संसारमा एक जना मान्छे बराबर १ करोड ७० लाख झिँगा छन्।
तिनीहरू परागसेचन गर्छन्। कुहिएका चिज र नालीका कीरा खान्छन्। अन्नबाली बिगार्छन्। रोग फैलाउँछन्। माकुरा मार्छन्। र, झ्यालिन्चाको शिकार गर्छन्।
यीमध्ये केहीले आफ्नो पखेटा गुमाएका हुन्छन्। त्यस्ता झिँगा चमेराको रगत खाएर जीवित रहन्छन्। उनीहरू चमेराका भुत्लाभित्र फुत्त–फुत्त उफ्रिँदै आफ्नो जीवन काट्छन्। त्यस्ता झिँगाले सामान्यतया एउटा मात्र बच्चा पाउँछ।
‘तिनीहरू जे पनि गर्छन्, जहाँ पनि जान्छन्। भुनभुन कराउँदै उड्छन्। र, प्रशस्त यौनसम्पर्क राख्न रुचाउँछन्,’ लन्डनस्थित नेचुरल हिस्ट्री म्युजियममा झिँगाका संरक्षक एरिका म्याकएलिस्टरले भनिन्, ‘त्यसैले, म झिँगालाई प्रेम गर्छु।’
डा. एरिकाले झिँगाप्रतिको आफ्नो प्रेम ‘दी सिक्रेट लाइफ अफ फ्लाइज’ किताबमा प्रस्तुत गरेकी छन्। यो किताबमा झिँगाप्रति उनको अगाध लगाव ठट्यौली तरिकामा व्याख्या गरिएको छ। यसमा उनले आफूलाई मनपर्ने प्राणीबारे बढीभन्दा बढी सूचना दिने प्रयास गरेकी छन्।
खासगरी १ करोड ७० लाख झिँगाबारे जान्न चाहनेका लागि यो किताब स्रोत–पुस्तक हुनसक्छ। यो तथ्यांक पनि अनुमानित मात्र भएको उनी बताउँछिन्।
झिँगाबारे लेखिएको यो पहिलो किताब होइन। यसअघि पनि झिँगामाथि शोध गरेर थुप्रैले किताब लेखेका छन्। एरिकाजस्तै ती सबै लेखकमा एउटा समानता छ– उनीहरूको झिँगालाई हेर्ने दृष्टि रमाइलो र विनोदपूर्ण छ। उनी मानव जीवन र यो समग्र संसारकै निम्ति झिँगाको महत्व उजागर गर्न चाहन्छिन्। र, भन्छिन्, ‘मान्छेका हातले प्याट्ट हिर्काउन मात्र यो सृष्टिमा झिँगाको जन्म भएको होइन।’
उदाहणका लागि, झिँगाबिना चक्लेटको अस्तित्व नै हुँदैनथ्यो। एरिकालाई चक्लेट मन पर्दैन, तर उनी त्यस्ता झिँगा अत्यन्तै मन पराउँछिन्, जो चक्लेट उत्पादन हुने कोको बिरूवाको परागसेचन गराउन मद्दत गर्छन्। अत्यन्तै सानो आकारका त्यस्ता झिँगा अरू कीराको रगत खाएर बाँच्छन्। सँगसँगै, एउटा बिरुवाबाट अर्कोमा पराग ओसारपसार गर्न खुब मन पराउँछन्।
एरिकाको विशेषज्ञता भन्नु नै झिँगा हो। उनी सबै किसिमका झिँगा मन पराउँछिन्। उनको अध्ययन भने सानो जातका झिँगामा केन्द्रित छ, जसमा काला झिँगा र लामखुट्टे पर्छन्। ‘टोक्ने, घिनलाग्दा र रगत चुस्ने झिँगा मलाई एकदमै मन पर्छन्,’ उनले भनिन्।
उनले झिँगाबारे तलतल मेट्ने दुइटा तरिका छ — उनी संग्रहालयमा काम गर्छिन् र स्थलगत अध्ययनमा जान्छिन्। यो उनले चिताएकै काम हो। उनी आज पनि त्यो दिन सम्झन्छिन्, जब संग्रहालयमा काम थाल्नुअघि विद्यार्थीका रूपमा आएकी थिइन्। त्यतिबेला उनले मनमनै खुसी हुँदै भनेकी थिइन्, ‘म ३ करोड ४० लाख कीराहरू भएको घरमा छु। मैले ती कीरालाई सुटुक्क भनेकी थिएँ– म पनि तिमीहरूजस्तै छु है।’
एरिकाको यो झिँगा प्रेम बाल्यकालबाटै सुरु भएको हो। उनी सानैमा बिरालोका जुम्रा हेरिदिने गर्थिन्। र, त्यसलाई आफ्नो बुबाले दिएको माइक्रोस्कोपमुनि राखेर मिहिन अध्ययन गर्थिन्। छिट्टै उनको रुचि बिरालोको जीउमा पर्ने जुम्राबाट केही खतरनाक कीरातर्फ तानियो।
‘मलाई सानैदेखि प्रकृतिको अँध्यारो पक्ष मन पर्छ,’ माकुरा मार्ने झिँगाबारे कुराकानी गर्नुअघि उनले भनिन्, ‘प्रकृतिमा झिँगाको भूमिका यस्तै हुन्छ।’
