‘बा’ हरू भजन गाउन तयार थिए।
एकले मृदङ समाए, अर्काले हार्मोनियम। केही झ्याली पिट्न थाले।
पाटनको तःबहास्थित श्रीमच्छिन्द्रनाथ मन्दिरमा बेलुकीको भजन सुरू भयो।
बा’हरूले प्रार्थना भजन गाए। त्यसपछि विद्यापति र गणेशको भजन।
चौथोमा जुन भजन सुनाए, त्यो अरूभन्दा फरक थियो- चार सय वर्षअघि सिद्धिनरसिंह मल्लले लेखेको।
यहाँ हरेक वर्ष वैशाख कृष्णप्रतिपदामा मच्छिन्द्रनाथको महास्नानपछि दिनहुँ सिद्धिनरसिंहको एउटा भजन गाउने नियम छ। बिहीबार रातो मछिन्द्रनाथको रथयात्रा सुरु भएसम्म यो क्रम चल्छ। त्यसपछि भजन जारी रहन्छ, सिद्धिनरसिंहको भने नगाउँदा हुन्छ।
रथयात्रा पुल्चोक, गाबाहाल, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा भोटो देखाएपछि सकिन्छ।
‘रथयात्रा जहाँ जहाँ रोकिन्छ, त्यहाँ भजन सुनाउँछौं,’ भजन खलःका सदस्य काजी महर्जनले भने, ‘कुन दिन कुन भजन गाउने पहिल्यै निर्णय गरेका हुन्छौं। कुनै दिन सिद्धिनरसिंहको पनि गाउन सकिन्छ।’
मल्लराजा सिद्धिनरसिंहले लेखेका तिनै भजन यही असार १४ गते कृष्णमन्दिर अगाडिको कात्तिक डबलीमा सुनाइँदैछ। ज्याः पुन्हिः को अवसरमा त्यस दिन भजन खलःले सिद्धिनरसिंहका ३२ भजन गाउनेछन्।
मल्लकालीन पौवाचित्र पनि प्रदर्शन गरिनेछ, जसमा सिद्धिनरसिंहका ३१ गीत लिपिबद्ध छन्। थप एउटा चल्तीमा रहेको काजी बताउँछन्।
अन्वेषक छत्रबहादुर कायस्थले ३६ वटा फेला परेको दाबी गरेका छन्। तीमध्ये ३१ वटा पौवाचित्रकै हुन् भने बाँकी मन्दिरमा संग्रहित भजन खलः का किताबबाट।
यसबाहेक थप पाँच गीत पनि फेला पारेर ‘नेपाल सांस्कृतिक पत्रिका’ मा छापेका छन्। यसबारे अनुसन्धान भइरहेको उनले बताए।
गीतको अन्त्यमा ‘सिद्धिनरसिंह’ लेखिएकाले चिन्न सजिलो भएको उनको भनाइ छ। ‘त्यो समय उपनाम लेख्ने चलन थियो,’ कायस्थले भने, ‘सिद्धिनरसिंह भने आफ्नै नाम लेख्थे।’
सिद्धिनरसिंहका रचना श्रूति परम्पराबाट हस्तान्तरण हुँदै आएका हुन्।
कायस्थका अनुसार उनका गीत १८ रागमा लेखिएका छन्। तीमध्ये पानी पार्न गाइने मेघराग र आगो बाल्न गाइने दीपक राग पनि पर्छ।
ऋतुअनुसारका गीत पनि छन्। वसन्त राग एक हो। यो वसन्त पञ्चमीदेखि घोडेजात्रासम्म गाइन्छ।
अन्वेषक कायस्थ अचेलका भजनबाट सन्तुष्ट छैनन्।
शब्द उच्चारण गलत भएकोमा उनको आपत्ति छ। गल्ती औंल्याउँदा विवाद सिर्जना हुने उनी बताउँछन्।
‘सिकाउन खोज्यो, पुर्खौंदेखि यही गाउँदै आयौं भनेर जिद्दी गर्छन्,’ उनले भने, ‘उनीहरूले गाएको मै बुझ्दिनँ।’
बुझ्न कठिन भएकाले युवापुस्तामा भजनको रुचि हराएको उनको भनाइ छ।
‘भजन भनेको त सिद्धि प्राप्त गर्न गाइने हो, गलत गाएर के सिद्धि प्राप्त हुनु?’ उनले भने।
भजन खलःका अर्का सदस्य गोविन्द ताम्राकार सहमत छन्।
उनी आफैंले भजन खलःमा संग्रहित गीत जम्मा गरेर ‘श्री सिद्धिनरसिंह मल्ल राजाजुया’ पुस्तक निकालेका छन्।
‘गीतका केही शब्दको अर्थ बुझिँदैन्। तै गाउने गरिन्छ,’ उनले भने।
भाषा नबुझिनुमा अन्वेषक कायस्थ तीन कारण औंल्याउँछन्।
पहिलो, श्रुति परम्पराबाट हस्तान्तरण हुँदै जाँदा कतिपय शब्द फेरिनू।
दोस्रो, नेपाल भाषासहित मैथिली, संस्कृत, फारसी र उर्दू प्रयोग।
र, तेस्रो, पौवामा लेखिएको अक्षर मेटिँदै जानु र सार्नेले गल्ती गर्नू।
