अस्थायी ट्राफिक कार्यालय लमहीले ६ महिनाको अवधिमा झण्डै १४ लाख रुपैयाँ बढी राजस्व संकलन भएको जानकारी दिएको छ।
आफ्नै नयाँ भवन निर्माण भएपछि बुधबार कार्यालयमै पत्रकार सम्मेलन गरि उक्त जानकारी दिइएको हो। गत साउनदेखि पुस २६ गतेसम्म साना/ठूला सवारी साधनको कारबाहीबाट १४ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयका प्रमुख मोहनकुमार चन्दले जानकारी दिएका हुन्।
यो अवधिमा कूल २६ सय सवारी साधन कारबाहीमा परेको उनले बताए। उनले लमहीमा ६ महिनाको अवधिमा यति धेरै परिमाणमा राजस्व संकलन भएको पहिलो पटक भएको बताए।
लमही–सतबरिया र लमही–नर्तीसम्मको रुटमा चल्ने सवारी साधन कारबाही गर्दा उक्त रकम संकलन भएको चन्दले जानकारी दिए। त्यस्तै, ट्राफिक प्रमुख चन्दले सोही अवधिमा २६ वटा सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएको र २१ जना घाइते भएको जानकारी दिएका थिए। तर, उनले त्यसलाई पहिलेको तुलनामा ६ महिनाको अवधिमा दुर्घटनाको कम नै भएको बताए ।