चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई जिल्ला वन कार्यालयले १० लाख रुपैयाँ राहत प्रदान गरेको छ।
चितुवाको आक्रमणबाट मृत्यु भएका मेल्लेख गाउँपालिका– ८ का १५ वर्षीय पवन भुलको परिवारलाई सो रकम प्रदान गरिएको हो।
राति घरमा सुतिरहेको अवस्थामा भुललाई चितुवाले आक्रमण गरेको थियो। उनको मृत्यु भएपछि जिल्ला वन कार्यालयले सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय धनगढी कैलालीमा राहतका लागि सिफारिस गरेको थियो। उक्त सिफारिसअनुसार क्षेत्रीय वन निर्देशनालयले जिल्ला वन कार्यालयलाई सो राहत रकम उपलब्ध गराउन निर्देशन दिएको थियो।
मृतक पवनका बुबा गोपाल भुललाई राहत रकम हस्तान्तरण गरिएको जिल्ला वन अधिकृत सुरेन्द्रकुमार श्रेष्ठले बताए।