरू भनेको खानेपानी समस्या नहुने गरी काम गर्ने हो। शिक्षा र स्वास्थ्यमा रहेर पनि काम गर्ने हो, जुन कुरा मैले घोषणा पत्रमा पनि उल्लेख गरेको छु।
कीर्तिपुर नगरको समस्याहरू मैले बुझेको हुँदा समाधान गर्न मेरो उम्मेदवारी हो।
कीर्तिपुरलाई राम्रो बनाउन तपाईं र पार्टीका एजेन्डा के छन्?
अघि पनि मैले भने कीर्तिपुर साँस्कृतिक सहर हो। म यहीँ जन्मेको भएर सानैदेखि मैले यहाँको साँस्कृतिक सम्पदा बुझेको छु। विकास निर्माण त निरन्तर भइराख्ने कुरा हो। बाटो नभएका ठाउँमा बाटो बनाउने र बाटो भएका ठाउँमा कालोपत्र गर्नेजस्ता काम भइराख्ने कुरा हुन्। त्यसको अलवा धेरै शीर्षकमा बजेट छन्। ज्येष्ठ नागरिक, महिला तथा बालबालिका, शिक्षा र स्वास्थ्यका बजेट पूर्ण रूपमा खर्च नभएको अवस्था छ।
यहाँ मुख्य समस्या भनेको स्वास्थ्यकै छ। सहरदेखि ५/६ किमी दूरीमा पनि कहिलेकाहीँ समयमै अस्पताल पुग्न नसक्दा मृत्युवरण गर्ने अवस्था पनि देखिएको छ। त्यसकारण कीर्तिपुरमै सुविधा सम्पन्न एउटा कम्तीमा १५ शय्याको कीर्तिपुर नगर अस्पताल चलाउने मेरो योजना छ। किनभने २०५६ मा नेपाली कांग्रेसबाटै विजय भएर जानुभएका तीर्थराम डंगोलले १५ शय्यायाको अस्पताल स्वीकृत गरेर ल्याइसक्नु भएको थियो, त्यो कार्यान्वयन हुन नसकेको अवस्थामा यो दुई वर्षभित्र म कार्यान्वयन गर्ने प्रयास गर्नेछु।
मेरा मुख्य एजेन्डा भनेका शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, साँस्कृतिक सम्पदा सम्बर्द्धन नै हुन्।
यसअघिको चुनावमा कांग्रेसले कीर्तिपुरमा गठबन्धन गर्यो। मेयरमा राजकुमार नकर्मी र उपमेयरमा जसपाकी शुभलक्ष्मी शाक्य रूख चिह्न लिएर विजयी हुनुभएको थियो। यसपालि कांग्रेस एक्लै मैदानमा छ, जितको आधार के हो?
जितको आधार भनेको कीर्तिपुरबाट हाम्रै प्रतिनिधि सभा सांसद हुनुहुन्छ, प्रदेश सभा सांसद हुनुहुन्छ। मेयरले पनि धेरै काम गर्नुभएको छ। १० मध्ये ९ वडा कांग्रेसले नै जितेको छ। हाम्रा वडाध्यक्षहरूले जनताका माझमा गएर समस्या बुझेर विकास निर्माणका काम थालनी गरेको हुनाले जनताले नेपाली कांग्रेसलाई विश्वास गरेको छ, यो नै जित्ने एउटा आधार हो।
त्यस्तै प्रतिनिधि सभा सांसद हाम्रो राजेन्द्रकुमार केसीले पनि यहाँ धेरै बजेट ल्याएर यहाँको संस्कृति बचाउने काम गर्नुभएको छ। त्यस्तै प्रदेश सांसद पुकार महर्जनले पनि मन्त्री हुँदा धेरै बजेट ल्याएर काम पनि थाल्नु भएको हुनाले यहाँका जनताले के सोच बनाएका छन् भने विकास। पहिले नेकपा (एमाले) ले बर्चश्व कायम गरेको ठाउँ हो, तर जनताले सोचेजस्तो बजेट ल्याउन पनि सकेन। विकास निर्माण पनि भएन।
कांग्रेसले तीन पटकसम्म प्रतिनिधि सभा सांसद जितिसकेको छ। कांग्रेसले नै हो यो ठाउँको विकास गर्ने भनेर जनताले विश्वास गरेको हुनाले त्यो पनि जित्ने आधार हो।
कांग्रेसले अघिल्लो चुनावमा जनतासँग गरेको प्रतिबद्धता पनि पूरा गरेको छैन भन्ने आरोप छ। राजकुमार नकर्मी मेयर बने पनि उहाँको स्वास्थ्यमा समस्या देखियो र लामो समय कार्यवाहकले नगर चलाउनुभयो। जनतासँग पहिले गरेका प्रतिबद्धतालाई निरन्तरता दिनुहुन्छ कि अलपत्र छाड्नुहुन्छ?
