पूर्वी चितवनको पर्यटकीय क्षेत्र सौराहादेखि लोथरसम्मको सडकलाई चौडा पारेर कालोपत्रको काम थालिएको छ।
दुवैतर्फ ढलसहित सडक निर्माणको कार्य अहिले धमाधम भइरहेको डिभिजन सडक कार्यालय चितवनले जानकारी दिएको छ ।
बहुवर्षे ठेक्काअन्तर्गत काम भइरहेको र कार्यालयकै निगरानीमा कालोपत्र गर्ने काम थालिएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी वसन्तकुमार गाईंले जानकारी दिए।
यही क्षेत्रका सांसद सुरेन्द्र पाण्डेको पहलमा आएको उक्त योजनाअन्तर्गत पहिलो चरणमा नौ किलोमिटर सडक कालोपत्र गर्ने काम हुनेछ ।
सडकमा दोहोरो सवारी साधन चलाउन सकिने जनाइएको छ । रुपै १३ करोड ८५ लाखको लागतमा सडक निर्माण कार्य भइरहेको पूर्व अर्थमन्त्रीसमेत रहनुभएका सांसद पाण्डेले जानकारी दिनुभयो ।
रणनीतिक सडक निर्माण शीर्षकमा परेको यस सडकको निर्माण केन्द्रीय बजेटमार्फत नै भइरहेको हो । ढलबाहेक ११ मिटर चौडाइ हुने यो सडक तयार भएपछि दोहोरो सवारी साधन चलाउन कुनै समस्या नहुने जनाइएको छ । पछिल्लो समयमा सो क्षेत्रमा पर्यटन विकासका कार्यक्रम चल्दै आएका छन् । सडक निर्माणले थप सहयोग पुग्ने कुमरोजका स्थानीयवासी ईश्वरी पाठक बताउनुहुन्छ ।
चितवन राष्ट्रिय निकुञ्ज नजिकैको सडक कालोपत्र भई विस्तार हुन थालेपछि ठूला लगानीका होटलका सञ्चालक आकर्षित हुन थालेका छन् ।
निकुञ्जको नजिकै रहेको मध्यवर्ती वनमा एकसिंगे गैँडा, जरायो, पाटे बाघ, चित्तल, गौरीगाई, हात्तीलगायतका वन्यजन्तु सजिलै देख्न सकिने भएकाले पनि यहाँ पर्यटकको चहलपहल बढेको छ ।
यस क्षेत्रमा कुमरोज, जनकौली, गवै, हर्नरी, जनकपुरलगायतका पर्यटकीय आकर्षणको केन्द्र रहेको छ । यही क्षेत्रमा अहिले नयाँ होटल निर्माणका लागि जग्गा खरिद कार्य धमाधम भएको स्थानीयवासी कुलप्रसाद भुसालले जानकारी दिनुभयो । अहिले सो क्षेत्रमा सौराहाबाट पर्यटकसमेत जान थालेको पर्यटन व्यवसायी शिरलाल परियार बताउनुहुन्छ ।
कृषि उत्पादन बजारमा लैजान, निकुञ्जको नजिकैबाट सवारी साधनबाटै अवलोकन गर्न, वन्यजन्तुको अवलोकन गर्न, पर्यटकीय गतिविधि विकास गर्न, व्यापार व्यवसाय गर्न सडक निर्माणले सहजता ल्याउने व्यवसायी तथा स्थानीय किसानको विश्वास छ ।
–––