म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा रहेका छन् ।
विसं २०६८ को जनगणनाअनुसार म्याग्दीको कुल जनसंख्या एक लाख १३ हजार ६४१ रहेकामा ७७ दशमलव ८ प्रतिशत अर्थात् ८८ हजार, ३९९ जना म्याग्दीवासी सूचना र सञ्चारको पहुँचमा रहेका नेपाल टेलिकम दूरसञ्चार कार्यालय म्याग्दीले जनाएको छ ।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय म्याग्दीको गत आव २०७३/७४ को रेकर्डअनुसार कुल ८८ हजार ३९९ जना म्याग्दीवासी सञ्चार सञ्जालसँग जोडिएका हुन् ।
कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा प्रिपेड मोबाइल सेवाका प्रयोगकर्ता ६९ हजार १८६ र स्काई फोनका १५ हजार २६३ जना रहेका छन् ।
यसैगरी पोस्टपेड मोबाइल बोक्ने एक हजार ६७८, ल्याण्डलाइन टेलिफोनका ग्राहक एक हजार ३०६ र सिडिएमएका ५०९ जना ग्राहक रहेको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले बताए। ल्याण्डलाइन टेलिफोन सेवातर्फ म्याग्दी सदरमुकाम बेनीबजारमा मात्रै एक हजार २२२ जना ग्राहक रहेको उनले जानकारी दिए। उनका अनुसार धार्मिक क्षेत्र गलेश्वरमा ५१ र पर्यटकीय क्षेत्र घोरेपानीमा ३३ ग्राहकले ल्याण्डलाइन फोनको प्रयोग गर्दै आइरहेका छन् ।
त्यस्तै एडिएसएलतर्फ अनलिमिटेड इन्टरनेटको बेनीबजार, गलेश्वर र घोरेपानीमा ४३० ग्राहक रहेका छन् । भिस्याट टेलिफोनका भने जिल्लाभरि २६ जना ग्राहक रहेको टेलिकमका प्रमुख शाहको भनाइ छ । म्याग्दी जिल्लाका विभिन्न ठाउँमा गरी कुल ३१ वटा बिटिएस सञ्चालनमा रहेकामा मोबाइल २३, सिडिएमए पाँच र वाइम्याक्सको चार वटा टावर सञ्चालन गरिएको उनले बताए ।
सदरमुकामस्थित टेलिकमको आफ्नै कार्यालय, बेनीबजार क्षेत्र, क्याम्पसचोक, बेनी नगरपालिकाको ५ र ९ नं वडामा मोबाइल फोनका लागि बिटिएस सञ्चालन गरिएको शाहले बताए। बिटिएसतर्फ अन्नपूर्ण गाउँपालिकामा छ, रघुगंगामा दुई, मंगलामा तीन, मालिकामा दुई र धौलागिरि गाउँपालिकाको तीन ठाउँमा बिटिएसहरु सञ्चालनमा रहेको प्रमुख शाहले बताए।
सिडिएमए सेवाको मालिका, अन्नपूर्ण गाउँपालिका र नगरपालिका क्षेत्रमा टावर सञ्चालन गरिएको छ भने वाइम्याक्स सेवाको नगरपालिकासहित मालिका र अन्नपूर्णमा बिटिएस जडान गरिएको उनले जानकारी दिए।
यस्तै भिस्याट फोन सेवाका लागि जिल्लाको ११ वटा ठाउँमा टावर सञ्चालन गरिएको बताइएको छ । चालू वर्षमा टेलिकम म्याग्दीले बिटिएस स्थापना गर्न विभिन्न आठ ठाउँका लागि आगामी योजना अगाडि सारेको बताएको छ ।
भौगोलिक विकटता रहे पनि जिल्लाको झण्डै सबै जनसंख्या कुनै न कुनै माध्यमबाट सञ्चारको पहुँचमा रहेको टेलिकमले दाबी गरेको छ । जिल्लामा एनसेल मोबाइलका समेत प्रयोगकर्ता रहेका छन् भने एउटै व्यक्तिले चार पाँच वटासम्म मोबाइल बोक्ने गरेको पाइएको छ । टेलिकमले पछिल्लो समय विभिन्न आकर्षक योजना ल्याएपछि इन्टरनेट चलाउने र मोबाइलका प्रयोगकर्ता बढ्दै गएको जनाइएको छ ।