राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, काभ्रेले भूकम्पसम्बन्धी जिल्लास्तरीय रूपमा प्रदर्शनी गर्ने भएको छ।
विशेष गरेर भूकम्पपछि कस्ता घर बनाउनुपर्छ र जिल्लाको स्थिति के छ? भन्ने विषयमा प्राधिकरणले प्रदर्शनी गर्ने भएको हो। पुनर्निर्माण प्राधिकरण, एनआरए र भूकम्पसम्बन्धी काम गर्ने विभिन्न गैरसरकारी संस्थाको समीक्षा बैठकका क्रममा प्राधिकरणले सो निर्णय गरेको हो।
पुनर्निर्माणसम्बन्धी जानकारी सबैलाई थाहा नभएकाले प्रदर्शनीको आयोजनाका विषयमा प्राधिकरण लागि परेको प्राधिकरण काभ्रेका प्रमुख ध्रुव गैंडाले बताए।
प्रदर्शनी कहिले गर्ने भन्ने निर्णय भने प्राधिकरणले अहिलेसम्म गरेको छैन। सकेसम्म महोत्सवको अवसर पारेर गर्ने भन्ने मात्र बैठकले निर्णय गरेको छ। त्यस्तै, प्राधिकरणकै नेतृत्वमा भूकम्प प्रभावित १४ जिल्लामा अनुगमन टोलीसमेत गठन गर्न लागिएको बैठकका क्रममा जानकारी गराइएको छ। डिएलपीआइओका अनुगमन तथा मूल्यांकन विज्ञ रोशन केशरीको नेतृत्वमा काभ्रेमा अनुगमन टोलीको गठन गर्न लागिएको हो ।
‘जोखिमयुक्त परिवारको सहयोगका लागि सहयोग गर्न गैरसरकारी संस्थासँग कुरा अगाडि बढाइसक्यौँ,’ गैंडाले भने। साथै, गुनासो भरेका पीडितको तथ्यांक आइसकेको, नगरपालिका र गाउँपालिकामा पठाउन मात्र बाँकी रहेको उनले जानकारी दिए। तथ्यांकको पुनः जाँच भइसकेपछि मात्र उक्त तथ्यांक पठाइने उनले बताए।