जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा दुई सातादेखि विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। भाइरल ज्वरोबाट बुधबार थप एक जनाको ज्यान गएको हो।
भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डाक्टर पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–५, टिप्ककी ६५ वर्षीया कालु तिरुवाको पनि ज्यान गएको छ।
गोठमा बस्दै आएकी कालु केही दिनदेखि चिसोले थलिएकी थिइन्। उनलाई रुघाखोकी र ज्वरो आएको थियो। समयमा उपचार नपाएपछि उनको मृत्यु भएको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म मृत्यु हुनेमा पाँच वर्षमुनिका सात बालबालिका र ५० वर्ष माथिका छ जना छन्। जुनीचाँदे–२ मजकोटबाट सुरू भएको भाइरल प्रकोप वडा नं १, २, ३, बाट अहिले ४, ५ र १० नम्वर वडामा फैलिएको छ।
शनिबारदेखि भाइरल पीडितको शिविर खडा गरी उपचार गरिएको छ। शिविरमा एक हजार २ सय जनाको उपचार गरिएको छ । उपचार थालिए पनि बिरामी अझै नघटेको उपचारमा संलग्न डा. शाक्यले जानकारी दिए।
उपचारमा आएका ९५ प्रतिशत सामान्य खालका रुघाखोकी र ज्वरोका बिरामी भए पनि पाँच प्रतिशतचाहीँ कडा र सिकिस्त बिरामी रहेको डा. शाक्यले जानकारी दिए।
भाइरल प्रभावित गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र, गर्खाकोटबाट परिचालित चिकित्सक–स्वास्थ्यकर्मीको टोलीले रोग नियन्त्रणमा लिन नसकेपछि बुधबार जिल्ला अस्पतालबाट थप चिकित्सक र औषधि प्रभावित क्षेत्रमा पठाइएको छ।
जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डा. भूपेन्द्रप्रकाश मल्लसहित चारजना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा गएको छ । नेपाली सेनाको टोली प्रभावित क्षेत्रको स्थलगत अध्ययनका साथै सोमबार केही बिरामीको उपचार गरी मंगलबार फर्किएको छ भने नेपाल रेडक्रस सोसाइटीका स्वास्थ्यकर्मीसहितको टोली पनि प्रभावित क्षेत्रमै छ ।
डा शाक्यले भाइरल प्रभावितको संख्या बढ्दै गएकाले जिल्ला अस्पतालबाट थप औषधि र चिकित्सकको टोली मगाइएको बताए। निमोनियाविरुद्धको खोप अभावमा सोमबार ३६ दिने शिशुको ज्यान गएपछि थप औषधि मगाइएको छ ।
भाइरल ज्वरो बढेपछि एचवानएनवान् अर्थात कडा खालको मौसमी रुघाखोकी सिजनल फ्लूको आशंका गरिएको छ। एचवानएनवान् भए धेरै ठाउँमा फैलिने खतरा रहन्छ । तत्काल रोग पत्ता लगाई नियन्त्रणमा नलिए महामारीकै खतरा हुने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
उपचारमा संलग्न मेडिकल अधिकृत डा शाक्य बिरामीको लक्षण हेर्दा एचवानएनवानको आशंका गरिएपनि यसै भन्न नसकिने बताउँछन्।रोग पहिचानका लागि बिरामीको रगत तथा खकार र मृतकको रगतका नमूना संकलन गरी बुधबार टेकुस्थित प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले जानकारी दिए।
पहिलेको तुलनामा बिरामीको संख्या बढ्दै गएको र एक गाउँबाट अर्को गाउँमा रोग फैलिँदै गएकाले नियन्त्रण बाहिर जान थालेको नेपालीले बताए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाकी बालरोग विशेषज्ञ डा नम्रता सिन्दान नेतृत्वको टोली बुधबार प्रभावित क्षेत्रतर्फ खटाइएको छ। औषधि अभाव हुन नदिन सुवानाउलीमा औषधिको ‘बफर स्टक’ राख्ने तयारी भएको उनले बताए।
यसैबीच, बुधबार बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले तत्काल प्रकोप नियन्त्रणमा लिन उपचारको प्रभावकारी व्यवस्था मिलाउने निर्णय गरेको छ ।
चिकित्सकको नेतृत्वमा वडा नं २ को भैरव मावि मजकोट, वडा नं ३ को आदर्श मावि, लुहादह र वडा नं १० को दुर्गापुजन प्राविमा शिविर सञ्चालन गर्ने र अर्को एक टोलीलाई घुम्ती टोलीका रूपमा परिचालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिए। चार वर्षमुनिका बालबालिकालाई न्यानो कपडा र थर्मसको व्यवस्था गर्न गैरसरकारी संस्थालाई आग्रह गर्ने निर्णय गरिएको शाहीले बताए।
जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटले जिल्ला स्वास्थ्य मातहतका स्वास्थ्यकर्मीको बिदा र काज रद्द गरेको छ। प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी अभाव भए पनि सरकारले खासै ध्यान दिएको छैन।
भौगोलिक रूपमा विकट एक गाउँबाट अर्को गाउँ जान घण्टौं हिँड्नुपर्ने बाध्यता छ। दुई/तीन वटा टोलीलाई सबै ठाउँ पुग्नै हम्मेहम्मे भएको छ। औषधि तथा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा रोग नियन्त्रणमा आउन नसकेको डा मल्लले बताए।