नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिन्ह पाएका छन्।
प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट एआइजीमा बढुवा भएका बुद्धिराज गुरूङ र केदार ढकालले शुक्रबार प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह पाएका हुन्।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुई जनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि शुक्रबार प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरी चिन्ह प्रदान गरेको हो।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।
उनले संगठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिवद्धता आवश्यक रहेको उल्लेख गर्दै आ-आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ संकल्पित रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।