देउमाई नगरपालिकाको मंगलबारे गाग्रेभञ्ज्याङ दानाबारी हुँदै विर्तामोड पुग्ने सडक आगामी २०७५ जेठसम्ममा सम्पन्न हुने भएको छ।
डेनमार्क सरकारको सहयोगमा निर्माणाधीन सो सडकको ५८ प्रतिशत काम पूरा भएको आयोजनाका इञ्जिनियर नितेशकुमार झाले जानकारी दिए।
उन्नति समावेशी परियोजनाअन्तर्गत सो सडकको स्तरोन्नतिको काम भइरहेको छ। गाग्रेभञ्ज्याङ–जितपुर–सोयाक–बेलवासे–चिसापानी सडक निर्माण भएसँगै जिल्लाका पश्चिमी क्षेत्रका बासिन्दालाई तराई झर्न सहज हुनेछ।
मंगलबारेबाट मेची राजमार्ग हुँदै इलाम–फिक्कलबाट झापा करीब ११० किलोमिटर पार गर्नुपर्छ। तर, सो सडक निर्माणपछि करीब ६० किलोमिटर सडक पार गर्दा झापाको विर्तामोड पुग्न सकिन्छ। उक्त क्षेत्रका बासिन्दाले उत्पादन गरेको वस्तु तराई लैजान, दैनिक उपभोग्य वस्तु घर भित्र्याउन, बिरामी हुँदा चाँडो अस्पताल जान र व्यापारिक दृष्टिले समेत स्थानीयलाई सहजता हुनेछ।
दुई चरणमा काम भइरहेको छ। सो परियोजनाअन्तर्गत ३२ किलोमिटर सडकको स्तरोन्नति गरिने इञ्जिनियर झाले बताए। पर्खाल निर्माण ९० प्रतिशत पूरा भएको छ।
विसं २०७३ चैतदेखि सुरू भएको काम सम्पन्न गर्न आगामी ७४ जेठसम्म कुर्नुपर्ने छ। हाल देउमाई नगरपालिकाको जितपुरबाट सोयाक–दानाबारी हुँदै झापासम्म तीनवटा बस सञ्चालनमा आएको स्थानीय बासिन्दाले बताए।
सो सडक भएर साना सवारीसाधन सञ्चालन हुँदै आएका छन्। पहिलो चरणमा १६ किलोमिटर सडक निर्माणको जिम्मा देवा निर्माण कम्पनीलाई दिइएको छ भने दोस्रो चरणअन्तर्गतको १५ किलोमिटर सडक निर्माणको जिम्मा याक्थुमहाङ बिरुवा कम्पनीलाई दिइएको छ।
पहिलो चरणको काम गर्न १० करोड ७३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ भने दोस्रो चरणको १० करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता हुन लागेको आयोजनाले जनाएको छ। सो सडक निर्माणपछि कालोपत्र गर्ने तयारी रहेको आयोजनाका मूल्य श्रीङ्खला संयोजक विष्णु काफ्लेले जानकारी दिए।