छ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा माघेसंक्रान्तिदेखि सूर्यमढीबाट सुरू भएको छ।
जात्रा पहिलो चरणमा यही माघ १५ गतेसम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिने परम्परा छ। भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिने यो जात्रा लगातार दत्तात्रय, काठमाडौं , गछेँलगायत क्षेत्रमा सञ्चालन गरिनेछ। माघ १६ गतेपछि साँखुमा प्रदर्शन गरिने नवदुर्गा नाच त्यसपछि चाँगुनारायणमा प्रदर्शन गरिनेछ।
आगामी साउन महिनाको भलभल अष्टमीसम्म चल्ने उक्त नाच साँखुमा चार दिन प्रदर्शन गरिएपछि चाँगुनारायणमा प्रदर्शन गरिने जात्रा सञ्चालक समितिका सचिव रत्नमान वनमालाले बताए।
माघ २० मा पुनः भक्तपुर ल्याएर दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी र याछेँमा नाच प्रदर्शन गरिनेछ। त्यसपछि साँगा र काभ्रेपलाञ्चोकमा प्रदर्शन गरिने परम्परा छ। काभ्रेपलाञ्चोकमा प्रदर्शन गरिएलगत्तै पुनः भक्तपुरका तौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा र इताछेमा प्रदर्शन गरिन्छ।
नवदुर्गा नाचलाई त्यसपछि नाला, धुलिखेल, श्रीकष्ठपुर, खर्पुमा प्रदर्शन गरिएपछि पुनः भक्तपुरका त्रिपुरासुन्दरी र याछेँमा प्रदर्शन गरिएपछि काभ्रेपलाञ्चोकका बनेपा र पनौतीमा समेत प्रदर्शन गरिने परम्परा छ। जेठ मसान्तमा भक्तपुरको इछु गल्लीबाट सुरू हुने सो जात्रा भलभल अष्टमीदेखि सम्पन्न हुन्छ।
जात्रामा देवगणले नाङ्गो खुट्टाले नै नाच प्रदर्शन गर्नुपर्ने भएकाले केही कठिनाइ हुने गर्छ। माछा मार्ने जात्राकै क्रममा देवगणले अर्थ संकलन गर्नुपर्ने बाध्यता छ। नवदुर्गामाथि विश्वास गरेर भेटी चढाइने रकमबाट परम्परा धान्नुपर्ने भएको छ। अर्थाभावका कारण नाच बन्द हुने अवस्थामा पुगे पनि परम्परा धान्न चन्दा सहयोगबाट सञ्चालन गरिँदै आएको छ।
मुलुककै प्रतिष्ठा बनेको यो नाच सञ्चालनका लागि नेपाल सरकार, भक्तपुर नगरपालिका र अन्य स्थानीय तहलगायत कतैबाट पनि सहयोग नपाइएपछि भक्तजनले चढाएको दक्षिणामा भर पर्नुपरेको छ। जात्रा सञ्चालनकै लागि देवगणले सडकमा गुडेका सवारी साधनदेखि पैदलयात्रु, पसललगायतसँग भेटीका रूपमा अर्थ संकलन गर्ने गरेका छन्।
मकुण्डो लगाएर १९ जना देवगण रहने यो नाचमा १३ मकुण्डो रहने र मकुण्डो लगाएर १२ जनाले नाच्ने प्रचलन छ । नवदुर्गा अर्थात् माछा मार्ने जात्रामा भैरव, महाकाली, बाराही, गणेश, ब्रह्मायणी, कुमारी, महेश्वरी, भद्रकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव र श्वेतभैरवका रुपमा देवगणले नाच्ने गर्छन् ।
यो जात्रामा खे बजा, त बाजा र काया बाजा बजाउने तथा महालक्ष्मी अर्थात् सिफोद्यो बोक्ने तीन तीन जना रहने गर्छन् । यो जात्रामा दर्शकले सिट्ठी बजाएर ‘आ आ आ’ गरेर जिस्क्याउने र देवगणले उनीहरूलाई लखेट्ने गर्छ । लखेट्दा देवगणले समाउन सके भेटी दिनुपर्ने परम्परा छ ।
बालकदेखि किशोर, युवा र पाको उमेरका व्यक्तिसमेत देवता बन्नुपर्दा कतिपयको पढाइ छुट्ने, स्वास्थ्यमा समस्या आउने र रोजगारीसमेत नपाउने भएपछि देवगणका परिवारलाई रोजगारी र निःशुल्क स्वास्थ्योपचार व्यवस्था तथा जात्रा सञ्चालन गर्न सरकारले बजेट छुट्याइदिनुपर्ने माग देवगणले गरेको छ। देवता बन्न आफ्नै पैसा खर्चेर सबैलाई भोज खुवाउनुपर्ने हुन्छ। भोकै बसेर बिहानदेखि बेलुकासम्म गह्रौँ मुकुण्डो लगाएर नाच्नुपर्ने हुँदा छाती दुख्ने, पेट पोल्ने र खुट्टा दुख्ने समस्या आउने गरेको छ।