पोखरादेखि धौलागिरि अञ्चलका चार जिल्ला जोड्ने एकमात्र सडक पोखरा–बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्ररूपमा थालिएको छ।
विगत लामो समयदेखि जीर्ण रहेको राजमार्ग वर्षौंदेखि टालटुलको भरमा चल्दै आएकोमा यस पटक बल्ल बृहत रूपमा सुधार गर्न थालिएको हो। सडक विभागअन्तर्गतको मध्यपहाडी आयोजनाले राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भारलाई गति दिएको छ। आयोजनाको पश्चिम खण्डका प्रमुख सूर्यबहादुर भाटका अनुसार राजमार्ग पूरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्न थालिएको बताए। अहिले चारओटा प्याकेज बनाएर राजमार्ग मर्मत सम्भारसहित विस्तार गर्न थालिएको भाटले बताए।
बहत्तर किलोमिटर लामो पोखरा–बागलुङ सडक तीन वर्षमा धेरैजसो भाग पूरै नयाँ बन्नेछ। ‘पोखरा–बागलुङ राजमार्ग निकै नै अप्ठेरो भएको थियो। साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो’ भाटले भने, ‘अबको तीन वर्षभित्र यो राजमार्ग पूरै नयाँ बन्नेछ। दोहोरो सवारी साधन चल्न मिल्ने गरी सडकले आकार लिनेछ।’ राजमार्ग विस्तार र मर्मतको काम गत कात्तिकदेखि सुरू भएको थियो ।
भाटका अनुसार यो आयोजना पोखराबाट सुरू हुनेछ। पोखराको जिरो किलोमिटरदेखि याम्दीसम्म छ किलोमिटर पहिलो र त्यसपछि घट्टेखोलासम्मको खण्ड दोस्रो भागमा पर्नेछ। घट्टेखोलादेखि नयाँ पुलसम्मको करिब २५ किलोमिटरलाई तेस्रो खण्डमा र नयाँपुलदेखि पर्वतको मालढुंगासम्मको खण्ड (२४ किमी) लाई अर्काे खण्डमा बाँडेर मर्मत सम्भार र विस्तार गर्न थालिएको छ।
उनका अनुसार पोखराको जिरो किलोमिटरदेखि याम्दीसम्म छ लेनको सडक तयार हुनेछ भने फेँदीसम्म पनि छ लेनको सडक बन्ने भएको छ। फेँदीदेखि घट्टेखोलासम्म नौ मिटर फराकिलो सडक बन्ने भएको छ।
यो सडक विस्तार र स्तरोन्नति गर्न करिब तीन अर्ब ३२ करोड रुपैयाँ लाग्ने भएको छ। चारओटा निर्माण कम्पनीले काम गर्न थालेको भाटले जानकारी दिए।
कास्कीको नयाँपुलदेखि पर्वतको कुश्मासम्मको खण्ड सबैभन्दा अप्ठेरो रहेको छ। ठाउँठाउँमा पहरो भएकाले चट्टान फुटाउन पनि समस्या रहेकाले विस्तारमा समय लाग्नसक्ने बताइएको छ। धेरै नै पहिले राजमार्ग बनिसकेकाले अहिले विस्तार गर्दा त्यसमा मुआब्जा कतै तिर्नुपर्दैन । “पहिला नै सडकको केन्द्रदेखि १५ मिटर दुवैतिर मापदण्ड तोकिएको थियो ।
यो राजमार्ग पछिल्लो समय भाँसिने समस्याले ग्रसित हुँदै आएको छ । वर्षेनी मर्मत भएपछि भासिन नछाडेपछि सडक पूरै नयाँ स्वरुपमा विस्तार गर्न जरुरी थियो । यस सडकमा पर्ने पुल अझै साँघुरा भएकाले ती पुलको आकार बढाउनेबारे पनि छलफल भएको बताइएको छ ।
पोखरा–बागलुङ राजमार्ग करिब तीनदशक अघि चीन सरकारको सहयोगमा बनेको हो । चीनले उक्त राजमार्गलाई आव २०५०/५१ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
मर्मत सम्भार चलिरहेको सडकमा यतिबेला काँडेदेखि नयाँ पुलसम्मको सबै खण्ड अस्तव्यस्त भएको छ। मर्मत सम्भारले निर्माण सामग्री बाटोमा थुपारिँदा कतिपय खण्डमा एकतर्फी मात्र सवारी गुड्न सक्छन्। विस्तारको क्रमसँगै सवारी साधनको दोहोरो आउजाउ हुँदा काममा बाधा परेको बताइएको छ।