वर्षातको पानीले सडकमा पारेको खाल्डाखुल्डी पुर्नाका साथै मर्मत गरेर दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सञ्चालन गरिएको हो ।
करीब ९१ किलोमिटर लम्बाइ रहेको भोजपुरको देउरालीसम्मका लागि दिक्तेलबाट बिहान ७ः१५ बजे बस छुट्ने व्यवस्था मिलाइएको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङ्माङ्ले बताए। गत वर्षदेखि सिधा यातायात सुरू भएको खोटाङ र भोजपुरमा देउरालीबाट पनि सोही समयमा बस छुट्ने व्यवस्था मिलाइएको छ।
हिउँदको समयमा मात्र यातायात सञ्चालन हुने यस सडकखण्डमा यसअघि यस वर्ष चखेवासम्म मात्र यातायात सञ्चालन हुँदै आएको थियो । सिधा यातायात सञ्चालन भएपछि भोजपुर पुग्नका लागि चखेवाभञ्ज्याङबाट अर्को बस परिवर्तन गर्नुपर्ने बाध्यता हटेको छ। मध्य पहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा कालोपत्रको काम पनि तीव्र गतिमा भइरहेको छ।
तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ कालोपत्रको काम थालिएको सडक फराकिलो पार्ने, ग्याभिङवाल भर्ने, पुल निर्माण गर्ने, गिट्टीढुङ्गा फोर्नेलगायत काम भइरहेको सडक आयोजनाका इन्जिनियर युवराज पाण्डेले जानकारी दिए। करीब ४६ किलोमिटर लामो सडक पाँच खण्डमा विभाजन गरेर कालोपत्रको काम गरिएको छ। गोल्डेन गुड प्रालिले ठेक्का लिएको सडक करीब एक अर्बको लगानीमा कालोपत्र सम्पन्न हुने बताइएको छ।