दाङका थारु समुदायमा माघी पर्वको उल्लास छाएको छ। थारु समुदायले यो पर्वलाई पाँच दिनसम्म हर्षौउल्लासका साथ मनाउने गर्छन्।
माघीको पूर्व सन्ध्यामा आइतबार हरेक थारु गाउँमा संगुर र माछा मार्ने गरिन्छ। आइतबार बेलुका माछा र सुंगुरको मासु र अनदीको झोर सबैजसो थारु घरको प्रमुख परिकार हो। माछासँगै गंगटा र घोङ्गी खाने गरिन्छ। तर, पछिल्लो समय माछा पाउन मुस्किल हुन थालेपछि ताल तथा पोखरीमा पालेका माछा समेत किनेर खाने प्रचलन बढेको छ।
थारु संस्कृतिविद अशोक थारुका अनुसार मानिसको अविवेकी क्रियाकलापले गर्दा पर्यावरणमा परेको असरले खोलामा माछा पाउन छोडेको तथा पानीको स्रोत सुक्दै गएको बताए। थारु जातिले माघी पर्वलाई पछिल्लो समय आफ्नो सबैभन्दा ठूलो पर्वका रूपमा मनाउँदै आएका छन्।
‘हिजो कमैया पर्था थियो तर आज उन्मुलन भइसकेको छ, त्यसैको खुसियालीमा भएपनि माघीलाई सबैभन्दा ठूलो पर्वको रूपमा मनाउन थालिएको हो,’ संस्कृतिविद चौधरीले सेतोपाटीलाई भने। वर्षभरिमा गरिएका क्रियाकलापको समापन र नयाँ कामको थालनी माघीदेखि नै सुरू हुने भएको हुँदा यसलाई थारु समुदायले नयाँ वर्षको रूपमा मनाउँदै आएको चौधरी बताउँछन्।
माघदेखि नै नयाँ कार्ययोजना तयार पार्ने प्रचलन थारु समुदायमा छ। घरपरिवारदेखि गाउँको अगुवा मतवा चयनको लागि समेत लागू हुनेगर्छ । घर छुट्टिनेदेखि कुनैपनि नयाँ योजना माघीदेखि नै थारु समुदायले निर्धारण गर्छ। विगतको कामलाई निरन्तरता दिने कि नयाँ कामको थालनी गर्ने जस्ता निर्णयहरू माघपछि तय हुने थारु संस्कृतिविद थारुले सेतोपाटीलाई बताए।
ढिर्की पकाउने, अनदीको विशेष झोल, जाँड, अनदीको भात, रोटी लगायत विशेष मिठा मिठा परिकारको जोहो माघमा गर्ने प्रचलन रहेको थारुले बताए। ‘सखिय हो माघक गुरी गुरी जाँड’ भन्ने गीत गाउँदै नाच्ने प्रचलन थारु समुदायमा रहेको छ। माघीको अवसरमा १/२ वर्ष पुरानो झोल समेत थारु गाउँहरूमा राख्ने चलन रहेको संस्कृतिविद थारुले बताए।
हरेक नयाँ योजनाको सुरूवात हुने हुँदा थारु समुदायले आइतबारको दिनलाई आर्थिक वर्षको अन्तिम दिन र माघको दोस्रो दिनलाई नयाँ वर्षको रूपमा मनाउने गर्छन्। यसैबीच थारु समुदायले सोमबार बिहान सूर्यदयोभन्दा पहिले नै नजिकको ताल तथा पोखरीमा गएर मकर स्नान गर्ने प्रचलन छ। सूर्यदयो नहुँदै त्यस्तो स्नान गर्ने गरिन्छ । थारु संस्कृतिविद अशोक थारुका अनुसार पहिले पहिले जेष्ट नागरिक, युवा र केटाकेटीहरू छुट्टा छुट्टै समूहमा गीत गाउँदै नाच्दै नजिकका खोला तथा तलाउमा स्थानका लागि जाने गर्दथे । तर पछिल्लो समय कतिपयले घर कै इनारमा नुहाउन थालेका छन् । मताउसँगै नुहान गएकाहरूलाई भने फर्किदा घर घरमा कलश राखेर स्वागत गर्ने चलन थारु समुदायमा छ ।
स्नान गरेर आएपछि घरमा खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ। खिचडीमा नुन, मासको दाल र चामल राखिएको हुन्छ। संस्कृतिविद अशोक थारुका अनुसार त्यो खिचडी पूर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ। छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुनाका रूपमा चेलीबेटीको घरमा पुर्याउने प्रचलन रहेको थारुले बताए।
त्यसपछि तिलको हवन गरिसकेर र घर परिवारका सदस्य मान्यजनबाट टिका लगाउने र आशिर्वाद थाप्ने गर्छन्। थारु समुदायमा सेतो चामलको टिका लगाउने प्रचलन रहेपनि पछिल्लो समय भने कतिपयले रातो टिका समेत लगाउन थालेका छन्।
माघीको अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच श्रृङगार र करुणरसले भरिएको हुन्छ। यसमा बजाइने मादलको ताल , धुन र गाउने व्यक्तिको स्वरपनि विशेष र फरक प्रकारको हुने संस्कृतिविद थारुले बताए । तर, पछिल्लो समय मादलको ठाउँमा साउन्ड सिस्टम र गीत घन्काएर नाच्न थालिएको हुँदा त्यसले संस्कृतिक विचलन ल्याउने खतरा रहेको उनले बताए।
आइतबार राति विगतमा धुर्म गाउने चलन रहेपनि हाल आएर त्यो लोप हुँदै गएको थारुले बताए। गाउँको अगुवा वा मताउँ छान्ने प्रचलन थारु समुदायमा छ। जसलाई दाङमा मताउँ भनिन्छ भने बर्दियामा बर्गर , कैलाली र कञ्चनपुरमा भलमन्सा भन्ने प्रचलन रहेको थारु संस्कृतिविद थारुले बताए ।