उनका अनुसार झिँगाले मानव जातिलाई धेरै कुरामा मद्दत गर्छन्। फालिएका जैविक चिज सफा गरिदिन्छन्। यसै फालिएका काठका टुक्रादेखि नालाको फोहोरसम्म सफा गर्नमा झिँगाको ठूलो भूमिका हुन्छ। घरमा मान्छेले गर्ने फोहोर पन्छाउने पनि यिनै झिँगा हुन्।
कहिलेकाहीँ त यी झिँगा यति धेरै संख्यामा आइदिन्छन्, हाम्रो अनुहारै ढाक्ने गरी वरिपरि भुनाभुनाउन थाल्छन्। सबभन्दा डरलाग्दो कुरा, हामीले फेर्ने सासमा यिनीहरूको शरीरको थोरै मात्र हिस्सा पर्यो भने, स्वास्थ्यका लागि हानिकारक हुन्छ। कतिपय झिँगा मान्छे, मुसालगायत सबैको मृत शरीरमै बाँच्ने गर्छन्। त्यस्ता झिँगा १ हजार १ सय प्रजातिका हुन्छन्। कुनै पनि हत्या वा अन्य अप्राकृतिक मृत्युको कारण पत्ता लगाउने पोस्टमार्टममा यी झिँगा प्रयोग हुन्छन्। शव सडेर जाने क्रममा झिँगाले कुन चरणमा अन्डा पार्यो हेरेर कति दिनअगाडि मृत्यु भयो भनी थाहा पाउन सजिलो हुन्छ।
झिँगालाई विज्ञान प्रयोगशाला परीक्षणमा समेत महत्वपूर्ण विषयका रूपमा लिइन्छ। ऐतिहासिक रूपमा हेर्दा झिँगाले आधुनिक जेनेटिक्सको आधार खोज्ने पर्याप्त सूचना दिन्छ।
गत बिहीबार मात्र ‘सल्क इन्स्टिच्युट’ का वैज्ञानिकले इन्टरनेट सर्च इन्जिन सुधारमा झिँगाको मस्तिष्कले कसरी काम गर्छ भनी अध्ययन गरेका छन्। त्यस्तै, हार्वर्ड ह्युग मेडिकल इन्स्टिच्युट, जनेलिया अनुसन्धान संस्थाका वैज्ञानिकले झिँगाको चित्र आफ्नो नक्सामा उतारेका छन्। झिँगाका विभिन्न आनीबानी मिहिन अध्ययन गरेका छन्।
प्रयोगशाला सञ्चालन गर्दै आएका विवेश जयरमणका अनुसार झिँगाले कुनै पनि घटनामा तत्काल प्रतिक्रिया जनाउँदैन। बासना, सम्झना, भोक र डरको अवस्थामा मान्छेको अनुहारको रङ फेरिएजस्तै झिँगाले पनि यी फरक—फरक अवस्थामा छुट्टै प्रतिक्रिया जनाउँछ। एरिकालाई भने अन्टार्टिकादेखि आर्टिकसम्म पाइने सबै किसिमको झिँगा पछ्याउने सोख छ।
हामीलाई संसारभर भएका झिँगा वा कीरामध्ये १ लाख ६० हजारको मात्र नाउँ थाहा छ। त्यसबाहेक सबै कीराको नाउँ थाहा छैन। यो करोडौं, अर्बौंको संसार हो।
झिँगाको स्वरूप र व्यवहार पनि ठाउँ र प्रजातिअनुसार फरक पर्ने उनी बताउँछिन्। मध्यपूर्वमा पाइने एउटा प्रजातिका झिँगा फलफूल वरिपरि मात्र भुनभुनाउँछन्। ती झिँगा काटिकुटी माकुराजस्ता देखिन्छन्।
‘मेरो यो किताबले परिवार र आफन्त सबैलाई निकै खुसी तुल्यायो,’ एरिका भन्छिन्, ‘सुरुमा मेरो झिँगाप्रेम देखेर आमाबुबा अन्यौलमा पर्नुभएको थियो। म परिवारको माइलो सन्तान थिएँ। उहाँहरूले मलाई जे मन लाग्छ त्यही काम गर्नू भनेर खुला छाडिदिनुभयो।’
अहिले आएर परिवारका उनै सदस्य खुसी हुँदै भन्छन्, ‘एरिकाले धेरै राम्रो गरेकी छन्।’
एक अनुमानअनुसार सन् २०८० सम्म यस्ता झिँगाको संख्या २४४ प्रतिशत वृद्धि हुन सक्नेछ। झिँगाको दुनियाँमा केही यस्ता विषय छन्, जुन अझै रहस्यकै गर्भमा छन्। जस्तो, यो संसारमा कति प्रजातिका झिँगा छन् भन्ने कसैलाई थाहा छैन। सुन्तला आकारको ठूलो टाउको भएको झिँगाको अवस्था के छ भन्ने कसैले यकिन भन्न सक्दैन। यो प्रजातिको झिँगा लोपै भएको धेरैले अनुमान गरेका थिए। केही वर्षअघि यो फेरि कतै देखा परेपछि बल्ल लोप भएको छैन भन्ने थाहा भएको थियो।
आफूले सुल्झाउन नसकेका झिँगासम्बन्धी यी रहस्य खोतल्ने जिम्मा नयाँ पुस्ताको भएको उनी बताउँछिन्।
‘मैले आफ्नो तर्फबाट गर्न सक्नेजति काम गरेँ,’ उनी भन्छिन्, ‘अब नयाँ पुस्ताको पालो।’