नेपाली कांग्रेसले सहकारी ठगीमा परेका नागरिकहरूलाई बचत फिर्ता र दोषीलाई दण्ड दिलाउनेसहित ६ प्रतिबद्धता अघि सार्दै उपनिर्वाचनको संघारमा पार्टीका मातहत निकायहरूलाई आन्तरिक सर्कुलर पठाएको छ।
महामन्त्रीसमेत रहेका स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति संयोजकसमेत रहेका शर्माले उपनिर्वाचन हुने ठाउँका पार्टी निकायहरूलाई सर्कुलर गर्दै ६ वटा मुद्दा र प्रतिबद्धता अघि सार्न भनेका हुन्।
यही मंसिर १६ गते ३३ जिल्लाका रिक्त ४४ पदका लागि उपनिर्वाचन तोकिएको छ। कांग्रेसका उम्मेदवार जिल्ला समन्वय समिति ओखलढुंगा र कैलालीमा निर्विरोध भइसकेका छन्, बाँकी ठाउँमा मंसिर १६ मा निर्वाचन हुनेछ।
रूकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुँदैछ। यहाँ कांग्रेसले नेकपा (एमाले) रूकुमपूर्वकी उपसचिव केशकुमारी तुलाचनलाई रूख चिह्न लिने गरी उम्मेदवार बनाएको छ।
यो पनि: रूकुमपूर्वमा कांग्रेस-एमालेबीच अचम्मको गठबन्धन
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले कीर्तिपुर नगरपालिकाको उपप्रमुखमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीकी नेता शुभ लक्ष्मी शाक्य (सुनीता) लाई रूख चिह्नबाट उम्मेदवार बनाएर निर्वाचित गरेको थियो।
यद्यपि कांग्रेसले संघीय र प्रदेश सरकारहरूमा एमालेसँग सहकार्य भए पनि चुनावी मैदानमा मुख्य प्रतिस्पर्धी दल एमालेसँग प्रतिस्पर्धा गर्न आन्तरिक सर्कुलर गरेको छ।
महामन्त्री शर्माले पठाएको सर्कुलरमा ६ मुद्दा र प्रतिबद्धतासहित पार्टीका उम्मेदवारहरूलाई मत माग्न भनिएको छ।
पहिलो, लोकतान्त्रिक प्रणालीलाई अझ बलियो बनाउन।
दोस्रो, स्थानीय तहलाई थप जनमुखी बनाउन।
तेस्रो, संघीय सरकारलाई अझ जिम्मेवार बनाउन।
चौथो, सहकारी ठगीमा परेका नागरिकलाई बचत फिर्ता र दोषीलाई दण्ड दिलाउन।
पाँचौं, गाउँठाउँमा विगतमा पुगेका विकासका कार्य नागरिक पंक्तिमा स्मरण गराउँदै अधुरा विकास योजनाहरूलाई गति दिएर नागरिकमा नयाँ विश्वास भर्ने कर्म गर्न।
छैटौं, स्थानीयवासीको भावना र आवश्यकता अनुरूप स्थानीय स्तरका मुद्दाको जिम्मेवार ढंगले नेतृत्व गर्न।
कांग्रेसले २०७९ को स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा तत्कालीन सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्न सक्ने अधिकार दिएको थियो।
त्यसबेला कांग्रेसले ७५३ स्थानीय तहमध्ये ३२९ वटामा प्रमुख जितेको थियो। अहिले रिक्त रहेका ४४ पदमध्ये कांग्रेसले २६ वटा पद यसअघिको चुनावमा जितेको थियो।
कांग्रेसले चुनावी प्रतिस्पर्धाबीच दलहरूका बीचमा सद्भाव र सामाजिक एकता कायम राख्न पार्टीका मातहत निकायहरूलाई आग्रह गरेको छ।
‘चुनावी प्रतिस्पर्धाका बीच दलहरूबीच सद्भाव र सामाजिक एकता कायम राख्न कांग्रेसले नै विशेष समन्वय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुछ,’ सर्कुलरमा भनिएको छ, ‘मुख्य प्रतिस्पर्धी दल (एमाले) सँग सरकारमा रहेको भए पनि सरकारमा सहकार्य, मैदानमा प्रतिस्पर्धाको नीतिमा प्रष्ट रहनू।’
पार्टीका उम्मेदवार जिताउन लाग्नेलाई कारबाही फुकुवा गरिने
कांग्रेसले स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारी दिएका पार्टीका उम्मेदवारहरूलाई जिताउन भूमिका खेलेको आधारमा कारबाही फुकुवा गर्ने बताएको छ।
विगतका चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेपछि कारबाहीमा परेका नेता तथा कार्यकर्ताहरूलाई अहिलेको चुनावमा उनीहरूले खेल्ने भूमिकाका आधारमा कारबाही फुकुवा गर्ने वा नगर्ने निर्णय हुनेछ।
‘पार्टीका उम्मेदवारलाई जिताउन निर्वाह गर्ने भूमिकाका आधारमा कारबाही फुकुवा, सदस्यता नवीकरण र जिम्मेवारी प्रदान गर्ने पार्टीको नीतिका बारेमा सुसूचित गर्नू,’ महामन्त्री शर्माले पठाएको सर्कुलरमा भनिएको छ।
उपनिर्वाचन हुने ठाउँमा अन्य गतिविधि गर्न नपाइने
कांग्रेसले उपनिर्वाचन हुने भूगोलमा चुनावकेन्द्रित अभियानमात्रै सञ्चालन गर्न भनेको छ।
चुनावी अभियानलाई असर पर्न सक्ने कुनै पनि कार्यक्रम नगर्न कांग्रेसले सर्कुलर गरेको हो।
‘चुनाव हुने भूगोलमा चुनावकेन्द्रित अभियानबाहेक त्यसलाई असर पर्न सक्ने अन्य कुनै पनि कार्य वा कार्यक्रम मंसिर १६ गतेभन्दा अघि नगर्नू,’ सर्कुलरमा भनिएको छ।
उपनिर्वाचन हुने क्षेत्रमा पुग्न निर्देशन
कांग्रेसले नेता तथा कार्यकर्ताहरूलाई उपनिर्वाचन हुने भूगोलमा पुग्न भनेको छ।
उपनिर्वाचन हुने ठाउँमा प्रभाव राख्ने नेता, कार्यकर्तालाई उक्त भूगोलमा खट्न कांग्रेसले सर्कुलर गरेको हो।
‘चुनाव हुने भूगोलमा प्रभाव राख्ने साथीहरू देशभित्र जहाँ भए पनि फर्किएर गाउँमा समय दिनू,’ सर्कुलरमा भनिएको छ।