जाडोको कारण हरेक वर्ष तराईमा सर्वसाधारणको मृत्यु हुने गरेको छ।
यो वर्ष पनि झण्डै सय जनाको जाडोकै कारण मृत्यु भइसकेको छ। तराईमा शीतलहरको कारणले वर्षेनी सर्वसाधारणका मृत्यु हुने गर्दछ।
तराईमा सर्वसाधारणको मृत्युको पहिलो कारण गरिबी भएको चिकित्सकहरूको भनाइ छ। ‘जाडो समयमा तराईमा अत्यधिक शीतलहर हुन्छ’ डा मनोजकुमार यादव(एमडी इन्टरनल मेडिसिन)ले भने, ‘सर्वसाधारणले जाडो छेक्नको लागि प्रशस्त मात्रामा कपडा नलगाएर नै मृत्यु हुन्छ।’
‘धेरै समयसम्म तराईमा गर्मी हुने भएकोले उनीहरूलाई जाडोको बारेमा चेतना पनि कम भएको हुनसक्छ’उनले भने,‘जाडो आउनुभन्दा पहिला नै न्यानो कपडा किन्न नसक्दा उनीहरूको कठंग्रिएर मृत्यु भएको हुनसक्छ।’
शीतलहर चलेको बेलामा तराईको तापक्रम पनि स्थिर रहनु अर्को कारण रहेको उनले बताए ।
‘काठमाडौंमा रातीको तापक्रम माइनसमा झरेको छ भने पनि दिउँसोको तापक्रममा धेरै परिवर्तन आउँछ। तर, तराईमा त्यस्तो हुँदैन’डा यादवले भने,‘शीतलहर चलेको बेलामा हप्तौसम्म दिनमा पनि रात परेजस्तो हुन्छ। यो बेलामा मानिसहरू बाहिर निस्किन सक्दैनन् जसले गर्दा शरीर तात्न पाउँदैन अनि मानिसको मृत्यु हुन्छ।’
बुढाबुढी, केटाकेटी र दीर्घ रोगीहरू हिड्डुल धेरै गर्न नसक्ने भएकोले उनीहरू नै पीडित हुने गरेको उनले बताए।
जाडोको बेलामा तराईमा मात्रै होइन अन्य ठाउँमा पनि सतर्कता अप्नाउनु पर्ने उनको सुझाव छ। जाडोको समयमा रक्तसञ्चारमा समस्या आउने र हृदयघातको कारणले मृत्यु हुने उनले बताए।
‘जाडोमा उच्च रक्तचापको समस्या बढी हुन्छ। शरीरको तापक्रम पनि कम हुन्छ’उनले भने,‘फोक्सोको रोगीहरू समेत चिसोबाट जोगिनुपर्छ।’
जाडोको बेलामा शरीरलाई तातो राख्नुपर्ने डाक्टर यादवको सुझाव छ।
‘जाडोको समयमा कपडा पर्याप्त मात्रामा लगाउनुपर्छ। मन तातो झोल खानुपर्छ,’उनले भने,‘बालबालिका बुढाबुढी र दीर्घरोगीको बढी ख्याल गर्नुपर्छ। धेरै बाहिर निस्कन हुँदैन।’