महाकाली कोरिडोर निर्माण कार्य अवरुद्ध भएको छ।
महाकाली कोरिडोरअन्तर्गत बैतडी र डडेल्धुरामा निर्माण कार्य अवरुद्ध भएको दार्चुला तिंकर सडक योजनाका प्रमुख रामचन्द्र शाहले बताए।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलंगासम्मको २९१ किलोमिटर सडकको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) नहुँदा निर्माण कार्यमा अवरोध भएको हो। उनले भने, ‘दार्चुलादेखि तिंकरसम्मको १३५ किलोमिटर सडकखण्डमा निर्माण कार्य भइरहेको छ, तर विस्फोटक पदार्थको अभावले काम गर्न समस्या भएको छ।’
कञ्चनपुरको ब्रह्मदेवदेखि सडक निर्माणका लागि ठेक्का नै हुन सकेको छैन। वातावरणीय प्रभाव मूल्याङ्कन नहुँदा सडक निर्माणको ठेक्का हुन नसकेको हो। ठेक्का भएर काम सुरू गरिएको डडेल्धुराको जोगबुढा क्षेत्रमा पनि बीचमा जंगल परेपछि सडक निर्माण कार्य अवरुद्ध छ।
यता बैतडीको त्रिपुरासुन्दरीदेखि १० किलोमिटर ट्र्याक खोलिएको भए पनि अब जंगल क्षेत्र पर्ने भएकाले निर्माण कार्य रोकिने योजना प्रमुख शाह बताउँछन्। महाकाली कोरिडोर वातावरणीय प्रभाव मूल्याङ्कन नभएकाले निर्माण कार्य रोकेको सहायक वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिए।
‘वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै काम भइरहेकाले रोकेको हो,’ उनले भने।
महाकाली कोरिडोरको वातावरणीय मूल्याङ्कनको अन्तिम प्रतिवेदन वातावरण मन्त्रालय पुगेको र अब डेढ महिनाभित्रै प्रतिवेदन तयार हुने योजना प्रमुख शाहको भनाइ छ। महाकाली नदीको किनारै किनार कञ्चनपुरदेखि निर्माण कार्य सुरू भएको महाकाली कोरिडोरको निर्माण कार्य इआईएको अभावमा रोकिएको छ ।
यस्तै, दार्चुला सदरमुकामदेखि उत्तरतर्फ चीन सम्मको नाका जोड्न सडक निर्माण सुरू भएको ८ वर्षमा ३४ किलोमिटर मात्रै निर्माण भएको छ। अहिलेसम्म २८ किलोमिटरमा मात्रै यातायातका साधन सञ्चालनमा भइरहेका छन् । दार्चुला तिंकर सडक योजनाले अहिले महाकाली करिडोरको जिम्मेवारी लिएको छ।
चालू आवमा ३० करोड रुपैयाँ बजेट छुट्याइएको ब्रह्मदेवदेखि डडेलधुरा, बैतडी हुँदै दार्चुलाको तिंकरसम्मको ४२६ किलोमिटर सडकखण्ड इआइए नबन्दा रोकिएको दार्चुला तिंकर सडक योजनाका प्रमुख शाहले बताए। कञ्चनपुरको ब्रह्मदेवमा सडक निर्माणका लागि ठेक्कासमेत भएको छैन।
उनले भने, ‘डडेलधुरा, बैतडी र दार्चुलामा गरी तीन खण्डमा निर्माण कार्य चलिरहेकै बेलामा वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) बिना काम नगर्न दबाब आएपछि काम रोकिएको छ।’
दार्चुला तिंकर सडक निर्माण गर्न आवश्यक १० टन विस्फोटक पदार्थ नेपाली सेनाले दिन नसक्दा निर्माण अघि बढ्न नसकेको शाह बताउँछन्। तिंकर सडकको पीपलचौरीको विजयपुर भिर, राप्लाको फतङगाडदेखि घाँटी बगर क्षेत्रमा सडकको ट्रयाक खोल्न विस्फोटक पदार्थ आवश्यक छ।