म्याग्दी जिल्लाको सबैभन्दा दुर्गम र विकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको परिकल्पना गरिएको छ । धौलागिरि गाउँपालिका– १ मा पर्ने गुर्जामा सहजरूपमा यातायात सेवा पुर्याउनका लागि सुरुङ मार्ग निर्माणको परिकल्पना गरिएको हो। गाउँपालिकाले २ नं वडामा पर्ने लुलाङदेखि गुर्जासम्म सुरुङ मार्ग निर्माणको विषयमा सम्भाव्यता अध्ययन गर्ने भएको छ।
लुलाङ–गुर्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न गाउँपालिकाले चालू आवमा आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको १ नं वडाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए। सम्भाव्यता अध्ययन गर्न परामर्शदाता कम्पनी छनोटको प्रक्रिया अघि बढाइएको छ।
एउटै गाउँ रहेको गुर्जामा पुग्न नजिकैको बस्ती लुलाङबाट तीन हजार ५०० मिटर उचाइको देउराली धुरी पार गर्दै कम्तीमा आठ घण्टा पैदल हिँड्नुपर्छ। उकालो, ओरालो, जंगल र भिरको बाटोको पैदलयात्रा अत्यासलाग्दो हुने गर्छ । हिउँ परेपछि पैदलमार्ग अवरुद्ध हुन्छ ।
भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण सडकको विकल्पमा सुरुङ मार्गको परिकल्पना गरिएको वडाध्यक्ष छन्त्यालले बताए। ‘सकेसम्म सवारी साधन आवतजावत गर्ने नभए, पैदलमार्फत आवतजावत गर्नका लागि भए पनि सुरुङ मार्ग आवश्यक छ’, उनले भने।
सडक पुगेको मुनादेखि गुर्जासम्म खच्चरमार्फत सामान ढुवानी गर्दा प्रतिकिलो २१ रुपैयाँ लाग्छ । करिब २३० घरधुरी छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा पर्यटन, जडीबुटी खेती, खानी र पशुपालनका लागि प्रशस्त सम्भावना बोकेको क्षेत्र हो ।
ढोरपाटन शिकार आरक्षसँग जोडिएको गुर्जाका बासिन्दा भौगोलिक विकटताका कारण आधारभूत स्वास्थ्य उपचार सेवाबाट वञ्चित छन् । बिरामीलाई उपचारका लागि अस्पताल पुर्याउन र बढी तौल भएका निर्माण सामग्री ढुवानी गर्न हेलिकप्टरको प्रयोग गर्नुपर्ने बाध्यता छ ।
लुलाङ गाउँको शिरानदेखि गुर्जाको वटनथानलाई सुरुङ मार्गले जोड्न सकेमा आठ घण्टाको पैदलयात्राको यात्रा दुई घण्टामा छोटिने वडाध्यक्ष छन्त्यालले बताए। सुरुङ मार्ग बनेपछि सहज यातायात सुविधासँगै पर्यटक भित्र्याउने, तामा, फलाम खानी सञ्चालन गर्ने, जडीबुटी खेती र भेडाबाख्राको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्भाव्यता अध्ययन गरेपछि सुरुङ मार्ग निर्माणका लागि प्रदेश र संघीय सरकारसँग योजना भित्र्याउन पहल गरिने गाउँपालिकाले जनाएको छ ।