उनले गल्ती कसरी हुन्छ भन्ने उदाहरण दिए।
‘नेपाल भन्ने शब्दलाई ‘नेपा’ र ‘ल’ छुट्टाछुट्टै सारियो र छुट्टाछुट्टै उच्चारण गरियो भने कस्तो सुनिन्छ?’ कायस्थले भने, ‘कुनै कुनै शब्द एकैठाउँ जोडेर पनि लेखिएका थिए। यस्ता स–साना त्रूटि धेरै छन्।।
यही तीन समस्याले कायस्थलाई सिद्धिनरसिंहका भजनमा अनुसन्धान र सम्पादन गर्न ५० वर्ष लागेको थियो। उनले ३६ वटा गीत फेला पारेको २०२५ सालतिरै हो।
‘मैले पौवाचित्र र विभिन्न भजन खलःका किताब जम्मा गरेँ। त्यसबाट सिद्धिनरसिंहका गीत तुलना गरेँ। नबुझिने शब्द विभिन्न भाषाको शब्दकोषमा खोजेँ र अर्थ लगाएँ,’ उनले भने।
उनले लेखेका सबै गीत मातृका छन्दमा छन्। यसको अर्थ, पहिलो पंक्तिमा जति अक्षर हुन्छन्, दोस्रो पंक्तिमा त्यति नै हुनुपर्छ।
कायस्थले अनुसन्धानमा यसलाई पनि ध्यान दिए। बिग्रिएका शब्द खोज्दै, मिलाउँदै सम्पादन गर्न समय लागेको उनी बताउँछन्।
‘गाउने तरिकामा पनि समस्या छ,’ उनले भने, ‘अचेल उनका गीत दाफा भजनका रूपमा गाइन्छ, जबकि त्यसरी गाउने हुँदै होइन।’
दुई समूह बसेर गाउनेलाई दाफा भनिन्छ। यसमा एक पंक्ति एउटा समूहले गाउँछ, अर्कोले दोहोर्याउँछ।
सिद्धिनरसिंहका गीतलाई गीतमाला वा खण्डकाव्य–महाकाव्य भन्न पर्ने उनको सुझाव छ। उनले आफैं नाम दिएका छन्, ‘सिद्धि गीतमाला’।
उनका प्रायः भजनमा कृष्ण महिमा, प्रकृति उपासना र नारीको वर्णन छ।
सिद्धिनरसिंहका भजनको जति महत्व छ, ती भजन कुँदिएका पौवाचित्र उत्तिकै विशेष रहेको स्थानीय रामप्रसाद अमात्य बताउँछन्। ‘मास्टर बाजे’ भनेर चिनिने अमात्य पाटनका मन्दिर र संस्कृतिमा रुचि राख्छन्।
उनका अनुसार चार सय वर्षअघि कुँदिएका ती पौवाका रङ जस्ताको तस्तै छन्। केही ठाउँमा मात्र उक्किएजस्ता देखिन्छन्। त्यसमा कृष्णकै चित्र बढी कुँदिएका छन्। त्यसबेलाको पहिरन र समाजको झल्को पनि आउँछ।
ती चित्र मिथिला सभ्यताबाट प्रेरित रहेको अन्वेषक कायस्थ बताउँछन्।
मल्लकालमा राजाहरूको मिथिला राजकन्यासँग बिहे गर्ने चलन थियो। ‘चित्रमा कन्याहरूले नाकमा नथिया लगाएका देखिन्छन्। नथिया लगाउने चलन नेवार सभ्यतामा छैन। त्यसमा कृष्णको रङ कालो छ। यतातिर भने कृष्णलाई नीलो रङमा चित्रण गरिन्छ,’ उनले भने, ‘पहिरन पनि मुगल बादशाहले लगाउने जस्तै छ।’
पौवामा वाद्यवादन सामग्रीका चित्र पनि छन्। यसले त्यो बेलाको सभ्यतामा संगीतको महत्व झल्काउँछ।
पुरातात्विक महत्वका यी गीत जोगाउन ललितपुर सांस्कृतिक सम्वद्र्धन केन्द्रले पहल थालेको छ। केही साताअघि मात्र संगीतकार जुगोल डंगोलको नोटेसनमा ३२ वटा रेकर्ड गरियो। बाँकी तयारी भइरहेको केन्द्रका महासचिव बदनलाल न्याछ्यले बताए।
‘किताबमा शब्द सच्याए पनि यसपालि पुरानै शैलीमा रेकर्ड गराएका छौं,’ उनले भने, ‘भविष्यमा सच्चिएकै शब्द रेकर्ड गराउने छौं।’
उनका अनुसार गीतलाई धेरै स्रोतासम्म पुर्याउन अर्थसहित नेपाली र अंग्रेजीमा लेख्ने तयारी भइरहेको छ।
तपाईं पनि सिद्धिनरसिंहका गीत सुन्न चाहनुहुन्छ भने असार १४ गते कृष्णमन्दिर, कात्तिक डबली आउनुस् है।
हेर्नुहोस् भिडियोमा
https://www.youtube.com/watch?v=28PLCKnXGwc&feature=youtu.be
सबै तस्बिर र भिडियोः नारायण महर्जन