अंग्रेजी नयाँ वर्ष विदेशी पर्यटकका लागि मात्र नभई स्वदेशी पर्यटकका लागि पनि उल्लासमय पर्वका रूपमा स्थापित हुँदै गएको छ।
पर्यटकलाई लक्षित गरेर पर्यटन व्यवसायीले आफ्ना सेवामा विभिन्न आकर्षणसहितका अफर सार्वजनिक गर्ने गरेका छन्।
विगत झैँ यसवर्ष पनि अंग्रेजी नयाँ वर्ष, २०१८ लाई लक्षित गर्दै देशका मुख्य पर्यटकीय गन्तव्यमा विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमको तयारी भइरहेको छ। यसै सन्दर्भमा काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा ‘न्यू इयर इभ’( नयाँ वर्ष पूर्वसन्ध्या) को तयारीस्वरुप ठमेल क्षेत्र बेहुली झैँ सिँगारिएको छ। खुला र सफा सडकमा पर्यटकलाई शान्त वातावरणमा मनोरञ्जनात्मक गतिविधिका लागि व्यवसायीले विभिन्न प्याकेज ल्याएका छन्।
पुस १६ (डिसेम्बर ३१) आइतबार हुने न्यू इयर इभ कार्यक्रम र अफरका तुल, ब्यानर र सजावटले ठमेल क्षेत्रका होटल, रेष्टुराँ, क्लब, गजल तथा दोहोरी साँझ रेष्टुराँ रङ्गिएका छन्। व्यवसायी आफ्नो सेवा प्रवर्द्धनका लागि विभिन्न नयाँ कार्यक्रमका साथ प्रतिस्पर्धात्मक तवरले लागिपरेका छन्।
न्यू इयर इभको सन्दर्भमा ठमेलको ठमेल इको रिसोर्टमा न्यू इयर इभ विशेष कार्यक्रम आयोजना हुँदैछ। ठमेल इको रिसोर्ट र इभेन्ट संसार डटकमले संयुक्तरुपमा आयोजना गर्ने उक्त कार्यक्रममा सहभागी हुनेले लाइभ म्यूजिकको साथ नेपाली परम्परागत खानाको स्वादमा भरपुर आनन्द लिनेछन् ।
इको रिसोर्टका सञ्चालकसमेत रहेका वरिष्ठ पर्यटन व्यवसायी राजन सिंखडाका अनुसार म्यूजिकका साथ रिसोर्टको गार्डेनमा बार्बिक्यूको मजा लिन सक्नेछन् । रायन विथ यात्रीको लाइभ म्यूजिक रहने उक्त कार्यक्रममा चर्चित हास्य शृङ्खला ब्रेकफेलका कलाकार तथा अन्य ख्यातिप्राप्त कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहनेछ ।
विदेशी तथा स्वदेशी पर्यटकको मनोरञ्जन तथा नेपाली खानाका परिकारको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको व्यवसायी सिंखडाको भनाइ छ। सहभागिताका लागि एक हजार रुपैयाँको टिकट काट्नुपर्नेछ, त्यसमा एक बोतल बियर निःशुल्क हुने आयोजकले जनाएका छन्।
रात्रिकालीन व्यवसायी संघका प्रवक्ता सुवास लिम्बूले नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्ग, झम्सिखेललगायत अन्य होटल तथा रेष्टुराँले विभिन्न कार्यक्रम बनाएको बताउँछन्।
उनका अनुसार कतिपय क्लब तथा रेष्टुराँले विदेशी कलाकारको ब्याण्ड तथा नेपाली चर्चित कलाकारको साथमा नयाँ वर्षको स्वागतमा कार्यक्रम गर्ने योजना बनाएका छन्।
‘क्लब भेनिस’ सुन्धाराका सञ्चालकसमेत रहेका व्यवसायी लिम्बूले नयाँ वर्षमा पाहुनालाई लक्षित गरी क्लबमा आइतबार साँझ ‘ग्लामर्स आइकन’ को विशेष फेसन शो आयोजना गरिने र त्यहाँ ३० जना चर्चित मोडलले प्रस्तुति दिनेछन् भने डिजे सशनको बेग्लै रौनक रहनेछ।
यता ठमेलकै सुविधायुक्त ‘टर्टल लाउञ्ज एण्ड क्लब’ ले नयाँ वर्षको अवसरमा विशेष कार्यक्रमको तयारी गरेको छ।
क्लबका सञ्चालक आयुष ठकुरीका अनुसार चर्चित पप गायक सविन राईको विशेष सांगीतिक प्रस्तुति रहनाका साथै क्लबमा विभिन्न खानाका परिकारमा १५ देखि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सर्वसाधारणलाई एक हजार रुपैयाँदेखि एक हजार ५०० प्रवेश शुल्कको व्यवस्था गरिएको छ ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समीर गुरुङले नयाँ वर्षको सन्दर्भमा त्रिदेवी मार्ग, ठमेलमा आइतबार साँझ सडक सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ। चर्चित डिजे ‘शिशिर’ र ‘सिजल’ को विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा हजारौँको संख्यामा सर्वसाधारण तथा विदेशी पर्यटक सहभागी हुने भएकाले आवश्यक सुरक्षाको प्रभावकारी व्यवस्था मिलाइएको छ ।
अध्यक्ष गुरुङले नयाँ वर्षको अवसरमा ठमेल क्षेत्रका व्यवसायीले आफ्ना सेवामा विशेष अफरसहितका कार्यक्रम ल्याएका छन् । ठमेलमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्नका लागि व्यवसायीले विभिन्न प्याकेज बनाएका हुन् ।