हामी कीर्तिपुर नगरपालिकामा प्रवेश गरेको भर्खर दुई वर्ष त भयो। त्यसअघि त सबै एमालेकै प्रतिनिधिले चलाइरहेका थिए। दुई वर्षमा के नै गर्न सकिन्छ र, जादुको छडी होइन। तैपनि दुई वर्षमा धेरै काम भयो। स्वास्थ्य र शिक्षा मुख्य एजेन्डा थिए हाम्रा। त्यसमध्ये स्वास्थ्यमा ५० प्रतिशत छुट गरेर जनतालाई सुविधा दिने अभियान पूरा भइसक्यो। अहिले कीर्तिपुर अस्पतालमा ५० प्रतिशत छुटमा जनताले उपचार गराइरहेका छन्। जनताहरू धेरै खुसी छन्।
त्यसैगरी शिक्षामा एक घर एक स्नातक भन्ने अभियान थियो। त्यो पनि सुरू भइसकेको छ। पहिले र अहिलेको कीर्तिपुरको अवस्था हेर्नुभयो भने धेरै परिवर्तन आएको पाउनुहुन्छ। कांग्रेस विकासप्रेमी हो, तर काम गर्दा केही बाधा अड्चन पनि आएका छन्। म आइसकेपछि बाधा अड्चन हटाएर राजकुमार नकर्कीको सपना र प्रतिबद्धता पूरा गर्नेछु, त्यसैगरी मेरो सोच पनि सँगसँगै लगेर दुई वर्षभित्र केही परिवर्तन ल्याउन सक्छु भन्ने विश्वास छ।
समय छोटो छ, अढाइ वर्षमा तपाईंले घोषणा पत्रमा उल्लेख गरेका सबै काम गर्न सक्नुहुन्छ?
घोषणा पत्रमा राखेका सबै विषयहरू कार्यान्वयनमा ल्याउने जमर्को हुन्छ। मेरो उद्देश्य भनेको १५ शय्याको एउटा अस्पताल निर्माण गर्ने हो। २००, ५०० शय्याको अस्पताल बनाउँछु भनेर २० औं वर्षदेखि कुराकानी भए पनि अहिलेसम्म केही भएन। त्यही भएर मैले १५ बेडको अस्पताल बनाउने र त्यसमा थप गर्दै लैजाने योजना बनाएको छु।
तत्काल मैले गर्न सक्ने भनेको विष्णुदेवी अस्पतालको व्यवस्थापन सुधार गर्ने हो। त्यो अस्पताललाई व्यवस्थित बनाएर एक, दुई महिनाभित्रै २४ सै घन्टा आकस्मिक सेवा सुरू गर्छु। त्यसमा भिडिओ एक्सरेलगायत सुविधा र बर्थिङ सेन्टर पनि सुरू गर्छु।
अन्तिममा, कांग्रेसलगायत पुराना दलहरूले केही गरेनन्। अब विकल्प खोज्नुपर्छ भनेर स्वतन्त्र उम्मेदवारी दिनेको लर्को छ, कत्तिको चुनौती छ?
यो त एउटा आरोप मात्रै हो। यहाँ घुम्ने क्रममा कति विकास भएको छ त देख्नुहुन्छ नि! म त सानैदेखि हेर्दै आएको पहिलेको अवस्था कस्तो थियो अहिले कस्तो छ। एक गाग्री पानी लिन घन्टौं लाइन लाग्नुपर्ने अवस्था थियो अहिले त्यो अवस्था छैन। पानीमा धेरै प्रयास गरिएको छ, मेलम्चीको पानी पनि आएको छ। तैपनि हिउँदमा केही समस्या छ।
कीर्तिपुरमा पनि पानीका स्रोतहरू छन्। नौमुले, सिम, दूधपोखरीलगायत स्रोतलाई व्यवस्थापन गरेर ३६५ दिन नै पानीको अभाव नहुने गरी म काम थालनी गर्छु। यो प्रक्रिया म नगरपालिका गएको दिनदेखि नै सुरू गर्छु।
भिडिओ: